स्याङ्जा – स्याङ्जाको वालिङ नगरपालिकामा आधुनिक बसपार्क निर्माण गरिने भएको छ । आधुनिक बसपार्कको निर्माणसँगै गाडी पार्किङको समस्या समाधान हुने विश्वास लिइएकाे हो ।
‘स्मार्ट सिटी’ को अवधारणसहित अगाडि बढिरहेको वालिङमा गाडी व्यवस्थितरूपमा पार्किङ गर्ने ठाउँ नहुँदा बजार क्षेत्र अस्तव्यस्त हुँदै आएको थियो । गाडी पार्किङको समस्या समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ ।
आधुनिक बसपार्कलाई नमुना बसपार्कको रूपमा तयार गरिने वालिङका मेयर कृष्ण खाणले बताउनुभयो । बसपार्क बनेपछि वालिङबाट छुट्ने तथा वालिङमा रोकिने ठूला, मझौला र साना गाडीलाई पार्किङकाे समस्या नहुने खाणको भनाइ छ ।
बसपार्क निर्माणको काम केन्द्र सरकार र प्रदेश सरकारको समपूरक योजनाका रूपमा अघि बढाइने उपमेयर कविता तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी) मोडेलमा बसपार्क निर्माण हुनेछ ।
आधुनिक बसपार्कको टर्मिनल भवन, घेरा पर्खाल, वर्कशप, आन्तरिक बाटो लगायत निर्माणका लागि १४ करोड ४१ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । यसका लागि सहरी विकास कोषबाट ८० प्रतिशत ऋण तथा वालिङ नगरपालिकाको २० प्रतिशत लगानीमा काम सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।
निर्माण सम्पन्न भएपछि बसपार्कमा प्रतिघण्टा ९६ वटा गाडी पार्किङ गर्न सकिनेछ । जीप, मिनीबस, माइक्रोबस लगायतका छोटो दूरीमा चल्ने गाडी प्रतिघण्टा ४२ वटा पार्किङ गर्न सकिनेछ । त्यसैगरी लामो दूरीमा चल्ने बसहरू प्रतिघण्टा ४८ वटा र बिजुलीबाट चल्ने बसहरू प्रतिघण्टा आठ वटा, दुई पाङ्ग्रे गाडी प्रतिघण्टा १० वटा, निजी गाडी प्रतिघण्टा २० वटा अटाउने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो । सहरी विकास कोषसँगको सहकार्यमा बसपार्क निर्माणका लागि डीपीआर तयार पारिएको हो ।
प्रकाशित मिति : शुक्रबार, पुष १५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्