सरकारले भूकम्प प्रभावित क्षेत्रमा विशेषज्ञ डाक्टरसहित ४१ जना स्वास्थ्यकर्मीलाई खटायो

सरकारले भूकम्प प्रभावित क्षेत्रमा विशेषज्ञ डाक्टरसहित ४१ जना स्वास्थ्यकर्मीलाई खटायो

काठमाण्डाै – सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा विशेषज्ञ डाक्टरसहितको ४१ जना स्वास्थ्यकर्मीको टोली पठाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले आज बिहान टोली त्यसतर्फ गएको जानकारी दिनुभयो । उहाँका अनुसार टोलीमा नेपाल सैनिक अस्पतालबाट १६ जना, नेपाल प्रहरी अस्पतालबाट ११ जना, सशस्त्र प्रहरी अस्पतालबाट आठ जना र वीर अस्पतालबाट छ जना चिकित्सक र नर्स छन् ।

गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले गएको थियो । भूकम्पमा परि घाइते तथा बेपत्ता भएकाको उद्धार र खोजी तीव्र पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सबै सुरक्षा निकायको समन्वयमा जनप्रतिनिधि र नागरिक समेतको सहयोगमा उद्धार जारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म भूकम्पमा परेर एक सय २९ जनाको ज्यान गएको छ भने एक सय ४० जना घाइते भएका विवरण प्राप्त भएको छ । अहिले प्रभावित क्षेत्रमा विभिन्न ठाउँबाट सुरक्षाकर्मी परिचालन भएको पनि उहाँले बताउनुभयो । कडायतका अनुसार रुकुम पश्चिमबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा तीन सय २० जनाको प्रहरी टोली परिचालन गरिएको छ ।

जाजरकोटमा प्रहरी नायब उपरीक्षकको कमाण्डमा चार सय ५० जनाको सुरक्षा फौज परिचालन भएको छ । कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जना जाजरकोटका लागि र चौरजहारी बेसक्याम्पबाट १० जना रुकुम पश्चिमका लागि पठाइएको छ । यस्तै, डीआईजीपी डा. गोपेश ठाकुरको नेतृत्वमा ११ जनाको मेडिकल टोलीसमेत खटाइसकिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै, नेपाली सेनाका ११ जनाको उद्धार टोली हेलिकप्टरमार्फत पनि पुगिसकेको कडायतले बताउनुभयो । अहिले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्र बनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहान प्रभावित क्षेत्रमा उद्धार र मेडिकल टिमसहित पुग्नुभएको छ ।

प्रकाशित मिति : शनिबार, कार्तिक १८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij