हो म साँच्चै बिहे गर्दिनँ

कल्पना श्रेष्ठ 'कल्पपुञ्ज' / मङ्लबार, जेष्ठ ८, २०७५

ठूल्दाजुको छोरो, मेरो भतिजो। स्कुल नजाँदैको समय सानोमा बरु ऊ र म सँगसँगै खेल्थ्यौँ। जति ठूलो भयो, केटाहरू केटीसँग खेल्न, संगत गर्न नखोज्दा रहेछन्।

ऊ पोखराबाट घर आउँदा मलाई लाटी फुपू भनेर बोलाउँछ। म उसलाई कराउँछु अनि कापीमै लेखेर भन्छु, ‘पूजा फुपू भन्न सक्दैनस्? नभए फुपू मात्रै भन्।’ ‘यस्ता नि फुपू रे!’, ऊ मलाई उल्लीबिल्ली पार्छ। ‘धेरै बर्ता न हो है!’, म भन्छु। के म मान्छे होइन? उसलाई लाग्छ त्यस्तै सायद। ठूलोको संस्कार त होला नि उसमा पनि असर पार्ने। दाइले मलाई कहिले नबुझ्ने, कहिले ग्वाँजे भनेर कुरा गर्नुहुन्छ। यही कुरा भतिजोको दिमागमा पनि त सरेको होला।

अब त म ठूली भइसकेकी थिएँ। कतिले त मलाई सधैँका लागि नबुझ्ने, गँवारै सम्झन्छन् होला। तर, कहिलेसम्म? म बुझ्छु, साँच्चै म सबैथोक बुझ्छु। मेरो पनि हृदय छ। भावना छ। आफूलाई भएको पीडा पनि थाहा छ मलाई। अरूलाई लाग्ने चोटको पनि म महसुस गर्न सक्छु। त्यसो त दाइहरूले मलाई पाल्नुपर्छ भन्ने बोझ मनमा कति राखिराख्नुभएको होला! कहिले त लाग्छ– म केटी मान्छे भएरै त होइन यो विभेद भएको? छिमेककै भाउजूले पनि तीन वर्ष अगाडि छोरा जन्माउनुभयो। अहिलेसम्म बोली आएको छैन उसको पनि।

ऊ पनि नबोल्ने र सुन्न नसक्ने भएको डाक्टरले नै भनिसकेका छन्। ऊ नबोल्ने भए पनि छिमेकका काका, सानीआमाले उहाँलाई सान्त्वना दिनुहुन्छ, ‘छोरो भइहाल्यो, नबोले नि काम गरेर पाल्छ छोरोले। सद्धे बूढी भित्र्याइहाल्छ। यस्ताका छोराछोरी झन् चलाक भएर निस्किन्छन्। छोरी भए पो पीर गर्नु। पीर नगरे कान्छी!’ के पीर मेरो मात्रै हो त सबैलाई? छोरी हुनुको नाता। त्यसमा झन् बोल्न नसक्ने हुनु। मनमा इख लिन्थेँ– म पनि छोरा जस्तै भएर आमालाई पाल्छु बुढेसकालमा। धेरै बस्तु पाल्न छाड्यौँ हामीले। दूधका लागि एउटा तारे गाईचाहिँ पालिरहेका थियौँ।

त्यसको पनि मुखभरि दिनै पथ्र्यो। आमा घाँस काट्न जानुहुन्थ्यो, आँधीखोलापारिको फापरथुम फेदीतिर। म पनि आमासँगै जाने भनेर पछ्याउँथेँ। आमाले मलाई पनि एउटा डोको भिराइदिनुहुन्थ्यो तैपनि मलाई जंगल जान भनेपछि रमाइलो लाग्थ्यो। कहिलेकाहीँ मसँगै रीता पनि जान्थी घाँस काट्न। हामी जंगलमा उन्यूको झाङ उखेलेर थुप्रै पानीअमला जम्मा गथ्र्यौं। अनि ऐँसेलुका झाङैझाङ चहारेर पाकेका ऐँसेलु टिप्थ्यौँ। घाँस काट्न दुःखभन्दा पनि रमाइलो हुन्थ्यो हाम्रा लागि। तर, घाँस भने आधाआधी काट्थ्यौँ, आमाले नै हाम्रा डोका भरिदिनुहुन्थ्यो।

आमाले डोकोभरी घाँस बोक्नुहुन्थ्यो। हामीलाई डोकोमा निम्ठो घाँस राखेर भारी बोकाइदिनुहुन्थ्यो। हामीले बोक्ने डोका ठूलोका बराबर हुन्थे। म त्यो भारी बोकेर हिँड्दा घिच्रो बांगिन्थ्यो। थाप्लोमा नाम्लो बरियो एकातिर भएर ढाडमा डोको पनि बांगिन्थ्यो। बांगेबांगे भए पनि डोको बोकेर ल्याइपुर्‍याउँथेँ घरमा। आआफ्नो भारी थन्क्याएपछि म रीतासँग गफ गर्थें। ‘अब त हामी ठूला भयौँ। तँ पढेर के गर्ने विचार छ नि रीते?’

मैले खरीढुंगाले आँगनमा लेखेर सोधेँ। ऊ बोली, ‘म त स्कुलमा पढाउने मिस हुने हो।’ म सोच्थेँ– धेरैजसो केटीहरू मिस बन्ने सपना मात्रै किन देख्छन्? के हामीले गाउँघरमा यही मिस मात्रै जागिरे देखेका हुन्छौँ अनि उनीहरू ठूला भएका सम्झन्छौँ? गाउँघरमा नारीहरूमध्ये सम्मान पाउनेमा पर्छन्, मिस। मिसलाई सबैले नमस्कार गरेको देखेरै हो कि केटी साथीहरू सबै मिस नै हुने भन्थे।

मैलेचाहिँ मिस बन्ने सपना कहिल्यै देखिनँ। मेरो सपना त कम्प्युटर थियो। अफिसमा बसेर कम्प्युटरमा काम गरिरहेको कल्पना गर्थें म। एक दिन स्कुलकै एउटा फुच्चे भाइले रीतालाई कथाको किताब दिँदै भन्यो, ‘यो रोचक दाइले तपाईंलाई पढ्न दिनुभएको।’ रीताले त्यो चुपचाप लिई। झोलामा हाल्न लागेकी थिई, मैले खोस्दै संकेतमा भने, ‘ले न, म पढ्छु यो कथा। छुट्टी भएर घर फर्किने बेलामा तँलाई दिन्छु नि है!’ ‘नाइँ के, पहिले म पढ्छु। भोलि–पर्सि तँ पढ्लिस्’ भन्दै मेरो हातबाट कथाको किताब तानी उसले।

‘नाइँ म पढ्छु के, एकछिन भए पनि’, मैले पनि अड्डी लिएँ। हामी दुवैबीच किताब तानातान हुँदा किताबको बीचबाट एउटा सेतो कागज फुत्त भुइँमा झर्‍यो। मैले त्यो टिप्न खोजेकी थिएँ, रीताले झम्टेर टिपिहाली। ‘के हो त्यो?’, मैले हात र मुखले एकैसाथ इसारा गरेँ।

उसले ‘केही होइन’ भन्दै सुटुक्क त्यो कागज लुकाई। मैले उसको अनुहार हेरिरहेँ मात्र। ‘ल हिँड्! कलासमा जाऊँ। कथा तैँले पढेर मलाई भोलि ले। यो चिठीको बारे केही नभन् नि कसैलाई पनि’, उसले मुख रातो पार्दै भनी। म ट्वाल्ल परेँ, कसको चिठी होला? मलाई उसले नै घचेटेर कक्षाकोठाभित्र हुली। दुई–चार दिनपछि रीता एक जना पढाइ छोडेको रोचक भन्ने केटासँग हिँडेको देखेँ।

रोचक एसएलसी पनि पास नगरेको केटो थियो। पछि पो थाहा पाएँ, यिनीहरूबीच प्रेमको हिमचिम रहेछ। म नबोल्ने थाहा पाएपछि रोचकले मलाई जिस्क्याउन थालेको थियो। मलाई यी सबै कुरा मनै पर्थेन। रीतासँग हिँड्दा यो बाध्यताले सहनुपरेको थियो मलाई। कहिलेकाहीँ रोचकको साथी पनि आएको हुन्थ्यो ऊसँगै। उसलाई जिस्क्याएर भन्थ्यो, ‘नबोल्ने भएर के भो? कति राम्री छे यो मोरी! यसलाई जोडी मिलाइदिनुपर्‍यो के, ए केटा, चान्स मार त!’ मैले रीतालाई गाली गर्दै सचेत गराउन खोजेँ, ‘यो पढ्ने बेलामा यस्ता केटाहरूसँग बरालिएर नहिँड् है! फेरि त्यो रोचक त्यति राम्रो मान्छे पनि लाग्दैन।

