बुटवल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकप्रति सरकार सचेत र संवेदनशील रहेको बताउनुभएको छ । ज्येष्ठ नागरिकहरुको सम्मान, उहाँहरुको सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन हुन नमिल्ने भन्दै उहांले वर्तमान सरकार यी तीनैवटा कुराका निम्ति सचेत र संवेदनशील रहेको बताउनुभयो।
रुपन्देहीको तिलोत्तमामा बन्न लागेको ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवाको अत्याधुनिक भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनु भएको हो। २०५२ सालमै तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागकिहरुको सम्मानस्वरुप सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको स्मरण गर्दै तत्कालीन अवस्थामा एक सय रुपियाँबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता आफू अर्थमन्त्री हुँदा चारहजार रुपियाँ पुर्याउने अवसर पाएको भन्दै उहांले यसको श्रेय भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जाने बताउनुभयो ।
“बजेट निर्माणका बेलामा प्रधानमन्त्री ओलीले मलाई बढाएर ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाउनु भनेर निर्देशन दिनुभयो, त्यसैले उनको निर्देशन बमोजिम नै सामाजिक सुरक्षा भत्ता वृद्धि भएको हो”–अर्थमन्त्री पौडेलले भन्नु भयो, “यसका लागि पनि ज्येष्ठ नागरिकले प्रधानमन्त्री ओलीलाई सम्झिनु पर्छ ।”
ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुको ठूलो अर्थ र महत्व रहेको भन्दै उहाँले यसले राज्य ज्येष्ठ नागरिकप्रति जिम्मेवार बन्नुपर्छ भन्ने कुरालाई आत्मसात गरेको पनि बताउनुभयो ।
“सरकारले ज्येष्ठ नागरिकप्रति गरेको काम प्रयाप्त छैन, अझै धेरै गर्नुपर्नेछ, यसका लागि सरकार जिम्मेवारीका साथ अगाडि बढेको छ”–पौडेलले भन्नु भएको छ।
रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्रले ज्येष्ठ नागरिकहरुका इच्छा र आकांक्षालाई पूरा गर्दै अघि बढिरहेको भन्दै उहाँले अव बन्न लागेको अत्याधुनिक भवनका लागि सरकारको तर्फबाट यथोचित संबोधन हुने पनि आश्वासन दिलाउनु भयो । “हामी राजनीति र समाजसेवामा लागेकाहरुका निम्ति यो महत्वपूर्ण शिक्षा हो, ज्येष्ठ नागरिक मिलन केन्द्र नमूना बनोस्”–अर्थमन्त्री पौडेलले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले राज्यले गर्नुपर्ने काम समुदायस्तरबाट भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले ज्येष्ठ नागरिक मिलन केन्द्रका लागि नगरपालिकाले पनि सहयोग र सहकार्य गर्ने बताउनुभयो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा दिवा सेवा प्रदान गर्ने गरी पाँचयस जना ज्येष्ठ नागरिकलाई सेवा दिने लक्ष्यसहित अत्याधुनिक भवन बन्न लागेको हो । यो भवन पाँच तलाको हुने केन्द्रका अध्यक्ष क्रृषि भण्डारीले जानकारी दिनुभयो।
कार्यक्रममा केन्द्रका उपाध्यक्ष यदुनाथ पाण्डे, सचिव दया भण्डारी लगायतले ज्येष्ठ नागरिक मिलन केन्द्रले गरिरहेको सेवाका सम्बन्धमा प्रकाश पारेका थिए । त्यस अवसरमा ज्येष्ठ नागरिकद्वय रोमनाथ कंडेल र नर्मदा अर्यालले यहाँको वातावरणमा आफूहरु रागमुक्त भएको र खुसीसाथ जीवन बिताउन पाएको अनुभव सुनाएका थिए ।
प्रकाशित मिति : सोमबार, माघ २१ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्