रुपन्देहीको कञ्चनमा भूमिहीनलाई लालपूर्जा दिँदै अर्थमन्त्रीले भने -०८४ सम्ममा सबैको हातमा पुग्छ

रुपन्देहीको कञ्चनमा भूमिहीनलाई लालपूर्जा दिँदै अर्थमन्त्रीले भने -०८४ सम्ममा सबैको हातमा पुग्छ

बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ०८४ साल नपुग्दै देशभरका सबै भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपूर्जा दिलाउने गरी काम गरेको जनाएका छन् । आइतबार रुपन्देहीको कन्चन गाउँपालिका वडा नं ५ गरगरेका ४५१ जना स्थानीयलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्दै उनले यसमा ढुक्क भएर बस्न आग्रह गरेका छन् ।

‘यो सरकारको अठोट हो, यसलाई जसरी पनि पूरा गरेर अघि बढ्छौं, अब कन्चनको मात्रै होइन, रुपन्देहीको मात्रै होइन देशभर रहेका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउने छौं, हामीले त्यसलाई ०८४ अघि नै पूरा गर्ने संकल्पका साथ काम गरेका छौं ।’ उनले भने ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले यसमा स्पष्ट निर्देशन दिइरहनुभएको छ, जो भूमिहीन, बेघरबार छन् यसको स्थायी समाधानको लागि दृढ संकल्पसाथ काम भएको छ, यसलाई सरकारले मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’

उपप्रधानमन्त्री पौडेलले आफूहरुले निर्वाचनको बेला भूमिहीनसँग गरेको वाचाअनुसार कामलाई अघि बढाएको जनाए । ‘हामीले निर्वाचनको बेला भनेका थियौं सिरानीमुनि लालपूर्जा राखेर सुत्न पाउनुहुन्छ भनेर भनेका थियौं त्यो बेला भावनात्मक रुपमा भनियो कि भन्ने डर पनि थियो तर अहिले त्यसैका आधारमा काम भइरहेको छ । त्यसकौ उदाहरणका रुपमा देशैभर काम भइरहेको छ । धेरैले बीचबीचमा सोधिरहनु भएको छ, जसले पाउनुभयो अब नपाएकाहरुको सबै प्रकृयामा छन्’ उनले भने ।

मन्त्री पौडेलले यसका लागि बनेको भूमि समस्या समाधान आयोगले दु्रतरुपमा काम गरेको र यसको परिणाम सुरु भइरहेको जनाए । ‘केन्द्रमा आयोगले दु्रतरुपमा काम गरेको छ । जिल्लामा आयोगले त्यसैअनुसार काम गरेको छ । प्रदेश र स्थानीय सरकारहरुले पनि त्यसै गरेर समन्वय गरेका छन्’ उनले भने- ‘यो समस्या समाधान गर्न हामी दृढ छौं, अब चिन्ता गरेर बस्ने होइन स्थायी समाधानका लागि अघि काम बढाएको छौं । आयोगलाई कुनै आर्थिक स्रोत कमी नहुनेगरी स्रोत बनेको छ । जनशक्ति, स्रोतसाधनको व्यवस्था भएको छ, त्यसैले आयोगले पनि त्यही अनुसार काम गरको छ ।’

मन्त्री पौडेलले अहिलेको गठबन्धनको आयु ०८४ सम्म भएको दोहोराएका छन् । ‘अब एउटा मात्रै समस्या होइन देशका सबै समस्या समाधान गर्ने अठोट लिएर अघि बढेका हौं, ०७९ को निर्वाचनबाट आएका परिणाम अनुसार कसैको बहुमत आएन, संसदमा धेरै अभ्यास भयो तर अरु गठबन्धन काम नलागेर निकासका लागि अहिलेको सरकार बनेको हो, यसैलाई ०८४ सम्म स्थायी रुपमा यो गठबन्धनले काम गर्नेछ यो स्थायित्वका लागि गरिएको हो ।’ देशमा आन्दोलनको नेतृत्व गरेका, इतिहास भएका पार्टीले निकासका लागि यसो गरेका हुन् । त्यसमा ढुक्क हुन आग्रह छ ।’ उनले अब नकारात्मक सोँचका साथले होइन सकारात्मक सोँचले अघि सबैलाई आग्रह गर्दै भने ‘यसमा जनताको साथ चाहिन्छ सिंगो देशकै विकासको अभियानलाई लिएर हामी अघि बढेका छौं ।’

कार्यक्रममा भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरे, पूर्वसांसद भरत शाह, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : आइतबार, असार २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij