काठमाडौं- गुणस्तरहीन र ढिलो काम गरेको आरोप खेपिरहेको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई सार्वजनिक ठेक्कापट्टामा रोक लगाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद (ठेक्कापट्टा) मा रोक लगाएको हो।
सरकारले भारतीय कम्पनी कोस्टाललाई पनि यस्तो रोक लगाएको छ । यी दुवै कम्पनीले यो प्रतिबन्ध फुकुवा नहुन्जेल सार्वजनिक खरिद प्रक्रिया (ठेक्कापट्टा) मा भाग लिन पाउने छैनन्।
बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजना अन्तर्गतको डुडुवा शाखा नहरको काम सम्झौता अवधिमा सम्पन्न गर्न नसकेपछि यी कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय केही दिनअघि उक्त आयोजनाले गरेको थियो । उक्त नहर निर्माणका लागि स्वदेशी कम्पनी पप्पु कन्सट्रक्सन र भारतीय कम्पनी कोस्टालले मिलेर (ज्वाइन्ट भेन्चर) ठेक्का लिएका थिए ।
काम नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने आयोजना निर्णय सार्वजनिक खरिद अनुगमन कार्यालयले सदर गरेपछि लागू हुन्छ ।
सार्वजनिक खरिद अनुमगन कार्यालयले जारी गरेको सूचनामा पप्पु–कोस्टाल जेभीलाई ‘तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी भई देश विकासमा बाधा अवरोध सिर्जना हुने र त्यसबाट सर्वसाधारण जनताको जीवनस्तरमा समेत नराम्रो असर पर्नसक्ने’ उल्लेख छ ।
उनीहरुलाई सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ उपनियम २ बमोजिम अन्य खरिदमा रोक लगाइएको हो ।
प्रकाशित मिति : बुधबार, मंसिर ५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्