घर बहाल र व्यबसाय कर छुट गर्न बुटवल उद्योग वाणिज्य संघको माग

घर बहाल र व्यबसाय कर छुट गर्न बुटवल उद्योग वाणिज्य संघको माग

 

बुटवल -बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले सडक बिस्तारको क्रममा भत्काईएका घरधनीलाई घरबहाल कर र ती घरमा व्यबसाय गरेका व्यबसायीलाई व्यबसाय कर छुटको माग गरेको छ । संघमा मंगलबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा संघको तर्फबाट अवधारणा प्रस्तुत गर्दै अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोभिड–१९ महामारीको कारण अफ्ठ्यारोमा परेका व्यबसायीलाई सडक विस्तारको क्रममा सडकसंगै रहेका मुख्य राजमार्गका घर भत्काईएका कारण व्यबसायी समेत ठप्प भएकोले व्यबसाय कर छुट गर्न माग गर्नुभयो । त्यस्तै गरी निर्माणको अवधिमा बहालसमेत नउठ्ने भएकोले घर बहाल कर समेत छुट गर्नको लागि उहाँले बुटवल नगरपालिकासंग आग्रह गर्नुभएको हो ।

बुटवल–वेलहीया व्यापारिक मार्ग अन्तरगत पर्ने बुटवलको चौराहा–चिडियाखोला सडक पर्ने घर भत्काईएको कारण अहिले चौराहादेखि गोलपार्कसम्मको मुख्य राजमार्गमा भएका व्यापार व्यबसाय बन्द रहेका छन् । घर भत्काएको समयदेखि पुरा नहुँदा सम्मको घर बहाल कर र व्यबसाय कर छुटको लागि बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले नगरपालिकासंग माग गरेको हो ।

त्यस्तैगरी उक्त सडक खण्डमा सडकको दुबैतर्फको सर्भिसलेन १८ फूटबाट बढाएर २७ फूट कायम गर्न समेत आग्रह गरिएको छ । सडकको संरचनामा थोरै मात्रै सुधार गर्दा कतै कसैलाई पनि असर नपर्ने र व्यापार व्यबसायको लागि समेत सहज हुने भएकाले संघले सर्भिसलेनको चौडाई बढाउन आग्रह गरेको हो । त्यस्तैगरी ८२ फूट कायम रहेको सडकमा घरधनीहरुले ८२ फूटमा पिल्लर राखिसकेकोले सटरको छज्जा मात्रै भएपनि राख्ने व्यबस्था मिलाईदिन समेत आग्रह गरिएको थियो ।

अध्यक्ष कसजूले बुटवललाई स्मार्ट सिटी बनाउने योजना अनुसार मुख्य राजमार्गमा रहेका घरहरु एउटै रंगको बनाउने व्यबस्था मिलाउन र एउटै रंग बनाउँदा हुने खर्चको समेत नगरपालिकाले व्यबस्था मिलाउन आग्रह गर्नुभयो ।

त्यस अवसरमा बोल्दै सडक डिभिजन कार्यालय बुटवलका डिभिजन प्रमुख जयलाल मरासिनीले सडक ऐन २०३१ अनुसार मुख्य राजमार्गमा सडकको केन्द्रबाट दुबैतर्फ २५ मिटर कायम हुनुपर्ने भन्दै सोही अनुसार गर्नको लागि आग्रह गर्नुभयो । त्यसमा व्यबसायीहरुले माग गरे अनुसार सर्भिसलेनको चाढाई केही बढाउने गरि कन्सल्टेन्ट नियुक्त गरेर रि–डिजाईनको काम भईरहेको समेत जानकारी गराउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा बुटवल वडा नं. ८ का अध्यक्ष भिमबहादुर श्रेष्ठ, ४ का अध्यक्ष टंकप्रसाद पराजुली, ६ का अध्यक्ष जगदिश आचार्य, ९ का सदस्य शिव अधिकारी, ३ की सदस्य सरस्वती कुवँरले घरबहाल छुटको लागि वडामा निवेदन दिन आग्रह गर्नुभएको थियो । त्यस्तैगरी व्यबसायी कर छुटको लागि पनि नगरपालिकामा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रम महासचिव बिमलराज भट्टराईको सञ्चालन र सचिव मुक्ति अधिकारीको धन्यवादमा भएको थियो । कार्यक्रममा सरोकारवालाको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : मंगलबार, चैत्र २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij