संसद्‍मा महासचिव गुटेरेसको सम्बोधन शुरु

संसद्‍मा महासचिव गुटेरेसको सम्बोधन शुरु

काठमाण्डाै – नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुटेरेसले सङ्घीय संसद्‍को संयुक्त बैठकलाई सम्बोधन शुरु गर्नुभएको छ । त्यसअघि सभामुख देवराज घिमिरेले महासचिव गुटरेसलाई सम्बोधनका लागि अनुमति दिनुभयो ।

महासचिव गुटेरेस सङ्घीय संसद्‍ भवन नयाँ बानेश्वर पुग्दा शुरुमा सङ्घीय संसद्‍ सचिवालयका महासचिव डा. भरतराज गौतमलगायतले स्वागत गर्नुभयो । महासचिव गुटेरेस भवन प्रवेश गर्नुभएपछि सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगर, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायतले स्वागत गर्नुभयो ।

महासचिव गुटेरेसले सभामुख घिमिरे, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना, उपभामुख राना मगर, राष्ट्रियसभा उपाध्यक्ष अर्यालसँग संक्षिप्त भेटवार्ता गर्नुभयो ।

महासचिव गुटेरेसको स्वागतका लागि सङ्घीय संसद्‍ भवनलाई सिङ्गारिएको थियो । भवनको मुख्यद्वारदखि नै नेपालको झण्डा, तुल ब्यानर राखिएको छ । आजको बैठकमा सङ्घीय संसद्‍ सचिवालयले सांसदहरूलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन आग्रह गरेको थियो ।

संसद् भवनमा पूर्वसभामुख दमननाथ ढुङ्गाना र अग्निप्रसाद सापकोटा, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, नेपालमा रहेका कुटनीतिक नियोगका प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकारी, प्राध्यापक, पूर्वसांसद तथा सञ्चारकर्मीको उपस्थिति छ ।

यही कात्तिक १२ गते चार दिने नेपाल भ्रमणमा आउनुभएका महासचिव गुटेरेसले यसबीचमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख घिमिरे, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसक्नुभएको छ ।

यस्तै गुटेरेसले सोलुखुम्बुको खुम्बु क्षेत्र, अन्नपूर्णको आधार शिविर पुगेर जलवायु परिवर्तनले पारेको असरका बारेमा जानकारी लिनुभएको थियो । त्यसैगरी उहाँले हिजो पोखरा पुगेर पुम्दिकोटमा रहेकाे महादेवको विशाल मूर्ति अवलोकन गर्नुभयो भने फेवातालमा नौका बिहार गर्नुभयो । साथै आजै विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुगेर विश्व शान्तिका लागि आह्वान गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणका आउनुभएका महासचिव गुटेरेसले शान्ति प्रक्रिया र जलवायु परिवर्तनका विषयलाई प्राथमिकतामा राख्नुभएको छ । लुम्बिनीमा आजै प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : मंगलबार, कार्तिक १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij