दाङ – जन्ती बोकेको जिपका चालक निदाउदा दुर्घटना भएको प्रहरीले निश्कर्ष निकालेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतमको नेतृत्वमा घटनास्थल पुगेको प्रहरीको टोलीले जन्ती बोकेको स्कारपियो जिपका चालक निदाउँदा बससँग ठोक्किन पुगेको निश्कर्ष निकालेको हो ।
‘चालक तीन दिनदेखि निदाएका रहेनछन् थाकेका कारण निदाउन पुग्दा बससँग ठोक्किएको अनुमान हामीले गरेका छौँ’ उनले भने–‘आफ्नो लेन छाडेर अरुको लेनमा पुगेर स्कारपियो ठोक्किको देखिन्छ’ ।
‘सिसहनियामा राती खाना खायौँ। खाना खाने बेलामा दुलाहाको बुवाले भित्राउने तयारी गर्न अलि छिटो पुग्नुपर्ने भन्नुभयो । त्यही अनुसार दुलहीसँगै बस्नुभएकी बेहुलाकी आमालाई पनि स्कारपियोमा बसायौँ’-दुलाहाको आफन्त जीतबहादुर खत्रीले भने–‘खाना खाएर आराम गर्ने र बिहान मात्रै जाने भनेर हामी सिसहनियानै रोकिएका थियौं । गाडी दुर्घटनामा परेको खबर आयो । नसोचेको दुर्घटना भयो ।’
लमही नगरपालिका वडा नं. ९ रिहार नजिक बससँग ठोक्किएपछि ६ जनाको मृत्यु भएको छ । बेहुली लिएर फर्कदै गर्दा बेहुलाका बुवा, आमा र आफन्तले ज्यान गुमाएका छन् ।
चितवन गीतानगरबाट बाँकेको शमसेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीय आमा विमला खत्री, ४९ वर्षीय बिश्वनाथ अधिकारी, दुलाहाको दाईको छोरा पाँच वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।
दुर्घटनामा दुलाहाका फुपु ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । चालकको अवस्था गम्भीर रहेको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर २७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्