फेसबुकमा भाईरल तस्वीरको वास्तविकता !

जनता टुडे / बिहिबार, साउन १६, २०७६

बुटवल-फेसबुक र ट्विटरमा बुधबार र बिहीबार एउटा तस्वीर आयो । महिला उद्यमी मेला लेखिएको ब्यानरमा पुरुषहरु भरिएको । भाईरल भएको तस्वीरमा मञ्चमा महिलाहरु देखिन्नन् । नाम महिला उद्यमीको, मञ्चमा कब्जा पुरुषहरुको ।

महिलाबिनाको मञ्च बहिस्कार गर्ने अभियान चल्दै गरेको समयमा यो तस्वीर महिला अधिकारका पक्षमा वकालत गर्नेका लागि त हटकेक भयो नै । सामान्य नागरिकलाई पनि अनौठो लाग्ने यो तस्वीर विकसित भइरहेको शहर पोखराको थियो ।

पोखरा उद्योग वाणिज्य संघले साउन १० मा आयोजना गरेको कार्यक‍्रम ।

यसरी उद्योग वाणिज्य संघले मेला आयोजना गरेको पनि धेरै वर्ष भइसकेको रहेछ । गुगलमा यसबारेका जानकारी खोज्दै गर्दा मेलाका थुप्रै समाचार र तस्वीरहरु भेटिन्छन् । यसअघिका मेलामा त्यसरी लज्जास्पद तरिकाले मञ्चमा महिलाहरुको उपस्थिति शुन्य देखिदैन ।

तर यस वर्षको महिला उद्यमी मेला भने अनौठो भएछ मञ्चमै महिलाको सहभागिता शुन्य !

मञ्चमा नभएपनि सभाहलमा भने महिला खचाखच नै रहेछन् ।

हेर्नुस् यो समाचार र तस्वीर
पोखरा उद्योग वाणिज्य संघद्धारा गण्डकी स्तरीय महिला भेलाको आयोजना

तस्वीरहरु साभार : समाचारपाटीडटकम

त्यसपछिको अर्को तस्वीर पनि गुगलमा भेटिन्छ । जसमा महिलाहरु मञ्चमै गएर तस्वीर खिचाएका छन् । यो तस्वीरमा पुरुष एकजना पनि देखिन्नन् । महिलाहरु नै छन् । यो तस्वीर कार्यक्रम सकिएपछिको रहेछ ।

कार्यक्रम चलिरहँदा किन महिलाहरुलाई मञ्च दिइएन ? यो प्रश्न सबैको हो ।

यस्तो कसरी भयो ?

कार्यक्रम महिलाहरुले नै चलाउने भन्ने गरी छलफल पनि भएको रहेछ । तर महिलाहरुले ठीकै छ कसले चलाउने भन्ने भन्दा पनि कार्यक्रम गर्ने मुख्य कुरा हो भनेपछि कार्यक्रम औपचारिक ढंगले अघि बढ्यो ।

मञ्चमा एकजना महिला थिइन् । उपाध्यक्ष बिन्दु कोइराला सुवेदी । सञ्जालमा भाईरल भएको तस्वीरमा भने उनको तस्वीर देखिन्न । उनी भएतर्फको तस्वीर फोटोसपबाट हटाइएको छ ।

‘मञ्चमा महिला मात्रै हैन कि कार्यक्रम नै महिलाहरुले चलाउनुपर्छ भनेर मैले शुरुमै पनि भनेको थिएँ, उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार वासुदेव मिश्र भन्छन्-त्यसरी नै गर्नुपर्ने थियो, तर भन्दा भन्दै त्यसरी कार्यक्रम भएन, नभएपछि विरोध त भइहाल्छ नि ।’