बुटवल, तिलोत्तमा नगरपालिकाको आयोजना र सामुदायिक जागरण विकास मञ्च, रुपन्देहीको व्यवस्थापनमा तिलोत्तमा नगरपालिका वडा नं. ४ का बासिन्दाहरुलाई जातिय विभेद विरुद्ध सामाजिक अन्तरघुलन कार्यक्रम सोमबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हरि बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै क्षेत्रीले जातिय विभेद मानव समुदायको लागि कलंक र सामाजिक अपराध भएकाले टोलमा सबैले समान व्यवहार गर्नुपर्ने बताए । क्षेत्रीले महिला र पुरुष मात्रै जात भएकाले समाजमा कही कतै जातीय विभेद गरेको पाइएमा वडामा खबर गर्न आग्रह गर्दै त्यस्ता व्यक्तिलाई कडा कारबाही गरिने बताए ।
तिलोत्तमा नगरपालिकाका योजना शाखा अधिकृत माधव पोख्रेलले प्रशिक्षण दिदै २१ औं शताब्दीमा पनि अझै पनि दलित समुदायमाथि जातिय विभेदका घटनाहरु भएको बताए । उनले स्थानीय तह, प्रदेश र संघीय सरकारले विभेद न्यूनीकरणका लागि सबै पालिकामा सचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताए ।
तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य रबि सेन्चुरीले जातिय विभेद अन्त्यका लागि तिलोत्तमा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै समावेश गरी बजेट नै छुट्टाएर विभिन्न वडामा सामाजिक अन्तरघुलन कार्यक्रम गरेको बताए । उनले तिलोत्तमा नगरपालिका वडा नं। ६, १४, १० ९, ८ र ४ वडा गरी पालिकाका ६ वटा वडामा सामाजिक अन्तरघुलन कार्यक्रम गर्दै सबै प्रकारको विभेद अन्त्यका लागि टेवा पुग्ने बताए ।
सामुदायिक जागरण विकास मन्चका अध्यक्ष राम बहादुर विश्वकर्माले दलित समुदायलाई धारा, मठ मन्दिरमा प्रवेश गर्दा जातिय विभेदका घटना घट्ने क्रम बढेको बताउँदै त्यसको अन्त्य गरी समतामुलक समाज निर्माणका लागि पहल गर्नुपर्ने बताए । तिलोत्तमा नगरपालिकाले चैत ११ देखि २० गतेसम्म पालिकाका विभिन्न वडामा जातिय विभेद विरुद्ध सामाजिक अन्तरघुलन कार्यक्रम गरेको थियो । कार्यक्रममा अवधिभर करिब ३ सय २१ जनाको सहभागिता रहेको थियो । कार्यक्रम तिलोत्तमा,४ का वडा सचीव काशिराम ज्ञवालीले सन्चालन गरेका थिय ।
प्रकाशित मिति : सोमबार, चैत्र २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्