प्रदेशसभाले लय समात्न सक्दैन कि भन्ने प्रश्न अब रहेन: सभामुख

जनता टुडे / मङ्लबार, माघ २२, २०७५

बुटवल – प्रदेश नं. ५ प्रदेशसभाले काम थालेको एक वर्ष पूरा भएको छ । २०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो ।

प्रदेशसभाले सभामुखमा पूर्णबहादुर घर्तीलाई निर्वाचित गरेको थियो । एक वर्षमा प्रदेश स्थायी राजधानी र नामाकरण गर्न नसके पनि कानुन निर्माण र भौतिक संरचना विस्तारलाई व्यवस्थित बनाउने प्रयासमा प्रदेशसभा छ ।

२०७४ फागुन २ मा प्रदेश ५ को सभामुखमा निर्वाचित भएका घर्तीमगरसँग प्रदेश सभाको एक वर्षको उपलब्धि, चुनौति र अवसरलगायतका विषयमा गरिएको कुराकानीको सम्पादित अंश ।

प्रदेशसभाको १ वर्षको समीक्षा कसरी गर्नुहुन्छ ?
संघीयता कार्यान्वयनको पाटोको रुपमा प्रदेश स्थापना भयो । प्रदेश शून्य संरचनाबाट अघि बढ्दै अहिलेको अवस्थामा आइपुगेको छ । हामीहरु पहिलोपटक यसको अभ्यास गर्दैछौं । प्रदेशसभाले कसरी काम गर्ने, कसरी मर्यादित बनाउने भन्नेमा अलिक बढी जोड दिएका छौं । प्रदेशसभा सुरु हुँदै गर्दा हामीबीच केही प्रश्नहरु थिए ।

हामी धेरै संभावना र चुनौतीहरुका बीचबाट यो अवस्थामा आइपुगेका छौं । कतै प्रदेशसभा मर्यादित भएर अघि बढ्न सक्दैन कि, यसले लय समात्न सक्दैन कि भन्ने जस्ता प्रश्नहरु अहिले हामीमाझ छैनन् । हामीहरुले प्रदेशसभामा पर्याप्त कर्मचारी नहुँदा, संरचना र श्रोतसाधन नहुँदा पनि प्रदेश नं. ५ को प्रदेशसभालाई अब्बल बनाउने प्रयत्न गरेका छौं ।

प्रदेशसभालाई कसरी व्यवस्थित गर्ने, कसरी समन्वयकारी बनाउने, संसदीय समितिहरुलाई सकेसम्म सक्रिय बनाउने जस्ता काममा हामी लागिरहेका छौं । यसमा प्रदेशसभाको सिंगो टीम पर्याप्त कर्मचारी र संरचना नहुँदा पनि खटिइरहेको छ । हामी रायसल्लाहका आधारमा प्रदेशसभालाई मर्यादित, व्यवस्थित र संसदीय मूल्य मान्यताहरुलाई कायम राख्दै जवाफदेही बनाउनका लागि प्रयत्नरत नै छौं ।

तपाईँ एक वर्षको उपलब्धिबाट सन्तुष्ट हुनुहुन्छ ?
प्रदेशसभाको गतिविधिका आधारमा र हामीले गरेको कामका आधारमा भन्ने हो भने म सन्तुष्ट छु । कतिसम्मको उपलब्धिलाई सन्तुष्टि मान्ने भन्ने पनि हुन्छ ।

अर्को कुरा सामान्य कुरामै सन्तुष्ट हुँदा प्रगति रोकिन सक्छ । तर जुन खालको संरचना र साधन श्रोतको उपलब्धतामा हामीले काम ग¥यौं । काममा जति सफलता हासिल गरेका छौं । त्यसआधारमा म सन्तुष्ट छु ।

