सहमति, सहकार्य र एकताको मियो हुनुहुन्थ्याे नेम्वाङ

सहमति, सहकार्य र एकताको मियो हुनुहुन्थ्याे नेम्वाङ

 

काठमाण्डाै – नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाउनुभएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ ।

 

विसं २००९ मा माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङको सुपुत्रका रूपमा जन्मनुभएका नेम्वाङ नेपालको राजनीति र संवैधानिक क्षेत्रकै सुपरिचित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले प्रतिनिधि सभा र अन्तरिम व्यवस्थापकको सभामुख तथा पहिलो र दोस्रो संविधानसभा अध्यक्ष, नेकपा (एमाले) को उपाध्यक्ष र संसदीय दलको उपनेताको जिम्मेवारी सम्हाल्नुभयो ।

 

इलाम नगरपालिका–७ सुन्तलाबारी स्थायी ठेगाना रहेका नेम्वाङ पछिल्लो समय बालुवाटारमा रहेकाे निजी निवासमा बस्दै आउनुभएको थियो । प्राध्यापन, वकालत र राजनीतिलाई पनि उहाँले सँगसँगै अघि बढाउनुभएको थियो ।

 

उहाँको सबैलाई मिलाएर लैजान सक्ने समन्वयकारी क्षमताले समकालीन नेपाली राजनीतिका पत्याइएका अभिभावकजस्तै हुनुहुन्थ्यो । संसद् सञ्चालनका क्रममा तत्काल आएका चुनौतीलाई सहजरूपमा अघि बढाउन खप्पिस नेम्वाङ प्रतिवाद गर्ने नेता तथा सांसदलाई व्यङ्ग्यात्मक र मीठो शैलीमा जवाफ दिएर सभालाई रोचक बनाउनुहुन्थ्यो ।

 

विसं २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनावमा इलाम निर्वाचन क्षेत्र नं २ बाट विजयी नेम्वाङले नेपालको संसदीय लोकतान्त्रिक अभ्यासमा आफूलाई परिपक्व राजनीतिज्ञको रूपमा प्रमाणित गराउन सफल हुनुभयो ।

 

पार्टीभित्र कतिपय मुद्दामा फरक विचार र धारणा राख्दै आउनुभएका नेम्वाङ पछिल्लोपटक दलले गर्दै आएको संसद् अवरोधप्रति असहमति जनाउँदै अभिव्यक्ति दिनुभएको थियो । दलहरूबीच बेलाबखत घटना विशेषका कारण देखिने तिक्ततालाई निरन्तर वार्ता र संवादबाट सहमतिमा पुग्न सकिने धारणा राख्नुहुने नेम्वाङले सबैसँग भेटघाट र वार्ता छलफलका लागि सहज हुनुहुन्थ्यो ।

 

सञ्चारकर्मीसँग निरन्तर सम्पर्कमा रहने नेम्वाङ कुनै घटना र सूचना प्राप्त गर्नासाथ त्यसको पुष्ट्याइँ र सूचना दिन निकै सहज हुनुहुन्थ्यो । उहाँका पिता स्व रामबहादुर न्यायाधीश हुुनुहुन्थ्यो भने छोरा सुहाङ नेम्वाङ पनि कानुन व्यवसायी नै हुनुहुन्छ । कानुनसहित दुई विषयमा स्नातक नेम्वाङ लामो समय प्राध्यपन पेसामा रहनुभएकाले पार्टी प्रशिक्षणमा पनि अब्बल हुनुहुन्थ्यो ।

 

उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । सधैँभर सिंहदरबारमा रहेकाे संसदीय दलको कार्यालयमा रहने नेम्वाङ गएकाे शनिवार गृहजिल्ला पुगेर फर्केपछि रुघाखोकी लागेका कारण आउनुभएन । संविधानसभाबाट संविधान जारी गर्ने क्रममा उहाँले खेलेको भूमिका निकै महत्त्वपूर्ण रहेको उहाँका सहकर्मी नेताहरू बताउनुहुन्छ ।

 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण उहाँको योगदान स्मरण गर्दै भन्नहुन्छ, ‘संविधानसभाबाट संविधान जारी गर्न उहाँको ठूलो योगदान छ, जसरी भए पनि संविधान जारी गर्नुपर्छ भनी त्यसबेला निकै चिन्तित हुनुहुन्थ्यो ।’

 

देशका ऐन र कानुनप्रति धेरै जानकार भएका कारण उहाँले कानुनीरूपमा आउन सक्ने अड्चन र मार्गचित्रबारे सबै नेताहरूले सहजरूपमा स्वीकार गर्ने गरेको घटना नेता कर्णले सुनाउनुभयो । नेता उहाँ भन्नुहुन्छ, ‘गाली गरे पनि हाँस्ने व्यक्ति, सबै दलका नेतासँग मित्रभाव राख्ने नेम्वाङ उच्चकोटीको राजनीतिज्ञ हुनुहुन्थ्यो

प्रकाशित मिति : मंगलबार, भाद्र २६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij