जाडोमा मर्निङ वाक कति सुरक्षित, फाइदा के छन्, बेफाइदा कति ?


बुधबार, पुस ४, २०७५

जाडोमा मर्निङ वाक कति सुरक्षित, फाइदा के छन्, बेफाइदा कति ?

मर्निङ वाकबारे मानिसहरुमा विभिन्न भ्रम रहेको पाइन्छ। जाडोमा मर्निङ वाक गर्नु हुँदैन भनेर धेरैले आफ्नो नियमित व्यायाम बन्द नै गर्छन् । तर, यस्तो गर्नु हुँदैन । जाडोको बेला व्यायाम जस्ता शारीरिक गतिविधि रोक्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । बरु चिसो मौसममा विशेष सावधानी अपनाउनु भने जरुरी हुन्छ ।

सही जानकारीको अभावमा जाडोमा मर्निङ वाक नगर्ने र निरन्तरता दिने व्यक्तिमा स्वास्थ्य समस्या उत्पन्न भएको छ कि छैन, शरीर र खासगरी मुटुलाई कस्तो असर गर्छ, कस्ता व्यक्तिलाई जाडोमा बढी असर गर्छ र यसबाट बच्न के गर्नुपर्छ, एउटा स्वस्थ व्यक्तिले आफ्नो दैनिकीमा परिवर्तन गर्न जरुरी छ कि छैन ? यी विभिन्न प्रश्न धेरैको दिमागमा उब्जिएको हुन सक्छ ।

जाडोका माध्यमबाट शरीरका रक्तनली र शरीरका विभिन्न मध्यम र मसिना प्रकारका रक्तनलीहरु खुम्चिने गर्छन, जसका कारणले रक्तचाप र मुटुको धड्कन बढ्ने गर्छ । यसले रगतको प्रवाहमा असामान्यता आउँछ, जसलाई टर्बुलेन्स भनिन्छ । यसले गर्दा मुटु र रक्तसञ्चार प्रणालीमा असर पारेको हुन्छ । मुटुमा अक्सिजनको कमी भएर यसले सामान्य अवस्थाभन्दा बढी काम गर्नुपर्ने हुन्छ ।

जाडोको समयमा विभिन्न किसिमका रसायन र हर्मोनको उत्पादन बढ्ने गर्छ, जसले रगत जमाउने तत्वहरुको मात्रा पनि बढाउने गर्छ । रगतको बाक्लोपना (भिस्को सिटी) पनि बढ्छ। यी सबै कुराले मुटु र मस्तिष्क रक्तनलीहरुमा रगत जमेर हृदयघात र मस्तिष्कघातको खतरा बढ्छ । तर, यी समस्या मुटु रोगको जोखिम हुनेहरुमा बढी हुन्छ । पूर्णरुपमा स्वस्थ व्यक्तिहरुमा यसको सम्भावना निकै कम हुन्छ ।

रक्तचाप र कोलस्टेरोल पूर्णरुपले नियन्त्रणमा रहेको एउटा सामान्य व्यक्तिले जाडो महिनामा आफ्नो दैनिकीमा परिर्वतन ल्याउन जरुरी हुँदैन । चिसोबाट बच्ने उपयुक्त सुरक्षा अपनाएर मर्निङ वाकमा निस्कन मिल्छ ।

मुटुरोगीहरु, हृदयघात वा ब्लकेज भएको या बाइपास अपरेसन गरेका व्यक्तिहरु, मुटुरोगका उच्च जोखिममा भएका व्यक्तिहरु, अनियन्त्रित रक्तचाप र लामो समयदेखि मधुमेह, उच्च कोल्स्टेरोल भएका व्यक्तिहरु, दीर्घरोगीहरु, दमका रोगीहरु, ६५ वर्ष माथिका व्यक्तिहरु र शारीरिक रुपले निस्क्रिय भएका व्यक्तिहरुले जाडोयाममा सुरक्षा अपनाउन जरुरी हुन्छ । यस्ता व्यक्तिलाई जाडोका कारणले मुटु र मस्तिष्कमा समस्या र जोखिम बढी हुने भएकाले सुरक्षा अपनाएर मर्निङ वाकमा निस्कन मिल्छ । तर, घाम उदाएपछि निस्कनु राम्रो हुन्छ ।

मुटुरोगी र मुटु रोगको जोखिममा रहेका व्यक्तिहरुले जाडोमा थप सावधानी अपनाउन जरुरी हुन्छ । अचानक धेरै परिश्रम हुने काम गर्नु हुँदैन। जस्तैः भारी उचाल्ने, गह्रौं वस्तु धकेल्ने गर्नु हुँदैन । लामो समयसम्म शारीरिक परिश्रम पनि गर्नु हुँदैन । परिश्रम गर्दा बीचबीचमा विश्राम पनि गर्नुपर्छ । व्यायाम सुरु गर्नुअघि वार्मअप गर्न जरुरी हुन्छ । अर्थात् शरीरलाई पहिले हल्का सक्रिय गर्न जरुरी हुन्छ । व्यायाम सुरु गर्नुअघि वा मर्निङ वाक सुरु गर्नुअघि हल्का मनतातो पानी खाएर निस्कनु उचित हुन्छ, जसले गर्दा शरीरमा डिहाइड्रेसन हुँदैन र कुनै नोक्सान गर्दैन ।

मर्निङ वाकमा निस्किँदा जाडोबाट बच्न पर्याप्त कपडा लगाउनुपर्छ र मास्कको प्रयोग पनि जरुरी हुन्छ । राम्ररी घाम लागेपछि मात्रै हिँड्ने, चिसो हुँदा घरभित्रै ट्रेड मिलमा हिँड्ने, साँझपख नहिँड्ने जस्ता कुरामा ध्यान पुर्‍याउनुपर्छ । अत्यधिक खाना र खासगरी चिल्लो खाना नखाने, मासुयुक्त खानेकुरा नखाने र मदिराको प्रयोग पनि नगर्ने वा घटाउने जस्ता सुरक्षाका साथ आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर शारीरिक गतिविधि गर्न सक्छौं ।

प्रकाशित मिति : बुधबार, पुस ४, २०७५ , १०:१९ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology