मेरो प्यारो अर्घाखाँची

उत्तरकुमार पराजुली / शनिबार, चैत्र २, २०७५

अर्घाखाँची, मेरो स्थायी ठेगानाको आधारशीला र मेरो नामको संरक्षक जस्तो ! परिचयको बेला टुप्लुक्क आइहाल्ने । यो शब्द कति बोलियो, कति लेखियो तर पनि अझै धेरै बोलूँ अझै धेरै लेखूँ जस्तो लागिरहने कुन्नी के मोहनी छ यो अर्घाखाँचीमा । जिल्लाका रूपमा अर्घा र खाँचीलाई जोडेर लेख्ने गरेको त २०१८ देखि मात्रै हो । तर यी दुई शब्दको मिलनको मोहनी र निर्माणको कहानी भने निकै पुरानू छ ।
अर्घाको दरबारभन्दा केही तल पाथ्रावाङको गन्धर्व बस्तीमा एउटा शिला छ । त्यो शिलामा त्यहाँका राजा प्रजा सबैले अर्घ चढाई देवीदेउताको पूजा आराधना गर्थे । नित्य अर्घ चढाउने ठाउँ भनी त्यस ठाउँको नाम अर्घा रहन गयो । यही नामबाट रजस्थल वा राजधानीको नाम रह्यो र राज्यको नामसमेत अर्घा रह्यो भन्ने एक थरीको भनाइ पाइन्छ ।
अर्काथरीको भनाइअनुसार आजभन्दा करीव तीनसय वर्ष अघि भारतको बाँसीबाट ठकुरी वंशका जिल्ला राई आई राज्य स्थापना गर्नु अघि यहाँ मगर राज्य थियो । नेपालको इतिहासमा चर्चित बाह्र मगरात भनेर चिनिने सतहूँ, गह्रौँ, रिसिङ, घिरिङ, भिरकोट, पैयूँ, गल्कोट, मुसीकोट, इश्मा, गुल्मी, अर्घा र खाँचीमध्येको एक प्रमुख राज्य अर्घा पनि थियो । त्यसैले यो अर्घा शब्द संस्कृततिरको अघ्र्यतिरबाट भन्दा मगर भाषाको अर्घसित जोडेर अर्थ गर्दा अलि सान्दर्भिक हुन सक्छ । मगर भाषामा अर्घको अर्थ हुन्छ निम्ता, बोलाहट, प्रार्थना, पुकार । पुराना जमानामा कुनै छलफल, बैठक, सरसल्लाहका लागि जम्मा हुन जनतालाई बोलाउन अग्लो डाँडाका टुप्पामा गएर निकै टाठो स्वरले जम्मा हुने कारणसमेत खुलाएर कराउने चलन थियो । यसरी बोलाउने कामलाई हाक हाल्ने भनिन्छ । यसरी कराउने वा बोलाउने व्यक्तिलाई कटुवाल भनिन्छ । अर्घाको टुप्पोको बनोट पनि यसरी नै घुमी घुमी हाक हाल्ने खालको छ । अर्घ अर्थात् बोलाउने निम्ता गर्ने डाँडो भनी यसलाई अर्घ नाम दिइए होला र पछि अर्घा भए होला भन्न सकिन्छ ।
फेरि मगर भाषामा अर्घा भनेको प्रसाद हुन्छ । सो अर्घाको टुप्पामा कुनै देवी देउताको स्थान थियो होला । र नित्य पूजा गर्ने प्रसाद बाँड्ने चलन थियो होला । त्यसैले प्रसाद पाइने, खाइने ठाउँ भनी त्यो ठाउँको नाम अर्घा रहन गएको हुन सक्छ ।
यसैगरी खाँची नाम शब्द कसरी जुरे होला ? भन्ने सन्दर्भमा पनि विभिन्न मत पाइन्छन् । कतिपयले खजाञ्ची शब्दबाट खाँची रहन गएको अडकल लगाउँछन् । खजाञ्ची भनेको अर्थ सङ्कलन तथा जोहो गर्ने व्यवस्थापन गर्ने पद हो । नेपालको अर्थतन्त्र तथा बैँकको इतिहासमा हालको गभर्नर पदलाई सुरुमा खजाञ्ची भनेको पनि पाइन्छ । भारतदेखि हिमालसम्म पुग्न ठूला ठूला खोला नदी छलिएको बाटो पर्ने यस खाँची क्षेत्र हुँदै विभिन्न व्यापारीहरू ओहोरदोहोर गर्थे होला । त्यसैले यस क्षेत्रमा कर असुल गर्ने व्यक्ति खजाञ्ची बस्ने थियो होला । खजाञ्ची बस्ने ठाउँ भन्ने गर्दागर्दै यस क्षेत्रको नाउँ खाँची रहन गयो । नरपानीको उत्तरपूर्वी गाउँलाई जगात(जकात जसको अर्थ हुन्छ कर) भनिनुले पनि यस कुरालाई प्रामाणिक बनाउन केही बल दिन्छ ।
फेरि माथिकै हिसाबले बाह्र मगरातको कुरा ल्याउँदा मगर भाषाको कुरा यहाँ पनि जोड्न सकिन्छ । मगर भाषामा खाँच भनेको खोँच, साँघुरो ठाउँ हो । अर्घा, वाङ्ला, बलकोटका सेरोफेरोमा फराकिला ठूला ठूला फाँट रहेको तर यस खाँची क्षेत्रमा त्यस्ता फराकिला फाँटको अभाव भएकाले खोँच भएको ठाउँ भनी खाँच भनिए होला पछि खाँची भनिए होला । अझ फेरि सोही भाषामा खाच भनेको तीतो हो । लेकाली वनस्पति प्रशस्त पाइने यस क्षेत्रमा सदुवा, चिराइतो, पाती, चितो(चित्रक) जस्ता तीता जडीबुटी पाइने भएकाले पनि यिनै वनस्पतिका विशेषताले खाच क्षेत्र भन्दाभन्दै खाची हुँदै खाँची नाम रहेको पनि हुन सक्छ ।

