विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप एक नेपालीको मृत्यु भएको छ । यो साता अमेरिकामा थप एकजनाको मृत्यु भएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या दुई सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले बताए । स्वास्थ्य समितिका अनुसार यो साता यूके, स्पेन र भारतलगायतका देशमा कोरोना संक्रमणदर सामान्यरुपमा वृद्धि भएको छ भने ब्राजिल र युगाण्डामा पनि नयाँ संक्रमण देखा परेको छ । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसका कारण हालसम्म अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।
यस्तै नेपालमा मात्र ६२ हजार ७ सय ९७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये ४५ हजार दुई सय ६७ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७२ दशमलव ०८ प्रतिशत हो । हालसम्म नेपालमा चार सय एकजनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । कोरोना संक्रमणका कारण नेपालसहित विश्वभर जम्मा छ सय ४५ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।
यस्तै विश्वभर एक लाख आठ सय ३१ जनामा नेपालीमा संक्रमण देखिएको छ भने तीमध्ये ७९ हजार सात सय ८२ जना कोरोनामुक्त भएका छन् । नेपालसहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७० दशमलव पाँच प्रतिशत रहेको छ ।
६९ हजार दुई सय ८९ जनाको उद्दार
कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्दार कार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार दुई सय ८९ जनाको उद्दार गरिएको छ ।
प्रकाशित मिति : आइतबार, असोज ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्