बुटवल । नगरभरि छरिएर रहेका ढुवानी तथा यातायात व्यवसायलाई एउटै जग्गामा व्यवस्थापन गर्ने गरी बुटवलमा छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’ बनाउन सुरू गरिएको छ।
बुटवल उपमहानगरपालिका– १२ भैरहवा टोलमा रहेको सार्वजनिक जग्गालाई संरक्षण गर्दै ट्रान्सपोर्ट भिलेज बनाउने काम अघि बढाइएको छ। भैरहवा टोलमा पवित्र युवा क्लबले डेढ दशकदेखि संरक्षण गर्दै आएको ५४ बिगाह जग्गा सुकुम्बासीका नाममा अतिक्रमण हुँदै आएपछि अहिले उपमहानगरपालिकाले संरक्षण सुरू गरेको छ।
संरक्षितमध्येको साढे तीन बिगाह क्षेत्रफलमा ट्रान्सपोर्ट भिलेज बनाइने उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए। खेल मैदानसहित तारबार गरेर संरक्षण गरेको जग्गासहित सार्वजनिक स्वामित्वको खाली जग्गामा व्यवस्थित संरचना बनाउन लागिएको हो। सार्वजनिक जग्गामा अहिले २५ परिवारले घर बनाएर अतिक्रमण गरेका छन् भने केहीले आफन्तका नाममा घर घडेरीको कारोबार गरिरहेका छन्।
स्थानीय अगुवा गुरुप्रसाद शर्माले भने, ‘अतिक्रमण गर्ने प्रवृत्ति रोक्न जरुरी छ, जनप्रतिनिधिले राम्रो कामको थालनी गर्दा खुशी लागेको छ।’
अतिक्रमित जग्गा नापजाँचपछि सार्वजनिक जग्गा प्रमाणित भएमा अतिक्रमणकारीलाई कानूनअनुसार हटाइने र त्यहाँ ट्रान्सपोर्ट भिलेज बनाउने योजना रहेको उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताईन्।
पहिलो चरणमा आठ बिगाह १० कट्ठा जग्गा नापजाँच गरिएको छ। कुनै पनि व्यक्तिको सम्पत्तिमाथि नगरपालिकाले दाबी नगर्ने र स्थानीयवासीको सहमति र सहकार्यमै सार्वजनिक जग्गाको संरक्षण गरिने उनको भनाइ छ।
अर्का अगुवा खगुलाल गिरी सार्वजनिक जग्गाको संरक्षणमा समुदायले पनि चासो दिन जरुरी रहेको बताउँछन्। यसका लागि संरक्षण अभियान सञ्चालन गर्नु जरुरी छ। उपमहानगरपालिकाले तीन बिगाह १० कट्ठा क्षेत्रफलमा ट्रकलगायतका ढुवानीका सवारी साधन पार्किङ गर्ने गरी ट्रान्सपोर्ट भिलेज बनाउन थालेको हो।
ट्रान्सपोर्ट भिलेज नहुँदा बुटवल बजारमा सामान ढुवानी गर्न आवतजावत गर्ने ट्रकलगायतका साधनले ट्राफिक जाम र बजारलाई नै अस्तव्यस्त बनाउने गरेका छन्।
प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्