अर्घामा ठकुरी वंशको राज परम्परा जिल्ला राईले स्थापना गरेको अभिलेख पाइन्छ । यो राज्य स्थापना गर्दा चुनाबेँसीको बाँगीखोला किनारामा रहेको सत्य शिला स्थानमा महादेव तथा देवीको आराधना गरी अर्घा राज्य विजय गर्न सफल भएको बताइन्छ । राईको अर्थ राजा हो । यी दक्षिण भारततर्पmबाट आएको भनिन्छ । यिनले स्थानीय राजालाई धपाएपछि धपिएका राजा भारतको बाँसीतिर प्रवासमा रहेको भनिन्छ । त्यस बेला अर्घाखाँचीको कोही व्यक्ति ती राजासित भेट गर्न जाँदा राजाले त्यो व्यक्ति अर्घाखाँचीको हो होइन भनी प्रमाणित गर्न सधै एउटा प्रश्न गर्ने गथ्यो रे । तिमी यदि अर्घाखाँचीको हो भने त्यहाँका कम्तिमा १२÷१२ वटा पानी, बाङ, ढुङ्गा र कोट जोडिएका ठाउँका नाम भन भन्थे रे । त्यस बेलाको अर्घाखाँचीको सीमा कति थियो सो यकिन हुन नसके पनि बाह्र मगरातको हिसाबले धेरै हदसम्म यथार्थको नजिक पुग्न सकिन्छ । अहिले यी स्थाननाम कति फेरिए होलान् कति बिर्सिए होलान् । जनश्रुति परम्परामा सुन्दै आएका केही नाम यी हुन् ।
अन्तमा पानी आउने नामहरू– कुँडापानी, ओडारपानी, जुकेपानी, साउनेपानी, राजुपानी, खोल्टेपानी, नौलापानी, चिदीपानी, धरम्पानी, नरपानी, कमेरेपानी, पिरापानी, धारापानी, सिमलपानी, कयनपानी…।
अन्तमा बाङ आउने नामहरू– पाथ्राबाङ, अर्लिबाङ, थेरबाङ, फुदबाङ, उल्बाङ, दाङबाङ, झोरबाङ, ढाकाबाङ, रोल्बाङ, धातिबाङ, बलेबाङ, दुर्बाङ …।
अन्तमा ढुङ्गा आउने नामहरू– करङ्गेढुङ्गा, मुतौरेढुङ्गा, गोलढुङ्गा, कालाढुङ्गा, उधिनढुङ्गा, ठाडाढुङ्गा, दाह्रेढुङ्गा, बाढढुङ्गा, ठूलाढुङ्गा, जुर्रेढुङ्गा, मान्द्रेढुङ्गा, गलेढुङ्गा… ।
अन्तमा कोट आउने नामहरू– खाँचीकोट, मिर्लिङकोट, असुरकोट, सामकोट, पत्थरकोट, जुवाकोट, नुवाकोट, तुम्कोट, माझकोट, बरमकोट, सल्लीकोट, घोचाकोट, छत्रकोट, बल्कोट, दुम्सीकोट, बाँझकोट, अर्घाकोट, धातिबाङकोट…।
विस्थापित राजालाई आफ्नो बाह्र मगरातको झझल्को ल्याउन आगन्तुकलाई यस्ता ठाउँका १२÷१२ वटा नाम भन्न लगाए होलान् । तर मसिनो गरी खोज्दै जाने हो भने यस ढाँचाका स्थान नामहरू अझ निकै धेरै पाइन सक्छन् ।
अर्घाखाँचीमा लेक र औल्यान ठाउँको बसाइ भएकोले यहाँ थुप्रै खर्कहरू छन् । पुरानू जमानामा लेकको बसाइ स्वस्थकर मानिन्थ्यो । खर्क भनेको खेती गर्ने जग्गा भएको गाईवस्तु तथा मान्छेको अल्प बसाइ हुने ठाउँ बुझिन्छ । घरको पूरक बसाइ हो खर्क । अर्घाखाँचीका केही खर्कहरू— ठूलाखर्क, कुनाखर्न, डाँडाखर्क, भेँडीखर्क, सन्धिखर्क(साँधी खर अर्थात् धारिलो खर, सँधीखर र सन्धिखर्क), बाँझाखर्क, बाँजखर्क… ।
त्यसै गरेर मारे परसर्ग लागेका स्थाननाम पनि थुप्रै छन्– जोगीमारे, रतनमारे, कर्णमारे, मुसामारे, बाघमारे, सौतामारे … । गैरा, डाँडा, थुम, खोला, मैदान, छेँडा, नेटा, हटिया, बास, चौर, धारा, थान,….. जस्ता परसर्ग लागेका स्थाननामहरू पनि थुप्रै छन् ।
संस्कार संस्कृति कथाकथनमा अर्घाखाँची—
डोल्पा त्रिपुराकोटमा उत्पत्ति भएका छ बहिनी भगवतीहरू मध्ये ३ बहिनी त्रिपुराकोटमा बसेका हुनाले त्यस ठाउँको नाम त्रिपुराकोट रहेको बताइन्छ । बाँकी ३ बहिनीहरू मध्ये १ बहिनी अर्घाखाँची आई अर्घामा बसेकी जसलाई अर्घाकालिका भगवती भनिन्छ । अर्की बहिनी नेपालगञ्ज गई बसेकी जुन बागेश्वरी भगवतीको नामले प्रख्यात छिन् । अर्की बहिनी भक्तपुर गई बसेकी जुन नवदुर्गा भगवतीको नामले प्रख्यात छिन् । यसरी अर्घाखाँचीले निकै पुरानो जमानादेखि साँस्कृति नाता हिमाल, पहाड, तराई र उपत्यकासित गाँस्दै आएको छ ।
