हावाले भत्कायो ६० लाखको संरचना

हावाले भत्कायो ६० लाखको संरचना

बुटवल : लुम्बिनी विकास गुरुयोजनाको पूर्वाधार निर्माणमा अनियमितता भएको भेटिएको छ । गुरुयोजनाअन्तर्गत बनेको कोषको सूचना केन्द्रको भवन सामान्य हावाहुरीले भत्काएपछि गुणस्तरहीन काम भएको रहस्य खुलेको हो । आइतबार राति आएको हावाले कोषको सूचना केन्द्र रहेको भवन क्षतविक्षत पारेको छ । बसपार्कको छेउमा बनेका टिनका छाप्रा नउडाउने हावाले कार्यालयको संरचना पूरै भत्काएपछि गुणस्तरहीन काम भएको देखिएको हो ।

डेढ वर्षअघि मात्रै ६० लाख लागतमा सूचना केन्द्रको भवनमा ‘आल्मुनियम पार्टिएसन’ गरिएको थियो । फिलिपिन्सको कम्पनीले डिजाइन गरेको अफिस संरचना निर्माण नेपालकै ठेकेदार कम्पनी प्रेरेरा निर्माण सेवाले गरेको थियो ।

आइतबार राति सो भवनको अधिकांश संरचना भत्काएको छ । सूचना केन्द्रका प्रमुख हरिध्वज राईले करिब ३५ लाख क्षति भएको बताए । ‘ढेड वर्षअघि बनेको भवनको संरचना भत्किनुमा कमजोरी छ’, उनले भने, ‘निर्माण कम्पनीले यसको जिम्मा लिनुपर्छ ।’

फिलिपिन्सको कम्पनीले डिजाइन गरेको संरचनाको ठेकेदारले निर्माण गर्दा त्यसको सुपरिवेक्षण लुम्बिनी विकास कोषका इन्जिनियरले गरेका हुन् । भवनको लागत करिब ७ करोड छ । सोही भवनको दुई तलामा आल्मुनियम र सिसाबाट अफिस निर्माण गरिएको थियो । हावाले माथिल्लो तलाको सम्पूर्ण संरचना भत्काएको छ भने तल्लो तलाका केही सिसा फुटेका छन् । अफिस भत्किएपछि कार्यालयको कार्यसम्पादनमा असर पुगेको छ । विदेशी नागरिक लुम्बिनी प्रवेश गर्दा यही स्थानमा टिकट काट्ने गर्छन् ।

भवनमा सिसा खसेर मानवीय क्षति हुन सक्ने भन्दै अहिले निषेधित क्षेत्र बनाइएको छ । ‘भवन बनाउने क्रममा चरम लापर्वाही गरिएको छ’, बसपार्क छेउका एक व्यवसायीले भने, ‘यो भत्किएर मात्रै बाहिर देखिएको हो । सिमेन्टको काम पनि निकै कमसल हुन सक्छ ।’ लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले डिजानइनमै त्रुटि भएको भन्दै यसमा कुनै अनियमितता नभएको दाबी गरे । ‘फिलिपिन्सको कम्पनीलाई लुम्बिनीमा हावाहुरी आउँछ भन्ने हेक्का भएन । जस्तो डिजाइन थियो, ठेकेदारले त्यस्तै बनायो’, उनले भने, ‘यसमा ठेकेदार, निरीक्षण इन्जिनियरले कमजोरी गरेका छैनन् ।’

सूचना केन्द्र नजिकै रहेको प्रशासनिक भवन र संग्रहालय उही डिजाइनमा बनेका संरचना हुन् । जहाँ फलामबाट डिपेलिंगको काम भएकाले ती भवनमा कुनै क्षति भएको छैन । भट्टराईले प्रशासनिक भवन निर्माणमा सुधार गरेकाले क्षति नभएको बताए । भत्किएको संरचना निर्माण गर्न करिब ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विकास कोषको संरचना निर्माणमा अनियमितता भएको घटना सार्वजनिक भएको यो पहिलो पटक भने होइन । गुरुयोजनाविपरीत संरचना निर्माण गरिरहेको कोषले गुणस्तरहीन काम गरिरहेको गुनासो बारम्बार हुने गरेको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij