जितगढी किल्लामा देशभक्तिपूर्ण गीत संगीतका साथ जितगढी विजय उत्सव मनाइने

जितगढी किल्लामा देशभक्तिपूर्ण गीत संगीतका साथ जितगढी विजय उत्सव मनाइने

बुटवल -अंग्रेज फ्रौजलाई हराएर इतिहास कायम गरेको दिन बैशाख ७ गते बुटवलको ऐतिहासिक जितगढी किल्लामा देशभक्तिपूर्ण गीत संगीतका साथ जितगढी विजय उत्सव मनाइने भएको छ । ईष्ट इण्डियाको कम्पनी फौजलाई पराजित गर्दै मातृभूमी जोगाउको दिन पारेर आइतबार ‘जितगढी विजयी उत्सव साँस्कृतिक साँझ-२०८२’ आयोजना हुने भएको हो ।

हरेक वर्ष बैशाख ७ गतेका दिन मनाउँदै आइएको विजय उत्सवको अवसरमा बुटवलको जितगढी किल्लामा यस वर्ष साँस्कृतिक साँझ आयोजना गर्न लागिएको बुटवल उपमहानगरले जनाएको छ । बुटवल उपमहानगरको प्रवर्द्धनमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा विभिन्न कलाकारहरुबाट देशभक्ति गित तथा नृत्यहरु प्रस्तुत गरिने छन् ।

आइतबार नै हरेक वर्ष गोरखादेखि पैदलयात्रा गरी आइपुग्ने नेपाली सेनाका पखयात्रीहरुलाई किल्लामा स्वागत गरिने छ । यस वर्ष पनि नेपाली सेनाको गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा-जितगढी पदयात्राको टोलीलाई स्वागत गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीय तहहरुसँगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको यो पदयात्रा तेस्रो पटक आयोजना गरेको हो । गोरखाबाट हिँडेको टोली तनहुँ, स्याङ्जा, पाल्पा हुँदै बैशाख ७ गते ऐतिहासिक जितगढी किल्लामा आइपुग्नेछ ।

राष्ट्रिय झण्डासहित एकीकरणमा स्थापित श्रीनाथ, कालीबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्म सहभागी छन् । पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रूरू भैरबदल गण, काली भञ्जन गण, राजदल गण, दि फेमस महिन्द्रदल गण र रुपन्देहीको तारादल गण सहभागी हुँदै छन् ।

यस वर्ष विजय उत्सव कार्यक्रम अन्तरगत विहान पदयात्रामा रहेको नेपाली सेनाको टोलीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ भने साँझ ६ बजेदेखि साँस्कृतिक साँझको आयोजना गरिएको छ ।

आइतबार बिहान ९ बजे अस्पताल चोकमा राष्ट्रिय झण्डोत्तलन कार्यक्रम हुनेछ भने १० बजे बुटवल १ गणेशमन्दिरमा गोरखाबाट आएका नेपाली सेनाका टोलिलाई स्वागत गरिने छ । बिहान ११ बजेदेखि बुटवल-१ जितगढी किल्लामा जितगढी उत्सवको मुल समारोह संचालन हुने उपमहानगरपालिकाले जनाएको छ ।

१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी जितगढी उत्सव मनाएको हो ।

प्रकाशित मिति : शनिबार, बैशाख ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij