मोतिपुर-स्थानीय कृषि प्रणालीमा आधुनिकता भित्र्याउँदै उत्पादन वृद्धि र कृषक सशक्तीकरणको बाटो खोल्दै आएको सिम्रिक कृषि सहकारी संस्था लिमिटेड, बुटवल–१७, मोतिपुरमा अवस्थित छ। आत्मनिर्भर कृषि प्रणालीको उदाहरणीय मोडेलका रूपमा स्थापित यो सहकारी संस्था अहिले बुटवल उपमहानगरपालिकामै नमूना बन्न पुगेको छ।
स्थानीय कृषकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस सहकारीले सदस्य किसानहरू मात्र नभई अन्य कृषकहरूलाई पनि सेवा सुविधा उपलब्ध गराउँदै आएको छ। बुटवल उपमहानगरपालिकाको सहयोग र विभिन्न सरकारी तथा गैरसरकारी कार्यक्रमहरूसँगको सहकार्यमा सहकारीले विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
संस्थाले कृषि उपकरण केन्द्र, मलखाद तथा बीउ वितरण, आधुनिक औजारहरूको प्रयोग र अनुदानमार्फत कृषिमा नयाँ युगको सुरुवात गरिरहेको छ।
सिम्रिक सहकारी धान र गहुँ बीउ उत्पादनमा अगाडि देखिएको संस्थाले जनाएको छ। धानतर्फ हर्दिनाथ, सावा मन्सुली, राधा–४ जस्ता प्रजातिका बीउ तथा गहुँतर्फ विजय, गौतम, एनएल–९७१, बाणगंगा, स्वर्गद्वारी, भिरकुटी र जिङ–१ प्रजातिका बीउ उत्पादन भइरहेको व्यवस्थापक दीपक अर्याल बताउँछन्।
हालसम्म सहकारीले २५० मेट्रिक टन गहुँ र १५० मेट्रिक टन धानको बीउ उत्पादन गरी वडाहरू १७, १८ र १९ मा मात्र नभई अन्य पालिकाहरूमा समेत वितरण गरिरहेको छ।
प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाअन्तर्गत २०७५र७६ सालमा धानबलक कार्यक्रम सञ्चालन गरिएको थियो। सो कार्यक्रमअन्तर्गत धान काट्ने मेसिन वितरण गरिनुका साथै, विश्व खाद्य संकट सम्बोधन कार्यक्रम अन्तर्गत बीउ भण्डारणका लागि ८० प्रतिशत अनुदान र २० प्रतिशत सहकारीको लगानीमा गोदाम भवन निर्माण गरिएको हो।
त्यस्तै, सहकारीसँग अहिले ग्रेडिङ मेसिन, सिलिन्डर मेसिन, र अन्य आधुनिक उपकरणहरू समेत उपलब्ध छन्। बीउको ग्रेडिङ, भण्डारण र लेबलिङको काम पनि सहकारी आफैले गर्दै आएको छ।
सहकारीले मोतिपुर बहुउद्देश्य कृषि समूह गठन गरेर सामूहिक खेतीमा समेत जोड दिएको छ। यस समूहले उत्पादन गरेका बीउहरू सहकारीमार्फत नै बिक्री, भण्डारण र वितरण हुँदै आएको छ। कृषकहरूलाई सामूहिक रूपमा सशक्त बनाउने प्रयास यो समूहमार्फत भइरहेको छ।
सहकारी अध्यक्ष टोप नारायण घिमिरे भन्छन्, “हामीले कृषिमा आत्मनिर्भरता ल्याउने, कृषकहरूलाई सीप, स्रोत र साधन उपलब्ध गराउने लक्ष्यसहित काम गर्दै आएका छौं।”
उनका अनुसार गुणस्तरीय बीउ वितरण, समयमा मलखादको पहुँच, प्रविधिमैत्री औजारहरूको प्रयोग र सहकारीमै ग्रेडिङ–प्याकिङको सुविधा सिम्रिक सहकारीका विशेषता हुन्।
कृषिमा समर्पित यो सहकारी संस्था बुटवलको मात्रै होइन, सिङ्गो लुम्बिनी प्रदेशकै उदाहरणीय कृषि सहकारी बन्ने सम्भावना बोकेको संस्था भएको सहकारीले जनाएको छ। उत्पादन वृद्धि, प्रविधिको प्रयोग र स्थानीय कृषकहरूको सशक्तीकरणमा निरन्तर लागिपरेको सिम्रिक सहकारीले आत्मनिर्भर बुटवलको सपना साकार पार्न उल्लेखनीय भूमिका खेलेको छ ।
प्रकाशित मिति : बिहिबार, साउन १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्