सबै त्यसै भन्छन्। पढाइ पनि छोडिसकेको छ त्यल्ले। फेरि स्कुल आउने केटीहरूलाई पनि बाटोमा धेरैलाई जिस्क्याउँदै हिड्छ रे! त्यसको त मति राम्रो छैन है! तेरो उमेर नि कति नै भयो र, यसरी केटासँग बरालिएर हिँड्ने! खुरुक्क छोडिदे है त्यसको साथ।’

मैले यी सब कापीको पछाडिको पन्नामा लेखेरै भनेकी थिएँ। मैले लेखेको त्यो पन्ना च्यार्रर च्याती उसले। हातमा कच्याककुचुक गरेर पोको पारी र आँखा तर्दै बोली, ‘तँलाई के भो त? तँ धेरै नकरा है लाटी! तँलाई कस्ले मनपराउँछ र? मलाई मन परायो भन्दैमा तँलाई यस्तो डाह?’ ऊ त मैले सोचेभन्दा भिन्न भइसकेकी रहिछे।

मैले ओठ लेप्य्राएर उसलाई हेरेँ मात्र, थप केही गर्न सकिनँ। ऊ नै बोली, ‘फेरि कसैलाई नि नभन् है पूजे, यो कुरा।’ त्यस दिनदेखि मैले उसको बारे वास्तै गर्न छोडिदिएँ। तर, पनि स्कुल जाँदा–आउँदा त ऊसँगै हुन्थेँ। स्कुलबाट छुट्टी भएपछि बाटोमा निस्किँदा रोचक प्रायः उसलाई नै कुरेर बसेको हुन्थ्यो। रोचकलाई देख्नासाथ म बेवास्तासाथ फटाफट घरतिर लाग्थेँ।

पछिपछि म नबोल्ने थाहा पाएपछि रोचकले मलाई जिस्क्याउन थालेको थियो। मलाई यी सबै कुरा मनै पर्थेन। रीतासँग हिँड्दा यो बाध्यताले सहनुपरेको थियो मलाई। कहिलेकाहीँ रोचकको साथी पनि आएको हुन्थ्यो ऊसँगै। उसलाई जिस्क्याएर भन्थ्यो, ‘नबोल्ने भएर के भो? कति राम्री छे यो मोरी! यसलाई जोडी मिलाइदिनुपर्‍यो के, ए केटा, चान्स मार त!’

उसले यसरी आँखैअघि बोल्दा म खाउँलाझैँ गरेर उसको मुखमा हेर्थें। उनीहरूलाई बेवास्ता गरेर घरतिर लम्किन्थेँ। केही महिनापछि त उनीहरूले मलाई हेप्नै थाले। कहिले हात समाएर सँगै हिँड्न खोज्थे। कहिले घाँटीमा छुन आउँथे। पछाडिबाट अंकमाल गर्न खोज्थे।

अति भएपछि मैले सरलाई भन्दिन्छु भनेँ। रीता नै डराई र ऊ मबाट टाढा हुँदै गई। छ महिनामा त रीता रोचकसँग भागी नै हाली। गाउँभरि हल्ला फैलियो। मन धमिलो भयो, ऊ भागेको सुनेर। बादलले ढाँकेझँै विरहले मनलाई अठ्याइरह्यो। स्कुल छुट्नासाथ आँधीखोलाको किनारमा पुगेँ। हिजोसम्म आँधीखोलाको आवाज मलाई संगीतमय लाग्थ्यो, जब म रीता अनि साथीहरूसँग पौडिन्थेँ।

जताबाट हावाको वेग आउँथ्यो, उतैतिर अनुहार फर्काएर उभिन्थेँ। हावाको गहिरो स्पर्श अनुहार र कपाललाई सुसाउँदै लहरिन्थ्यो। म हात फिँजाएर उडेजस्तो गर्थें। खुब रमाइलो लाग्थ्यो त्यतिबेला। आज आँधीखोला सुसाएको आवाजले झन् मेरो मनको विरहको घनत्व बढायो। त्यहाँ चलिरहेको हावाको वेग चिसो लाग्यो। म एकछिन निस्सासिएँ।

तुरुन्तै हावाको वेग जताबाट आएको छ, त्यतैतिर आफ्नो पिठ्युँ फर्काएँ। अनुहार हावा बहेकैतिर फर्किंदा सहज भयो। रीता र म बस्ने दर्शनढुंगा परैबाट हेरिरहेँ, त्यहाँ गएर बस्न मनै लागेन। आँधीखोलाको किनारैकिनार थोरै खुट्टा डुब्ने पानीमा हिँडिरहेँ म। केही पर पुगेपछि दाहिने पाइताला एउटा लेउ लागेको ढुंगामा परेछ, झण्डै चिप्लिएर लडिनँ म। झसंग झस्किएँ। कोही थिएन मेरो साथमा। कसैले देखे के भन्लान्?

म सरासर घरतिर जाने बाटो उक्लिएँ। दुई–चार दिन त म भिम्मल भए। वरको बोटमुनि पुग्दा, बाख्रा चराउँदा, स्कुल जाँदा–आउँदा रीतालाई नै देख्थेँ। बाघचालका रेखाहरूमा रीता। घाँस काट्दा, कतै हिँड्दा जताततै रीताकै मात्र चित्र नाच्थ्यो आँखामा। उसको घर नजिकबाट हिँड्दा आँगनमा रीता छ कि भनेर मनले त्यतातिर आँखा तन्काउँथ्यो। ऊ त कहाँ भेटिन्थी र अब? रीताको नियास्रो मेट्न म शिवानीहरूकहाँ दौडिन्थेँ। रीता भागेपछि मलाई पनि बढी नै निगरानी गर्न थाल्नुभएको थियो आमाले। उहाँ सम्झाउनुहुन्थ्यो, ‘अरूले जे अरे पनि तँ रीतेजस्तो नभई है!

केटाहरूका संगतमा नलागेस्। तँ बोल्न नसक्ने भनेर अरूले ललाइफकाई अर्लान्, अलि बुझेर हिँडेस्। कतै केटाका संगत परेको सुनेचु भने मात्रै तँलाई स्कुल छुटाइदिन्चु, बुझिस् नि!’ मैले कान समाएर त्यस्तो हुन्न भन्ने संकेत गर्थें आमालाई। उमेर भरिँदै गएपछि त यौवन देखिँदै जाने हो। म पनि हर्लक्क बढेकी थिएँ। सबैले कति राम्री भएकी भन्थे। अनि कुरा गर्दै जाँदा राम्रो भएकोमा पनि अभिसाप मान्थे उनै।

कुरा काट्थे, ‘राम्री भएर के गर्नु बिचरी! बोल्न सक्दिनँ। जति राम्री उति अभिषप्त! अरूको आँखा मात्रै लोभिन्छ, मन लोभिन्न यसप्रति। रीता जस्तै भई भने? फेरि वैँसमा होस कस्को हुन्छ र?’ अर्कोले कुरा लाउँथ्यो, ‘पेट बोकेपछि पो भागेकी हो त रीता। यसलाई पनि कसैले ललाइफकाई त्यस्तै परिबन्दमा पारिदिए भने! साँचो मनले त कुनै आँखा फुटेकाले बिहे गर्दैन होला यसलाई।’

वास्तवमा म यस्ता वचन सुन्न अभिसप्तै थिएँ। आफैँसँग चित्त बुझाउँथेँ। रीताले रोचकको पेट बोकेकी रहिछे। त्यसैले छिटो भागेकी रहिछे। यो कुरा गाउँघरमा डढेलोझैँ फैलिँदै आयो। उसले सानै उमेरमा गर्भ बोकेकाले पोखरा अस्पताल नै लग्नुपरेको रहेछ। धन्नै नमरेकी बिचरी! अप्रेसन नै गरेर उमेर नपुगेको मृत बच्चा निलाल्नुपर्‍यो अरे! तल्लो पेट दुख्ने र ढाडको नसामा देखिएको समस्याले उमेरभन्दा बूढी देखिएकी छे भन्थे उसलाई भेट्ने साथीहरूले।

एउटा सानैदेखिको साथीको खराब आचरणको असर अरूलाई कति पथ्र्यो थाहा छैन तर मलाई गज्जबले पर्‍यो। नमज्जाले पर्‍यो। यी कुरा गाउँभरि सुन्दासुन्दा वाक्क भएरै होला, बुबाले पटक पटक आमासँग चर्काचर्की गरेर मेरो बिहे गरिदिनुपर्‍यो भन्नुहुन्थ्यो। आमाचाहिँ मलाई पढाएर आफ्नै खुट्टामा उभ्याउन चाहनुहुन्थ्यो। बिहे गरे दुःख पाउँछे मात्र भन्नुहुन्थ्यो। बुबा फिटिक्कै मान्नुहुन्थेन। ‘हेर लाटीलाई धेरै पुलपुल्याएर नराख। कुन दिन टाउकोमा टेकेर रीतेभन्दा गएगुज्रेको सँग लसपस हुन्छे। ओकलौँ कि निलौँ होला’, बुबा कराउनुहुन्थ्यो।