वडा दशैँको पूmलपाती विसर्जनमा नाचिने सराएँ नाच अर्घाखाँची क्षेत्रको मौलिक नाच हो । नौमती बाजाका तालमा ….वाखै, ….. ह….. बोलेर नचनेका हातमा रहेका खुँडा, तरवार जस्ता हतियार जुधाउँदै र फिर्पाता जुधाउँदै नाचिने नाच अहिले अर्घाखाँची, गुल्मीका साथै यी जिल्लाबाट बसाइसराइ गरी गएका ठाउँमा समेत नाचिने गरेको छ ।
विभिन्न संस्कार तथा संस्कृतिको धनी, अर्घाखाँचीमा फलामखिलीको मारुनी नाच, तुम्कोट माझकोटको फागु तथा भजन, वाङ्ला, भेmँडी, लात्तेबाँजको भैराम नाच (भैरब नाच) अर्घा, भेँडीका पञ्चै बाजा पनि प्रख्यात मानिन्छन् ।
महाभारतकालीन इतिहास बोकेको छत्रकोट महाभारत युद्धका बेला श्री कृष्णले राजा बरेबरेकसित भिक्षा मागेको शिर योद्धा भीमसेनले ल्याएर छत्रकोटमा राखेको किंवदन्ति छ । किंवदन्तिअनुसार ती राजाको शिर एक दिनको उत्तर पूर्वको हिँडाइमा त्यहीँ लगेर थान्कोमान्को लगाउनु पथ्र्यो । अनि भीमसेनले बरेबरेकको शिर बाँसको हाँगामा उनिएको शिर लिएर हस्तिनापुरबाट हिँडेर हालको छत्रकोटको दक्षिण पश्चिम घेँचमा आइपुगे । रात परेकाले त्यो बाँसको हाँगोसितको शिर एक जर्कोमा लौरो गाडे जसरी गाडी त्यही रात बिताए । सो शिर उनेको बाँसको हाँगा त अर्को दिन त त्यहीँ सरेछ र पलाएछ । छत्रकोटको दक्षिणतर्पmको गहिरामा सरेको सो बाँसको वंश अभैm रहेको भनिन्छ । यो कुरा मैले छत्रथानका पुजारी मित्रलाल भट्टराईबाट सुनेको हुँ ।
त्यसैगरी हंसपुर क्षेत्रको नरसिह स्थान सत्ययुगमा भक्त प्रह्लाद उद्धारका लागि भगवान् विष्णुले नृसिंह औतार लिएको स्थान मानिन्छ । पुराणमा चर्चा गरिने स्फटिकको खम्बाको झलक दिने नरसिंह थानको शिला निकै मनमोहक र दर्शनीय छ ।
तक्षशीला विद्यापीठमा अध्ययन गर्दा राम्ररी विद्या नखुलेर विरक्तिएर उत्तरतर्पm लागेका दाक्षी पुत्र पणिनिलाई पणेनाको शिखरमा आएर शिवको तपस्यापछि, शिव कृपाले अष्टाध्यायी रचना गर्न सकेको किम्वदन्ति छ ।
नरपानीमा रावण आई नटराज शिवको आराधना गरी खुशी पारेकाले यस ठाउँलाई नर्तनाचाल पर्वत पनि भनिन्छ । रावणले वाण हानेर पानी मूल प्रकट गरेको भेँडामारेको सो मूलबाट बढ्दै गएर बन्ने नदीलाई बाणगङ्गा नामकरण हुन गएको भन्ने किम्वदन्ति छ ।
हालको समयमा निकै प्रख्यात रहेकी सुपा देउरालीको शक्तिको बारेको पुरानू किम्बदन्ती यस्तो रहेको छ । एक जना रोजगारका लागि परदेश ज्ञाने व्यक्तिले देउरालीसित भाकल गरेछ– देवी म सजिलै रोजगारमा लागेँ भने फर्की आउँदा हजुरलाई सम्झेर दर्शन गर्नेछु र औकातअनुसारको भेटी चढाउँला । उसले परदेशमा राम्रो नोकरी पनि पायो र केही वर्षपछि धन, मालमत्तासहितको बाकस भरियासमेत भएर त्यही बाटो फर्कँदै थियो । त्यहाँ नजिकै आउँदै गर्दा उसले देउरालीसित गरेको भाकल सम्झ्यो । लोभको भाँडो उभिण्डो हुन्छ भने भैmँ उसलाई थोरै पैसा भेटी राख्न दर्शन गर्न मन लागेन । ऊ अलि दक्षिण पश्चिमतिरबाट तर्केर लेकको टुप्पातिर लाग्न खोज्यो । आपूmले मागेको कुरा पु¥याइदिँदा पनि लोभी लाहुरे आपूmदेखि तर्केर भाग्न खोजेकोले देउरालीलाई रिस उठ्यो र लाहुरे र उसको सामान पहरामा टाँसिदिइन् । जुन अहिले पनि देख्न सकिन्छ । लाहुरे टाँसिएको पहरो हेर्ने सुपादेउराली दर्शनार्थीकोे एक अर्को प्रमुख इच्छा हुने गर्छ ।
काली गण्डकी, झिम्रुक र माडी नदीका उत्पत्तिको बेलाको एक रोचक कथासित पनि अर्घाखाँची जोडिन पुगेको छ । एक दिन ती तिनै नदीले आफू उत्पत्ति हुने शिरमा बसेर सल्लाह गरे । म काली पूर्वतिरबाट तल झर्दै गर्छु, तिमी झिमु्रक माझ पश्चिमबाट तल झर्दै गर, माडी पश्चिमबाट जाऊ । तर हामी तिनै बहिनी चुत्राबेँसीमा भेट हौँला । त्यहाँ त्रिवेणी बनाएर दक्षिणतिर सँगैसँगै मिसिएर जाउँला । सबैलाई यो कुरा मन प¥यो । सबै आआफ्ना शिरबाट बग्न सुरु गरे ।
काली, झिम्रुक र माडी नदीहरूले सल्लाह गर्दा त्यहाँ एउटा चिभेचराले सुनेको थियो । त्यो चिभे निकै फटाहा थियो । उसले यी तिनै बहिनीमा फुट ल्याउने विचार ग¥यो । तिनैवटा नदी बग्ने बाटो बनाउँदै तलतिर झर्दै थिए । चिभेचरो कालीसित गएर भन्यो– ए काली, ती झिम्रुक र माडी त त्यो कालीसित मिसिए त हामी पनि काली भइन्छ । त्यो चुत्रावेँसी आए आउँछे । हामी त्यसलाई वास्ता नगरी पश्चिम लागौँ भनी पश्चिमतिर लागिसके ।
काली त्यसबेला रिडीतिर आइपुगेकी थिइन् । चिभेचराका कुरा सुनेर कालीले “लौ त उनीहरू पश्चिम लागे भने म पनि किन पछ्याएर जानु ? म पनि पूर्व लाग्छु” भनी फनक्क घुमेर पूर्व लागिन् । अनि चिभे गयो र माडी र झिम्रुकलाई भन्यो— काली त पश्चिमतिर पनि को जावस्, आउने भए पछि लागेर आउँछन् । म त पूर्वतिर जान्छु भनेर पूर्वतिर लागिन् । चिभेका यी कुरा पत्याएर माडी र झिमु्रक ऐरावतीमा मिसिएर राप्ती नामले पश्चिमतिर लागे । यसरी चिभेचराको फट्याइले अर्घाखाँचीको चुत्राबेँसीमा ठूला नदीको त्रिवेणी हुन पाएन । तर सोझो चित्तले चिताएको कुरा भएकोले भद्रीखोला, घोँचाखोला र बाँगीखोलाको त्रिवेणी भने बनेरै छाड्यो । चुत्राबेँसीको अर्को नाम त्रिवेणीपुर पनि हो । यो नाम २०१६ सालमा राजा महेन्द्रको यात्रा शिविर चुत्राबेँसीमा हुँदा त्रिवेणीपुरको नामले राजाबाट संबोधन भएको कुरा पाका पुस्ताबाट सुनिएको हो । चुत्राबेँसी बजारका कतिपय साइनबोर्ड र लिखतहरूमा त्रिवेणीपुर अझैपति भेट्न सकिन्छ ।
इतिहासमा अर्घाखाँची— गोरखाका राजा नरभूपाल शाहका चारवटी रानी थिए । ती मध्ये जेठी चन्द्रप्रभावती खाँचीकी राजकुमारी थिइन् । महिला कौशल्यावती जुन पृथ्वीनारायण शाहकी आमा हुन्, पाल्पाली राजाकी राजकुमारी थिइन् । साहिँली बुद्धिमती पर्वते राजाकी राजकुमारी थिइन् र कान्छी सुभद्रावती तनहूँका राजाकी राजकुमारी थिइन् । चन्द्रप्रभावती निःसन्तान थिइन् । तर जेठी भएकाले उनको राजदरबारमा प्रमुख भूमिका रहन्थ्यो । यो केवल जेष्ठताको वरिष्ठताले मात्रै होइन ज्ञान, बुद्धि, विवेक, अडकल, व्यावहारिकताले पनि उनको भूमिकालाई मान्य बनाएको थियो । २० वर्षको उमेरमा बुबा गुमाएर राज्यको कार्यभार सह्मालेका पृथ्वीनारायण शाहलाई राजकाजको नीति निर्देश गर्ने गरेको कुरा विभिन्न इतिहासकारले बताएका छन् । विशाल गोरखा राज्य बनाउन निर्देश गर्ने राजमाता चन्द्रप्रभावती, त्यो खाँचीको माटो, अर्घाखाँचीको गौरव ।
नेपाली साहित्य परम्परामा अर्घाखाँचीको योगदान भानुभक्त परम्पराभन्दा जेठो छ । अर्घा ओडारपानी जन्मेर मस्त जवानी उमेरमा सन्त परम्परामा लागेका शशिघर मरासिनी(१८०२–१९०४)लाई अहिले जोसमनि सन्त परम्पराका प्रवर्तकका रूपमा जान्ने गरिन्छ । पश्चिम गढवालतिर गढवाली भाषाका आदि कविसमेत भनेर चिनिने शशिधर छोटो समय पृथ्वी नारायण शाह र त्यसपछिका राजाहरू प्रतापसिंह शाह तथा रणबहादुर शाहका दरबारीया सल्लाहकारको रूपमा रहेको बताइन्छ । स्वामी शशिधरकै प्रभावले राजा रणबहादुर सन्तको रूपमा दीक्षित भएको भनिन्छ । शशिधरका यी राज सल्लाहकारी कामभन्दा भाषा सेवाको काम अझ महत्वपूर्ण रहेको छ । सन्त शाशिधरका वाणि भजन, वाणोपनिषद् जस्ता साहित्यिक रचना भानुभक्तभन्दा कैयौँ जेठा छन् । सोधखोज र प्रकाशनका अभावमा यी त्यतिकै ओझेलिएका छन् । कतिपय हस्तलिखित सामग्री दण्डपाणि मरासिनी पुत्र अनन्त मरासिनीको संरक्षणमा रहेको हुनुपर्छ । विद्वान् शशिधर राजमाता चन्द्रप्रभावतीको आग्रहले वा सम्पर्कले गोरखाली राजा पृथ्वीनारायण शाहसँग पुगेको हुन सक्ने अनुमान मात्र गर्न सकिए पनि यकिन भने गर्न सकिएको छैन ।