प्रदेशसभाका कतिपय बैठक १५–१७ मिनेटमै पनि सकिएका छन् । विजनेश नै नभएजस्तो पनि देखिएको छ, विजनेश पर्याप्त छैन ?
हामीसँग विजनेश नै नभएको भन्ने होइन । तेश्रो अधिवेशनमा पर्याप्त विजेनश छ । हामीले पहिलो र दोश्रो अधिवेशनमा पनि धेरै काम गरेका छौं । तेश्रो अधिवेशन विधेयक निर्माणकै रुपमा रहनेछ । तेश्रो अधिवेशनमा १४–१५ वटा विधेयक त सभामै पेश भइसके । केही सचिवालयमा दर्ता भएका छन् । अरु आउने क्रममा छन् होला ।

यसरी हामीले यो वर्षलाई कानुन निर्माणको वर्षका रुपमा लिएका छौं । प्रदेशसभा पहिलो अभ्यास भएकाले पनि अहिले हामीले धेरै कानुनहरु निर्माण गर्नुपर्ने छ । यो अधिवेशनमा हामीले धेरैभन्दा धेरै विधेयकहरु सभाबाट पास गर्नेछौं । सरकारले पनि त्यहीखालको लक्ष्य लिएको पटक पटक सभामै जानकारी भइसकेको छ ।

एक वर्षमा प्रदेशको स्थायी राजधानी र नामाकरण तय हुन सकेन, किन होला ?
प्रदेशसभाले सकेसम्म छिटो प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न चाहेको छ । तर यो प्राविधिक विषय मात्रै रहेन । सदनले समिति बनाएको छ । समितिले काम पनि गरिरहेको छ । यो प्राविधिक विषय भएको भए निर्णय भइसक्यो होला ।

तर यो राजनीतिक विषय भएकाले यसमा केही समय लागेको हो । सहमतिका आधारमा यसको निक्र्योल पनि छिटै नै हुन्छ भन्नेमा हामी आशावादी छौं ।

सभामुखको रुपमा सत्तापक्ष र प्रतिपक्षको मतभेदका बीचमा दुई पक्षलाई मिलाउन कस्तो भूमिका निर्वाह गर्नुभएको छ ?
संसदीय अभ्यासमा पक्ष र प्रतिपक्षबीच स्वभावत टकराव हुन्छ । सरकारले सदनमा ल्याएको कुरा जस्ताको तस्तै जाओस भन्ने चाहन्छ भने प्रतिपक्षले प्रतिवाद गर्छ । यो स्वभाविक प्रक्रिया पनि हो । यो समयमा सभामुखको जिम्मेवारी अनुसार पुलको अथवा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । पछिल्लो केही विषयमा सत्ता र विपक्षीबीचको खटपट मिलाउन मध्यस्तकर्ताको भूमिका निभाएर काम गरेको छु ।

बजेटको विषयमा सदन नै अवरोध भए । त्यसयता पनि सदनमा अवरोध भएका छन् । त्यसलाई मिलाएर सदन खुलाउनमा मैले नै मध्यस्थता गरे । प्रतिपक्षले अवरोधको जानकारी दिनासाथ मैले सरकारलाई समस्या समाधानका लागि पहल गर्न आग्रह गर्ने गरेको छु । यसमा म सफलै भएजस्तो लाग्छ ।

आगामी दिनमा पनि सत्तापक्ष र प्रतिपक्षको रुपमा व्यवहार नगरी सदनलाई संसदीय मर्यादाभित्र रहेरै व्यवस्थित ढंगले कामकारबाही अघि बढाउँदै लैजाने मेरो र सिंगो सदनको सोंच हो भन्ने लाग्छ ।

प्रदेशसभाका लागि पूर्वाधार अपुग छ, त्यसको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
यो अस्थायी संरचना हो । हामी निर्वाचित भएर आएपछि पहिलो शपथग्रहण नै भद्रगोल थियो । अन्य व्यवस्थापन पनि त्यस्तै भयो । निर्वाचित सांसददेखि राजनीतिक दलका नेताहरुलाई प्रदेशसभा भनेको हलमा सञ्चालन हुन्छ भन्ने बुझाई भयो । त्यसैले उद्योग वाणिज्य संघको सभाहल मात्रै व्यवस्थापन भयो ।

प्रदेशसभा भनेको सदन मात्रै होइन, यहाँ कर्मचारीहरुले नियमित काम गर्नुपर्छ । सभामुख, उपसभामुखको कार्यकक्ष, सचिवालय, विपक्षी दलको सचिवालय, विषयगत समितिको कार्यालय, संसदीय दलको कार्यालयहरु, पुस्तकालय, चमेनागृह, पत्रकारहरु बस्ने कक्ष समेत आवश्यक हुन्छ । अहिले केही व्यवस्थापन भएका छन् । तर पर्याप्त छैनन् । हामी व्यवस्थापनकै क्रममा छौं । द्रुत गतिमा काम हुँदैछ ।

प्रदेशसभाको अहिलेको मुख्य चुनौति के देख्नुभएको छ?
प्रदेशसभामा अहिले चाहिएजति कर्मचारी छैनन् । हामीसँग संसदीय समितिहरु छन् । तर ती समितिले कर्मचारी अभावमा काम थाल्नै सकेका छैनन् । कर्मचारी समायोजनपछि कर्मचारी आउनेछन् र काम तीब्र गतिमा अघि बढाउने भनेर योजना बनाइरहेका छौं ।

प्रदेशसभाले यो प्रदेशका जनतालाई कस्तो अनुभूति दिलाउन सक्छ ?
जनतालाई विश्वस्त गर्ने मुख्य काम त सरकारकै हो । प्रदेश सभाले सरकारले ल्याएका नीति नियमलाई छलफलबाट अघि बढाउने हो । सदनमा जनताको समस्याका कुराहरु छलफल गर्ने सरकारलाई सूचना पुराउने काम हो ।

विशेष समय, शून्य समयमा त्यस्ता कुराहरु सदनमा उठ्न थालेकै छन् । हाम्रो अपेक्षा पनि हो । मन्त्रीहरुले त्यसका कुरा सम्बोधन गर्ने कामहरु पनि भएका छन् ।

तपाई निर्वाचित हुँदा जनताबीच केही सपना बाड्नुभएको थियो होला ? अब ती काम र प्रदेशकै विकासका लागि तपाईँको भूमिका के हुन्छ ?
म जुन जिल्ला रुकुमपूर्वबाट राजनीतिक जीवनको सुरुवात गरे । मैले यहाँ आउने बेला एउटा बाँचा गरेको थिए । जनताले गरेको आन्दोलनबाट प्राप्त गरेको गणतन्त्र र संघीयता एउटा साझा दस्तावेज छ । यसको सही कार्यान्वयन पहिलो वाचा हो । त्यस अनुरुप अहिले तीन तहको सरकारको अभ्यास भएको छ ।

स्वभाविक रुपमा हाम्रा दुई वटा चुनौति छन् । पहिलो काुनन निर्माणको पक्ष छ । दोस्रो कुरा जनताको आवश्यकताको कुरा । हामीले धारा, बाटो, पुल बनाइदिउला भनेर चुनावमा जितेर आएका थियौं । सबै योजना एकैपटक हुन्छ भन्ने त होइन । तर केही कामहरु हुन्छन् । प्रदेश ५ को विकासका लागि पनि आधार बन्दैछन् ।

अर्काे कुरा अहिले संघीयताको जग बसाल्ने काम भएको छ । त्यसमध्ये हामी पनि एक हौ । सातै प्रदेश भनेका संघीयताका पिलर हुन । पहिलो आवश्यकता यो पिलरलाई बलियो बनाउने दायित्व छ । त्यो सबै मिलेर गर्नुपर्छ । पिलर बलियो भए मात्रै संघीयता बलियो हुन्छ ।

जनताको इच्छा, आकांक्षाहरु पुरा हुन्छन् । हामी सबै संघीयता र यो प्रदेशलाई बलियो बनाउन एकसाथ उभिनुपर्छ र म त्यसका लागि आग्रह समेत गर्दछु ।

– देशसञ्चारबाट