गुल्मी , गुल्मीमा पहिलो पटक स्थानीय धानको चामललाई ‘प्याकेजिङ’ र ‘ब्रान्डिङ’ गरी बजारमा ल्याइएको छ । धुर्कोट गाउँपालिका–६ सिस्तुङ्गका किसान मेघनाथ अर्यालले खाद्यान्न प्रशोधन तथा प्याकेजिङ उद्योगमार्फत धुर्कोटे स्थानीय चामल व्यावसायिक रूपमा बिक्रीका लागि बजारमा ल्याउनुभएको हो ।
स्थानीय उत्पादनलाई व्यावसायिक रूपमा प्रवर्द्धन गरी बजारीकरण गर्ने उद्देश्यले आफैँले उत्पादन गरेको चामललाई ‘धुर्कोटे चामल’ को नाममा ब्रान्डिङ गरी बजारमा पठाएको अर्यालले बताउनुभयो । उहाँले प्रशोधन गरेको चामललाई २५/२५ किलोको बाेरामा प्याकिङ गर्नुभएको छ । २५ किलोको बोरालाई दुई हजार पाँच सय रुपैयाँ मूल्य राखिएको छ ।
धुर्कोट गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा किसान अर्यालले उद्योग स्थापना गरी चामल उत्पादन गर्न थाल्नुभएको हो ।
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले पहाडी क्षेत्रमा चिसो पानीमा उत्पादन भएको धुर्कोटे चामलसहित कृषि उपजमा पालिकाबाट आउँदा दिनमा बजारीकरण, प्रविधि तथा ढुवानीलगायतका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गाउँ खाली हुनलाग्दा गाउँमै फर्किएर अर्यालले गरेको कामबाट सबैले सिक्नुपर्ने बताउनुभयो ।
अर्यालले गएको वर्ष चार सय मुरी धान उत्पादन गर्नुभएको थियो । उहाँले एक सय १२ रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा धानखेती गर्दै आउनुभएको छ ।
प्रकाशित मिति : मंगलबार, असार ३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्