तिलोत्तमा , आज हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि , पशुपतिनाथ सहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ। बिहान ३ बजे देखि नै पशुपतिनाथ लगायतका देशभरका शिवालयहरूमा विहानैदेखि दर्शनार्थीहरूको घुइँचो छ।
यस क्षेत्रमा रहेका श्रृंगेश्वर धाम, योगिकुटीमा रहेको शिव मन्दिर, मुक्तिनाथ धाम, सिद्धवावा मन्दिर, कालिकानगरमा रहेको शिवालय मन्दिरमा भक्तालुहरुको बिहानैदेखि भिडभाड देखिएको छ।
शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ। कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ।
सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ। व्रतमा सर्वोत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्।
यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ। निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन्। शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ।
पशुपतिनाथमा दर्शन गर्न हरेक वर्ष भारत लगायतका देशहरुबाट सयौंको संख्यामा भक्तजनहरु आउने गरेका छन्। तर यस वर्ष भारतबाट आउने नागा बाबाहरुको संख्या भने कम भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यस्तै, केदारनाथको शिरको रुपमा पुजिने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्