रोहिणी ‘पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका’ घोषणा

रोहिणी ‘पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका’ घोषणा

भैरहवा,  रुपन्देहीको रोहिणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिएको छ । सोमबार रोहिणी–३ स्थित धकधईमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणाका लागि अहारोत्र खट्नुहुने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताउनुभयो । ‘तपाईहरु सबै लागेर रोहिणी गाउँपालिकाले यो सफलता प्राप्त गरेको हो, ’उहाँले भन्नुभयो ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रातदिन खटेर सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिनुभयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविकाको सेवासुविधा बढाउने कुरामा गाउँपालिका गम्भिर रहेको बताउनुभयो । ‘रोहिणी गाउँपालिकामा महत्वपूर्ण कार्यहरु भएका छन्, ’उहाँले भन्नुभयो ।गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले स्वास्थ्यकर्मीलाई जति धन्यवाद दिए पनि त्यो कमै हुने बताउनुभयो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले खोप लगाउन पाउनु बालबालिकाको अधिकार भएको बताउनुभयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । रोहिणी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले सबैको मिहिनेत र सहयोगले रोहिणालाई पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिएको बताउनुभयो ।

पोखरभिण्डी स्वास्थ्य चौकीका इञ्चार्ज तारा प्रसाद गैरेले खोप लगाउने उमेरका कुनै पनि बालबालिका छुट्न नहुने बताउनुभयो । छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र कुमार यादवले खोप जस्तै कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपर्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा रोहिणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास प्रसाद चौधरी, गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका नारायण ढुंगाना, इन्द्रेणी ग्रामीण विकास सेवा केन्द्रका प्रतिनिधि सरस्वती थापा, महिला स्वास्थ्य स्वयंसेविका सरिता पाण्डे, पजरकट्टी स्वास्थ्य चौकीका तथ्यांक फोकल पर्सन रमेश चौवे लगायतले बोल्नुभएको थियो ।

पूर्ण खोप पालिका सुनिश्चित गर्ने कार्यविधि राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रियाहरु पूरा गरी रोहिणी गाउँपालिकाले २०८२ वैशाख २० मा १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको भन्दै कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्तितता प्रमाणपत्र प्रदान गरिएको थियो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाई र समितिका सदस्य सचिव चिन्तामणि ज्ञवालीले उक्त प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवलाई प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij