चर्को खडेरीका कारण अमेजन बेसिनका चार लाख २० हजार जनाभन्दा धेरै बालबालिका भोकमरी र कुपोषणको सङ्कटमा परेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय बाल कोष युनिसेफका अनुसार अमेजन बेसिनमा चार लाख २० हजार जनाभन्दा धेरै बालबालिका पानीको अभाव र खडेरीको खतरनाक स्तरबाट प्रभावित भएका छन् । ब्राजिल, कोलम्बिया र पेरुमा रेकर्ड तोड्ने खडेरीका कारण बालबालिका भोकमरी, कुपोषणबाट प्रभावित छन् भने शिक्षा र स्वास्थ्यबाट वञ्चित भएका छन् ।
युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले अमेजनको बेसिनमा आफूहरू एउटा अत्यावश्यक पारिस्थितिकीष प्रणालीको विनाशको साक्षी बनेको उल्लेख गर्दै धेरै बालबालिकालाई पर्याप्त खाना, पानी, स्वास्थ्य सेवा र विद्यालयको पहुँच नभएको उल्लेख गर्नुभएको छ । आजका बालबालिका र भावी पुस्ताको सुरक्षाका लागि चरम जलवायु सङ्कटको प्रभावलाई कम गर्नुपर्ने भन्दै उहाँले अमेजनको पारिस्थितिकीय प्रणालीमा समस्या आएमा विश्वभर नै असर देखिने चेतावनी दिनुभएको छ ।
ब्राजिल, पेरु र कोलम्बियामा पिउने पानीको अभावले बालबालिकामा सङ्क्रामक रोगहरू बढेका छन् । ब्राजिलको अमेजन क्षेत्रमा मात्र १७ सय वटाभन्दा बढी विद्यालय र सात सय ६० वटा मेडिकल क्लिनिक बन्द भएका छन् । कोलम्बियाको अमेजनमा पिउने पानी र खानाको अभावले एक सय ३० वटा विद्यालयले कक्षा स्थगित गर्न बाध्य भएका छन् । पेरुमा ५० वटाभन्दा बढी क्लिनिक बन्द भएका छन् ।
चर्को खडेरी र नदी सुक्दा जङ्गलमा आगलागी बढेको छ, जलविद्युत् उत्पादनमा ठूलो कमी आएको छ । ब्राजिल, बोलिभिया, कोलम्बिया, इक्वेडर, पेरु र भेनेजुएलाका केही भागमा बाली सुकेको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्