लेखनाथ पौडेललाई कविता सिर्जना गर्न सिकाउने पं. दधिराम मरासिनी, नेपालको सम्मानित साहित्यिक पुरस्कारको चिनिने मदन पुरस्कार पाउने मोदनाथ प्रश्रित, र रूपरेखा जस्तो साहित्यिक पत्रिका सम्पादन गरेर साहित्यको सेवा गर्ने उत्तम कुँवर जस्ता व्यक्तित्वले अर्घाखाँचीलाई साहित्यिका चेतनामा अग्रपङ्तीमा रहेको देखाएका छन् । त्यसो त शाशिधर पुत्र बाल ब्रह्मचारी लक्ष्मीनारायण मरासिनीको साधनास्थल रेसुङ्गाको हिमचिमले हुन सक्छ माझकोट किसानाका हर्कमनि भट्टराई(१९०५–१९८५) (भजन रचनामा हरिदास) र घणदास पाँडे (१९२७–२००७) का शास्त्रीय भजन रचनाले पनि अर्घाखाँचीलाई छिमेकी जिल्लाहरूमा छुट्टै पहिचानका साथ चिनाउन मद्दत गरेको छ । शास्त्रीय भजन लेखन तथा गायन परम्परा हरिदास, घणदासबाट सुरु भई हिमलाल पराजुली (१९४७–२०३९) लक्ष्मीनारायण आचार्य (१९९१– ) सम्म तन्किँदै नयाँ पुस्तामा सर्दै छ ।
बोलीको लवजमा अर्घाखाँचीको छुट्टै विशेषता छ । २०४२ सालतिरको कुरो हो, यो पङ्तीकार साथी भेट्ने क्रममा कीर्तिपुर नयाँबजार गएको बेला एक पुस्तक पसलमा साथीसित गफिएका थियौँ । त्यसै बेला एक जना परिपक्क पढेलेखेका व्यक्तिले मलाई इङ्गित गर्दै भाइको घर अर्घाखाँची हो ? भन्नुभयो । म छक्क पर्दै प्रश्नकर्ताको परिचय लिन खोजे तर उहाँले मुसुक्क मुस्कुराउँदै टार्नुभयो ।
माथिको घटनाले मलाई एक खालको कौतुहलता जागायो । अर्घाखाँचीबासीको के त्यस्तो भाषिक पहिचान छ र जहाँ गए पनि स्पष्टै चिनारी दिने ? यस प्रश्नको जवाफ खोज्ने तरिका अपनाइयो नेपाली बृहत् शब्दकोशमा आफ्ना बोलिने शब्दहरू खोज्ने गरेर । त्यो व्रmमलाई १४ वर्षसम्म जारी राख्दा एउटा मझौला पुस्तक नै तयार भयो । २०५७ सालमा नेपाली भाषिका शब्दकोशका नामले प्रकाशित सो पुस्तकमा लगभग पाँच हजार शब्दहरू रहेको छन् । ती शब्दहरू नेपाली भाषाको मानक कोशका रूपमा रहेको नेपाली बृहत् शब्दकोशमा नभएका वा भए पनि हाम्रो अर्घाखाँचीको सन्दर्भमा अर्कै अर्थ लाग्ने भनी छुट्याएर राखिएको छ । ‘हैन त’ लाई ‘हुन्तु’, ‘क्यार’े लाई ‘कर’, हँ ए लाई हए, तिर लाई हुँदी, अँको, अँट, त्याँट, ह्वार्तै….। यी हाम्रा प्यौटे शब्दहरू हुन् । र यो प्यौटे शब्द पनि हाम्रै प्यौटे शब्द हो । नेपाली बृहत् शब्दकोशमा एक खालको अर्थ र हाम्रो अर्घाखाँचीमा अर्कै अर्थ भएका थुप्रै शब्दहरूमध्ये एउटा शब्द फलालोलाई हेरौँ । नेपाली बृहत् शब्दकोशमा यसलाई यसरी अर्थ गरिएको छ— फलालो — फल (गेडा) नभरिएको, थोतो, फोस्रो(बाला, घोगा, कोसा आदि) । तर हाम्रोतिर फलालो भनेको फल पुष्ट भएको, वजनदार फल भएको भन्ने हुन्छ ।
अर्घाखाँचीमा जङगबहादुर कुँवर (राणा) जन्मसम्बन्धी किस्सा– हामी सानो हुँदा हजुरबुबाहरूले राणाहरूका कुरा निस्कँदा जङ्गबहादुर राणा अर्घाखाँचीको मथुराबेँसीमा जन्मेको भन्नुहुन्थ्यो । जङ्गबहादुरका बुबा पश्चिम नेपालतिर कतै पल्टनमा जागिरे थिए । उनी परिवारसहित काठमाडौँतिर फर्कने व्रmममा मथुराबेँसीको पाटीमा जङ्गबहादुर जन्मे । एघार दिनसम्म त्यहीँ बसेछन् । एघार दिनको दिन पाटीदेखि तल खोलाको किनारमा (अहिले लामपाटी भएका ठाँउमा) न्वारन गरेछन् । न्वारनका अर्को दिन काठमाडौँतिर लागेछन् । जङ्गबहादुर श्री ३ भए पछि आपूm जन्मेको ठाउँमा केही सम्झना राख्नुपर्छ भनी एउटा लामो पाटी बनाउन लगाए । जसको नामले अहिले मथुराबेँसी लामपाटी नामले चिनिने गर्छ । यसका साथै त्यहाँको चउरमा आँपको बगैँचा पनि लगाउन हर्काउन लगाएको भनिन्छ ।
