तिलोत्तमा — वर्तमान राजनीतिक परिदृश्यमा युवाको भूमिकालाई केन्द्रमा राख्दै तिलोत्तमामा प्राज्ञिक बहस कार्यक्रम सम्पन्न भएको छ। ‘युवाका लागि युवा (वाई.एफ.वाई)’को आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रसँग आबद्ध युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा अध्येता तथा अध्यापक शंकर भण्डारीले वर्तमान सन्दर्भमा युवाको भूमिकाबारे विचार प्रस्तुत गर्दै राजनीतिलाई भीड वा लहडका आधारमा नभई अध्ययन, तथ्य र तर्कका आधारमा बुझ्नुपर्नेमा जोड दिए। उनले युवाहरूले राजनीतिलाई गहिराइमा नबुझ्दा विवेकपूर्ण निर्णय लिन नसकिरहेको बताए।
भण्डारीका अनुसार अध्ययनले मात्र प्रश्न गर्ने क्षमता विकास गर्छ, तर अहिले समाजमा प्रश्न गर्ने संस्कृतिको अभाव देखिएको छ। “जब समाजले प्रश्न गर्न छाड्छ, तब प्रजातान्त्रिक संस्थाहरू कमजोर बन्दै जान्छन्,” उनले भने।
उनले अध्ययनबिनाको राजनीतिक बुझाइले हरेक घटनालाई नयाँजस्तो देखाउने र त्यसले समग्र राजनीतिक दिशा नै भ्रमित पार्न सक्ने चेतावनी दिए। युवाहरूले अध्ययन र विश्लेषणमार्फत मात्र आफूलाई सक्षम राजनीतिक नागरिकका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरी, ‘युवाका लागि युवा’का संयोजक जीवन पाण्डे, विद्यार्थी, शिक्षक तथा उद्यमीहरूको उपस्थिति रहेको थियो।
‘युवाका लागि युवा’ले तिलोत्तमा क्षेत्रमा युवालाई केन्द्रित गरी विभिन्न रचनात्मक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको आयोजकले जनाएको छ।
प्रकाशित मिति : आइतबार, चैत्र १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्