आमा चुप लाग्नुहुन्थ्यो। पछि बरु मलाई एक्लै हुँदा भन्नुहुन्थ्यो, ‘हेर पूजे, वरिपरिका छिमेकी र तेरा बा सबै तेरोबारे चिन्ता गर्चन्। कुन दिन नाक काटेर हिँड्छेस् भन्चन्। तँ मेहनत गरेर पढ् है! यताउता लप्पनछप्पन गरेर नहिँड् नि! मेरो मर्म बुझ। तँ सोझी, लाटी भनेर फसाउलान्, इज्जत नबिगार् नि! कसैको लहैलहैमा नलाग् है!’ अहो! यो रीतेले गर्दा गाउँभरिको चिन्ता मेरै शरीरमा आइपरेको थियो। हुन पनि आफ्नै मिल्ने साथी त्यसरी उमेरै नपुगी पढाइ छोडेर भागेर गई। चिन्ता लाग्दो हो मेरा आमाबाउलाई पनि।

ooo
एक दिन बुबाले चालीस–पैँतालीसको एक अधवैँसे भारतीय लाहुरेलाई घरमै निम्तो दिएर डाक्नुभएछ। उनकी पहिलो श्रीमती बितेकी रहिछन्। मेरा निम्ति वर छनोटका लागि तम्तयारी होला बाउको। उनीहरू घरमै हुँदा म स्कुलबाट टुप्लुक्क आइपुगेँ। ती अधवैँसेसँग आएका साथी प्याच्चै बोलिहाले, ‘नानी यिनै हुन्? उमेर त पुगेकै रहेछ। यसो दश–पन्ध्र वर्षको तलमाथिले केही फरक पर्दैन। उनको पनि कमजोरी छँदै छ नि। जति बूढो उति माया पाउँछिन् यी नानीले।’ आमाले बोलेको पनि सुनेँ, ‘बे अर्ने बेलै भ’को छैन छोरीको। राम्रै पढ्चे, किन हतारो गर्नुपर्‍यो भन्या?’

फेरि बाउ आमासँग कराउँदै गरेको सुनेँ। मैले उनीहरूको कुरा बुझेँ। म रिसले काठको लिस्नु ड्याङड्याङ गर्दै माथि उक्लेँ। उनीहरूको केके कुरा चल्यो कुन्नि, मैले ध्यानै दिइनँ। केही समयपछि आमा माथि आउनुभयो। मैले रिसाउँदै संकेतमा फ्याटफ्याट हातले सोधेँ, ‘को आ’का नि तिनीहरू? मलाई हेर्न ल्या’का? बुबाको यत्ति काम छ है!

यो अभागीलाई जति सक्यो छिटो कसैका चरणमा बुझाएर आफू ढुक्कसँग बस्न पाऊँ भन्ठान्नुभा’को होला। अनि तपाईं पनि उहाँहरूकै पुछार लाग्नुभो?’ आमालाई पनि बुबासँग रिस उठेको रहेछ, झर्किनुभयो, ‘तँ धेरै चिन्ता नले है! तिनीहरूले जे भने पनि मानेर बस्चु भन्ने ठानिचेस् कि क्या हो! म पनि रिसा’र आ’की हुम्, त्यत्तिकै फर्किएर गए।’ आमाले ठीकै त गर्नुभएको रहेछ।

तर पनि मेरो रिस मरेको थिएन, संकेतमै भनेँ, ‘म त गर्दिनँ बिहे, एक गर्दिनँ, दुई गर्दिनँ, तीन गर्दिनँ।’ हातका औँला एक, दुई, तीन गरेरै देखाएँ। फेरि दाहिने हात आमाको शिरमा लगेर राखेँ, अर्को हत्केलाले आफ्नै घाँटी छोएर कसम खाएँ। पुनः हस्त संकेतमै भने, ‘आमा! हो म साँच्चै बिहे गर्दिनँ। म राम्ररी पढ्छु। तपाईंलाई धोका दिन्न के आमा, तपाईंलाई पालेर बस्छु।’ मेरो वचनले आमाका आँखा रसाए। उहाँलाई च्याप्प अँगालो हालेँ। अनि थाहै नपाईकन आमाको कुममा सुक्सुकाएँ पनि। दुवै आमाछोरीको हृदय अन्योलमै धड्किरह्यो।