यहाँका पाका पुरानाको अर्को भनाइअनुसार जङ्गबहादुरको बाल्यावस्था निकै दुःखद रह्यो । उनी अर्काको घरमा गोठालो बस्न पुगेका थिए । उनी एक सम्पन्न सर्केनी बजैका घर गोठालो बसेका थिए । एकदिन गोठालो गएको बेलामा उनी सुतेछन् । सुतेका बेला गाईले एक जना बाहुनबाजेको बाली खाइदिएछन् । बाजेले जङ्गबहादुरलाई गाली गर्दै गाई धपाउन आउँदा त जङ्बहादुर घाममा सुतिरहेका, चर्को धामबाट बचाउन पनिए साँप (फँणाबाल धेरै टाउका भएको सर्प) ले छायाँ परिरहेको देखेछन् । बाहुनले देख्नासाथ साँप अलप भए र जङ्गबहादुर पनि जागे । बाजेलाई यो केटोमा विष्णु अंश छ । भोलि देशको ठूलो मान्छे राजा नै बन्न सक्छ भन्ने प¥यो । अनि नरिसाइकन गोठालो भएर निदाउनु हुँदैन । हेर तिम्रा गाईले मेरो बारीको बाली कति नोक्सान पारे भनेर सम्झाइबुझाइ गरेर फर्केछन् । जङ्गबहादुर निकै दुःखी भए । तब बाजेले भने – दुःखी नहोऊ । गाईले खाएको अर्मल मैले लिन्न । भोलिदेखि राम्ररी गाई हेर्नू । अब भने जङ्गबहादुर खुसी भए । पछि जङ्गबहादुर जागिर खान काठमाडौँ गए । कालक्रमले श्री ३ भए पछि ती सर्केनी आमैलाई र ती बाहुनबाजेलाई आफ्नो दरवारमा बोलाई मनमाफिकको दौलत जग्गा विर्ता दिएका थिए । (जङ्गबहादुर गोठालो बसेको भनिने यी कथनहरू त्यति पत्यारिला किन पनि छैनन् भने जङ्गबहादुरका मावली त्यति बेला भारदारी खानदानका रहेको इतिहास स्पष्ट छ ।)
वास्तुकलामा अर्घाखाँची— अर्घा दरबार र भगवति मन्दिर, खाँची दरबार र भगवती मन्दिर, छत्रथान भनेर चिनिने छत्रकोट मन्दिर, विभिन्न हटियाहरूमा रहेका भीमसेनथान, शिवालयहरूको बनोट ढाँचा कलाकौशल अर्घाखाँचीका वास्तुकलाका पहिचान हुन् । यौन चित्रहरू कुदिएको बल्कोटको पौवा काष्ठ कलाको बेजोड नमूना छ । यो पौवा निर्माण सकिए पछि अन्य ठाउँमा यस्तै पौवा नबनोस् भनी ती चित्र कोर्ने मूख्य कर्मीको हात काटिएको थियो भन्ने अर्को भनौरी सुन्थ्यौँ । तर यो पनि खासै प्रमाणिक नभएर महाभारतमा अर्जुनलाई अद्वितीय धनुर्धर सावित गर्न द्रोणाचार्यले एकलव्यको बूढीऔँलाको गुरु दक्षिण मागेको कुरालाई प्रतिविम्वित गरेको हुनसक्छ । (सुन्दैमा सपना जस्ता लाग्ने यी भनाइ लेख्नु अघि जीवलाल पराजुली (१९९१) र लक्ष्मीनारायण आचार्य (१९९१) लाई सान्दर्भिक सोधपुछ गरिएको थियो ।)
वास्तु कलाका सौखिन पिताम्बर बसेल (१९७२–२०२०) ले २०१० को दशकमा तुम्कोट गाउँमा टायलको छानो र छानामा कौशी भएको घर बनाएको र स्थानीय फटाहाहरूले राणाजीको जस्तो घर बनायो भनी दण्ड तिराई कौशी भत्काउन लगाएको घटना भने सुन्दा दन्त्यकथा जस्तो लागे पनि यसका देख्ने भोग्ने साक्षी तुम्कोटमा थुप्रै छन् ।
अर्घाखाँचीको आँपको बगैँचा लगाउने संस्कृति देशकै उदाहरणीय हुन सक्छ । गर्मी हावापानी, ठाउँठाउँमा फराकिला ठूला चौर हुनुले पनि यो संस्कृति मौलाउन सहयोग गरेको हुन सक्छ । सबैभन्दा पुरानो बगैँचा तुम्कोटको रनुवा नजिकको राजाका पोख्रा खोँचमा थियो । तर त्यो बगैँचा सार्वजनिक जग्गा स्कूललाई रकम जम्मा गर्ने नाममा बेचेर निजीकरण हुँदा काटी मासिए । त्यसैबेला (ती आँपको बगँैचा लगाउने बेला) लगाएको मानिने २÷३ वटा सिमलका रूख भने अझै पनि छन् । अर्घाखाँचीमा विभिन्न ठाउँका नाम अमराई हुनुले पनि त्यस ठाउँमा आँपको बगैँचा भएको प्रमाण दिन्छ । स्थानीय प्रकृति प्रेमीको पहलमा बगैँचा लगाउने हुर्काउने गरेका थुप्रै प्रमाण अहिले पनि देख्न सुन्न पाइन्छ । तुम्कोटमा स्थानीयको व्यक्तिगत पहलमा हुर्काएका कम्तीमा पाँचवटा आँपका बगैँचा छन् ।
अर्घाखाँची खनियाबास(खन्नेबास)का त्यस बेलाका नामूद व्यापारी मोतीकुमार श्रेष्ठ( १९४४— ?) ले पाल्पाको खस्यौलीदेखि प्यूठानको बिजुवार सम्मको हुलाकी बाटोको छेउँछाउँमा र बाटोमा परेका फराकिला चौरमा आँपको बगैँचा र बाटो किनारमा वर, पीपल, स्वामी (समी) रोप्ने तथा हुर्काउने अभियान नै चलाएका थिए । उनले ती बिरुवाको रेखदेख गरी हुर्काउने जिम्मा लिनेलाई प्रति बिरुवा वार्षिक एक मोहर (पचास पैसा) वा एउटा घरबुनाको भोटो पारिश्रमिक दिने गर्थे भन्ने कुरा हजुरबुबाहरूबाट सुनिएको हो ।
बाटो किनारामा वर, पीपल, स्वामी, आँप डुम्री… जस्ता शीतल तथा फल दिने बिरुवा रोप्ने, पानीका लागि पोखरी बनाउने, ती बिरुवाहरूका कम्तीमा हजार पात हुने अवस्था भएपछि विवाह गर्ने, १०८ वटा गाईलाई नुन खुवाउने संस्कृति हुर्काए बढाएको अर्घाखाँची अहिले पोखरी पुर्ने र वर, पीपल, स्वामी, आँपका दाउराले ईँटा पोल्ने कुसंस्कारले ग्रस्त छ । गाउँगाउँमा मोटरबाटो लैजाने निहुँमा ती पूर्वजहरूका ज्यूँदा इतिहास डोजरका निशाना बनिरहेका छन् । यसमा कसैलाई चासो छैन । चासो राख्नेले पनि के गरून् बिरुवा जोगाउँ भन्दा विकास विरोधीमा नाम दरिने डर । वरपीपलका रूखमुनि घर बनाउने र घरलाई रूखका हाँगा भाँचिएर नोक्सान पु¥याउने डर भयो भनी बिरुवा मास्ने अर्को दुष्ट काइदा हुर्कँदै गएको छ ।
फाट्टफुट्ट बाटो किनारामा बिरुवा लगाउन कुनै सरकारी विधिविधान पु¥याउन नपरे पनि ठूलाठूला चउरमा बगैँचा लगाई हुर्काउनका लागि भने स्थानीय तालुकदारसित सरकारी स्वीकृति लिनुपथ्र्यो । लोकोपकार र पुण्य आर्जनका लागि यति चार किल्ला जग्गामा अनुमानित यस्ता यस्ता यति जति बिरुवा लगाई हुर्काई पुनः सार्वजनिक गर्नेछु । रोप्न हुर्काउनका लागि गौचरन बन्देज गर्नु परेकोले गाईको गास हरणको प्रतिवाय नलागोस् भनी स्थानीय तालुकदारसित तिरोे (भूमिकर) तिर्ने निवेदन दिनुपथ्र्यो । स्थानीय तालुकदारले तिरो तोकी तिरो बुझेपछि बिरुवा रोप्नेले सो तोकिएको जग्गामा आफ्नो निजी जग्गा सरह बारबन्देज गरी बिरुवा रोप्ने हुर्काउने गर्थे । ती बिरुवा गाई बाख्राले खान, नास्न नसक्ने भएपछि हुर्केका बगैँचाको प्रतिष्ठा गरी आपूmसक्दो दान दक्षिणा, गाईलाई नुन हाल्ने गरी सो जग्गा पुनः सार्वजनिक भएको घोषणा गरिन्थ्यो । स्थानीय तालुकदारबाट लगाइएको तिरो खारेज हुन्थ्यो ।
यी त भए पुराना जमानामा बिरुवा लगाउने हुर्काउनेसम्बन्धी कुरा । अर्घाखाँचीले कति बनस्पति प्रेमी संस्कार बोकेर आएको छ भने कुरा यहाँका विभिन्न स्थाननामले पनि स्पष्ट पार्छन् । सबै नाम उल्लेख गर्न साध्य नभए पनि केही नाम यी हुन्— किमडाँडा (किम्मु), अर्जुन (खरीकोबोट), पीपलनेटा (पीपल), कयनपानी (कयनको रूख) अमराइ (आँपको बगैँचा), सालडाँडा (साल), काहुले (काहुलो) ज्यामिरथुम (ज्यामिर), अमिले (अमिलो, निबुवा), साखिनधारा (साखिनो), खरीखोला (खरी), वेलटारी (वेल) बंसारी (बाँसघारी), खनियाबास (खन्यु), बाँसडाँडा (बाँस), भर्लाबास (भर्लो) असुरकोट (अँसुरो) लात्तेबाँज (बाँज), आमबोट (आँप), आमपोख्रा (आँप) सल्लीकोट (सल्लो), मसुरेपाटा (मसुरेकटुस), बाजखर्क (बाँज), सल्यानडाँडा (सल्लो), निगाली (निगालो), सँदिखर (धारिलो खर), भलायडाँडा (भलायो), मेहालपोख्री (मेहाल), मेहालपानी (मेहाल), काभ्राबोट (काभ्रो), राजुपानी (राजु) आँपखोला (आँप), जलुके (जलुका), गहते (गहत), फाप्रे (फापर), काभ्रे (काभ्रो), स्यूँडेनी (स्यूँडी), ठूटेपीपल (पीपल), कल्लाबोट (केरा), लाँकुरटारी (लाँकुरी), सिमलपानी (सिमल), बडहरपानी (बडहर), पैयूँपाटा (पैयूँ), सिस्नेखोला (सिस्नो) … । अर्घाखाँची भेलामा यस्ता सन्दर्भ निकाल्ने हो भने अझ धेरै यस्ता नाम फेला पार्न सकिन्छ ।
पालीका बारी, बलेबाङका हाँडी, बाङ्लाको बाटो…जस्ता कुराले स्थानीयस्तरमा आफ्नो पहिचान स्थापित गरेको छ । अर्घाखाँचीले पञ्चायत कालमा मान्छे बिग्रे राँची, कर्मचारी विग्रे अर्घाखाँची उखान नै रच्ने वातावरण सिर्जना गरिदियो । त्यसैगरी स्थानीय रूपमा अन्याय विरुद्ध बोल्ने वाङ्लाकी मनकला भुसाल र पोखेडाँडाकी रुन्सी पराजुली महिला आवाज थिए भने पार्टी प्रमुख भई पहिलो महिला नेतृको रूपमा नाम दर्ता गर्ने अवसर पनि किम्डाँडाकी पम्फा भुसालको नामले अर्घाखाँचीलाई नै जुरेको छ । यस्तै थुप्रै खुसीका कुराको मूल फुट्छ अर्घाखाँचीलाई सम्झँदा । यी कुरा यो लेखमा उल्लेख गर्न सान्दर्भिक थिए थिएनन् ? अर्घाखाँची कीर्तन गर्दा आइहाले माटोको मायाले ।
र अन्त्यमा, कृष्ण चरित्रको एक सन्दर्भ— श्रीकृष्णको बुढेसकाल लाग्दो अवस्था थियो । द्वारकालाई राजधानी बनाई बसेका श्रीकृष्णलाई लामो समयदेखि गोकुल जुरेको थिएन । औपचारिक काम, औपचारिक बोलीचाली, कौवाको मितेरी ठोँडैठोँड(ठुँडैठुँड) जस्तो औपचारि जीवन पद्धतिले वाक्क दिक्क बनेका थिए श्रीकृष्ण । मनमा जे भए पनि ङिच्च दाँत देखाएर मुखमा जीहजुरीले हृदयको कोमलपन जर्जर भएको थियो । यो जर्जरता हटाउन कृष्णलाई गोकुल जान निकै मन लागेको थियो । औपचारिकताका झन्झटले गोकुल गएर पनि बाल्यावस्थाको आनन्द लिन नपाइने अवस्था टड्कारै थियो । तब कृष्णले एउटा भाँउतो रचे । उनले टाउको दुखेको नाटक गरे । ऐया ऐया भनेर कोकोहोलो हाले । दरबारका सबै आत्तिए । राजबैद्यले औषधी साँधे । तर कुनै औषधीले छोएन ।
सबै के गर्ने के नगर्ने अवस्थामा पुगेको बेला श्रीकृष्ण आफैले औषधीको बारेमा भने— म सानो हुँदा पनि कहिलेकाहीँ यसैगरी टाउको दुखेर फत्र्या फत्र्या पाथ्र्यो । अनि आमाले “हाम्रो कृष्णलाई टाउकोमा लगाउन पैतालाको धूलो ल्याऊ” भन्दै कम्तीमा सात जनाको पैतालाको धूलो ल्याउनुहुन्थ्यो । त्यो धूलो लगाएपछि मेरो टाउको दुख्न छाड्थ्यो । धूलो माग्दा मलाई चिन्ने गरी भनेर मात्रै ल्याउनुपर्छ नत्र धूलोले औषधीको काम गर्दैन ।
यो सुनेपछि कृष्णको टाउको दुखाइको औषधीका लागि पैतालाका धूलो बटुल्न चारै दिशामा मान्छे खटिए । कृष्णका टाउकामा लगाउने भनेपति द्वारकावासी कसैले पनि पैतालाको धूलो दिन मानेनन् पापका डरले । यसैगरी पैतालाको धूलो खोज्ने क्रममा केही जना गोकुल पुगे कृष्णको बाल्यावस्था बितेको ठाउँ । त्यहाँ गोप गोपिनीहरूले कृष्णको सञ्चो विसञ्चोको बारेमा सोधे । ती द्वारकाबाट गएकाहरूले इदमिथ्थ कुरा बताए ।
द्वारकाबाट आएका व्यक्तिहरूका कुरा सुनेपछि सबै गोप गोपिनी बूढाबूढीहरूले “त्यो कह्नैयालाई सञ्चो हुन्छ भने हामी नौमुरी पैतालाको धूलो जुटाउन तयार छौँ” भन्दै कुनै सङ्कोचबिना पैतालाको धूलो दिए । ती सबैको पैतालाको धूलो लिएर ती द्वारकाबाट गएका व्यक्ति हतारहतार द्वारका फर्के ।
कृष्णले सबैको कुरा सुने । “त्यो कह्नैयालाई सञ्चो हुन्छ भने हामी नौमुरी पैतालाको धूलो जुटाउन तयार छौँ” भन्ने वाक्यले श्रीकृष्णको हृदयतलमा छोयो । श्रीकृष्णले आफ्नो गोकुल सम्झे । आफ्नो बाल्यकाल सम्झे । त्यो धूलो लिँदा साथीहरूसित धूलोमा लडिबुडी गरेको याद आयो । खुसीले गदगद हुँदै ललाट(निधार)मा धूलो लगाउँदै बर्र आँसु खसाले कृष्णले । यी आँसुले कृष्णको हृदयको जर्जरता पखाल्यो । कृष्णको टाउको दुखेको नाटक पनि समाप्त भयो ।
जागिरे जीवनमा पनि औपचारिक जीवनको कहर कटाइ उमर्खौलो हुन्छ । हिँजोसम्म मजाको अन्तरङ्गको साथीको जब एक दुई पिँढी बढुवा हुन्छ उसले औपचारिकता खोज्न थाल्छ । यही औपचारिकताको नाटक मञ्चन गर्दागर्दै विस्तारै दूरी बढ्दै जान्छ । यसैगरी दुवैतिर जर्जरता बढ्दै जान्छ । तर गाउँमा, गाउँका आफन्तमा त्यस्तो औपचारिकताको नाटक हुँदैन । त्यहाँ अनौपचारिकताको खानी हुन्छ । मसँग हित्तचित्त मिलेर अनौपचारिक हिसाबले कुराकानी गर्ने थुप्रै मान्यजन, साथीसँगाती अर्घाखाँचीमा छन्, अर्घाखाँचीका छन् । मलाई तँ भनेर मायाले बोलाउने व्यक्ति अर्घाखाँचीमा छन् । त्यसैले त म अर्घाखाँचीको नाम सङ्कीर्तनमा रमाउन सक्छु । किनकि यसले औपचारिक जीवनले ल्याएको हृदयको जीर्णता, जर्जतालाई पखाल्ने गर्छ, पन्छाउने गर्छ र कोमलता भर्ने गर्छ ।