बुटवल, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ औं वार्षिक साधारण आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले मुलुकमा निरन्तर भइरहेका आन्दोलन र राजनीतिक अस्थिरताले लगानीको वातावरण असुरक्षित बन्दै गएकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निजी क्षेत्रको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै स्थानीय सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको बताउनुभयो ।
उहांले जेन–जी आन्दोलनका मुद्दा सान्दर्भिक भए पनि त्यसको आडमा भएका तोडफोड, आगजनी, लुटपाटजस्ता अपराधको विरोध गर्दै संलग्नलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले निजी क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएको बताउँदै अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले असहज राजनीतिक परिस्थितिका कारण निजी क्षेत्र कमजोर बन्दै गएको बताउँदै सुरक्षाको प्रत्याभूति र लगानीमैत्री वातावरण आवश्यक भएको बताउनुभयो । उहांले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले लगानी पलायनको जोखिम बढाएको भन्दै सरकारलाई ठोस कदम चाल्न आग्रह गर्नुभयो । सो अवसरमा उहांले निजी क्षेत्रले उठान गरेका धेरै कुराहरु सम्बोधन भएको स्मरण गर्दै कोभिड १९ महामारी, आर्थिक मन्दी, जेन–जी आन्दोलन, वर्षाले प¥याएको क्षतिका कारण अझैपनि निजी क्षेत्र उठ्न नसकिरहेको बताउनुभयो ।
महासंघका प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा र वस्तुगत उपाध्यक्ष हेमराज ढकालले चुनाव तोकिएकै मितिमा गर्न र निजी क्षेत्रको मनोबल उकास्ने वातावरण बनाउन सरकार र दलहरूलाई आग्रह गर्नुभयो।
संघका अध्यक्ष हरिप्रसाद अर्यालले मोतिपुर औद्योगिक क्षेत्रको निर्माणमा गति दिन, व्यवसायमैत्री नीति अपनाउन र हरेक आन्दोलनमा हुने उद्योग व्यवसायमाथिको आक्रमण रोक्न राज्यलाई अनुरोध गर्नुभएको छ।
कार्यक्रममा उद्योगी व्यवसायीहरूले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने र राजनीतिक दलहरू त्यसमा सहभागी हुनुपर्ने आग्रह गरेका छन् । कार्यक्रममा संघका तर्फबाट इलाका प्रशासन कार्यालय बुटवललाई कम्प्युटर, प्रिन्टर, स्क्यानर र १६ थान सिसिटिभी क्यामेरा प्रदान गरेको छ । साथै, ट्राफिक व्यवस्थापनमा सहयोग पु–याउन लुम्बिनी प्रदेश ट्राफिक कार्यालयलाई पाँच थान ह्वील लक हस्तान्तरण गरिएको छ ।
प्रकाशित मिति : सोमबार, असोज २७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्