ईलाका प्रहरी कार्यालय केवलानीलाई ‘क’ श्रेणीमा स्तरोन्नती गर्ने पहल

ईलाका प्रहरी कार्यालय केवलानीलाई ‘क’ श्रेणीमा स्तरोन्नती गर्ने पहल

 

तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नं. ७ केवलानी स्थित ईलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नती गर्न आवश्यक तयारी अघि बढेको छ । नगरपालिकालाई मुख्य कार्यक्षेत्र बनाएर हालको ‘ख’ श्रेणीको ईलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नती गर्न तिलोत्तमा नगरपालिकाले आवश्यक पहल अघि बढाएको हो ।

तिलोत्तमा नगरपालिकामा जनसंख्याको चाप दिनप्रतिदिन बढ्दै गएको र नगरपालिकाको भुगोल पनि ठूलो रहेकोले ईलाका प्रहरी कार्यालयको स्तरोन्नती अपरिहार्य रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रहरी कार्यालयको स्तरोन्नतीको लागि आवश्यक पहल गरिरहँदा बुधबार लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी मुकुन्दराज आचार्य नेतृत्वको प्रहरी अधिकारीको टोलीले प्रहरी कार्यालयको स्थलगत अनुगमन गरेको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी मनोजकुमार केसी समेत सहभागी टोलीले प्रहरी कार्यालय परिसरमा पूर्वाधार विस्तारको सम्भावना, भौगोलिक अवस्थितको विषयमा स्थलगत निरीक्षण गर्नुको साथैं जनप्रतिनिधिहरुसँग छलफल गरेको छ । त्यसक्रममा कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीले जनसंख्याको चापको कारण प्रहरी कार्यालयको स्तरोन्नती अपरिहार्य रहेको बताउनुभयो । यस्तै नेकपा एमालेका नेता यज्ञ गैरे, वडाध्यक्ष दुर्गाप्रसाद पाण्डे, प्रवक्ता सुरेन्द्र श्रीलगायतले पनि प्रहरी कार्यालय स्तरोन्नतीको आवश्यकता र औचित्यको बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रदेश प्रहरी प्रमुख डिआईजी मुकुन्दराज आचार्यले प्रहरी कार्यालयको स्तरोन्नती गरी प्रहरी निरीक्षकको कमाण्डमा जनशक्ति व्यवस्थापन गर्ने आवश्यक आधार पर्याप्त देखिएकोले यस विषयमा माथिल्लो निकायमा जानकारी गराउने बताउनुभयो । प्रहरी कार्यालय स्तरोन्नतीको विषयलाई लिएर आवश्यक पहल गर्न नगर प्रमुख बासुदेव घिमिरे काठमाडौं भैरहँदा बुधबार प्रहरी अधिकारीहरुको टोलीले ईलाका प्रहरी कार्यालयको स्थलगत निरीक्षण गरेको हो । गृहमन्त्रीको समेत जिम्मेवारीमा अर्थमन्त्री विष्णु पौडेल रहनु भएकोले प्रहरी कार्यालयको स्तरोन्नतीको काम सहजताको साथ अघि बढेको नगर प्रमुख घिमिरेको भनाइ छ । जिल्ला सुरक्षा समिति रुपन्देहीको बैठकले स्तरोन्नतीको लागि आवश्यक निर्णय गरी गृह मन्त्रालय पठाइसकेको बताइएको छ ।

प्रकाशित मिति : बुधबार, असार २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij