काठमाण्डाै – प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन सुरु गर्दैछ ।
आयोगले योग्यता पुगेका सबै नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मिति केही दिनमै घोषणा हुने सम्भावना रहेकाले त्यसअघि नै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आग्रह गर्नुभयो ।
उहाँले पेसा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले आफ्नाे स्थायी ठेगानामा रहने गरी अहिले अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गइ मतदाता नामावली दर्ता गर्नसक्ने पनि जानकारी दिनुभयो ।
मतदाता नामावली सङ्कलनको क्रममा नामावलीमा रहेको त्रुटि सच्याउन र संशोधन गर्न पनि सकिनेछ । मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न तथा दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
पालिका चुनावमा ज्यान गुमाएका व्यक्तिको पनि मतदाता नामावलीमा नाम भएको, परिचयपत्र भएर पनि नामावलीमा नाम नभएर मतदान गर्न नपाएको जस्ता समस्या देखिएको थियो । अब हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा यस्तो समस्या नदोहोरियोस् भनेर आयोग सचेत रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि चुनावको मिति घोषणा गर्न सरकारसँग परामर्श भइरहेको पनि निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, असार १ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्