चीनको कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आइतबार (आज) काठमाडौं आउँदै छ।
सत्ताधारी दल नेकपामा आएको विभाजनले नेपालमा राजनीतिक अस्थिरता बढ्ने देखिएपछि नेपालको राजनीतिक घटनाक्रमबारे जानकारी लिने उद्देश्यले चार सदस्यीय चिनियाँ टोली आउने भएको हो। उपमन्त्री कुओ नेतृत्वको प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ। त्यस क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधनमन्त्री केपी शर्मा ओली, नेकपाको एक समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत नेतासँग भेटवार्ता गर्ने तय भएको छ।
‘चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीको नेतृत्वमा आउने टोलीले यहाँ रहँदा सत्तापक्षको नेकपा र सत्ताबाहिरको नेकपाका दुवै टोलीका शीर्षस्थ नेताहरूसँग भेटघाट गर्ने र त्यसका लागि समय लिने काम भएको छ’, नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘उहाँहरू ग्राउन्डमै आएर नेकपा विभाजनको अवस्था के रहेछ भनेर बुझ्न खोज्नुभएजस्तो लाग्छ।’
नेकपा विभाजनपछि चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट नेपाल आउन लागेको कुओ नेतृत्वको यो उच्चस्तरीय भ्रमण टोली हो। नेपालको सरकार चीनतिर ढल्किरहेको आरोप लाग्दै आएको थियो। नेपाल र चीनका दुई कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध विकास भएको थियो।
नेकपाको स्कुल विभाग र चीनको अन्तर्राष्ट्रिय विभागका तर्फबाट गत वर्ष असोजमा काठमाडौंमा कार्यशाला सम्पन्न भएको थियो। उक्त कार्यशालामा सी चिनफिङ पथबारेको वैचारिक राजनीतिक प्रशिक्षण, लगत्तै चीनका राष्ट्रपति सीको नेपाल भ्रमणलगायत कारण पनि नेपालको कम्युनिस्ट पार्टी चीनतिर ढल्किएको विश्लेषण हुँदै आएको थियो। भारतसँगको सीमा विवादका कारण सम्बन्धमा खटपट भइरहेका बेला चिनियाँसँगको सम्बन्ध विकासले पनि सो खालको विश्लेषण हुँदै आइरहेको थियो।
चीनले पनि नेपालमा स्थिरता, सुशासन र विकासका लागि नेकपाको झन्डै दुईतिहाइ जनमतको सरकार आफ्ना लागि पनि भरपर्दो शक्ति हुने विश्वाससाथ सम्बन्ध विकास गरेर लैजान चाहेको थियो। सोही कारण पनि नेकपाभित्रको विवादलाई उसले सोहीअनुसार नै हेर्दै आएको थियो। विवाद मिलाउन उसले यो बीचमा निकै मिहिनेत पनि गरेको थियो।
तर, उसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नेसम्मको कदम चालिहाल्छन् भन्ने विश्वास गरेको थिएन। ओलीको कदमपछि नेकपामा आएको विभाजनले चीनलाई चिन्ता र सक्रियता उत्तिकै मात्रामा बढाएर लगेको छ। त्यसपछि चिनियाँ राजदूत होउ यान्छीले नेकपा नेताहरूसँगको दौडधूप बाक्लो बनाइन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, स्थायी समिति सदस्यहरू वर्षमान पुनदेखि कृष्णबहादुर महरासम्म भेट गरेकी थिइन्। अन्नपूर्ण पोस्टमा समाचार छ
प्रकाशित मिति : आइतबार, पुष १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्