दाङ – लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत सातौं बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३\०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ ।
बैठकको सुरुमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण गर्न बनेको विधेयक, २०८३’ सभामा पेश गर्नेछन् । त्यसैगरी प्रदेश प्रमुखद्वारा प्रस्तुत गरिएको लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३\०८४ को‘वार्षिक नीति तथा कार्यक्रम’को एक प्रति मुख्यमन्त्री चेतनारायण आचार्यले सभामा पेश गर्ने कार्यसूची रहेको छ ।
प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी सम्बोधनका लागि धन्यवाद ज्ञापन प्रस्ताव पेश गर्छन भने उक्त प्रस्तावलाई प्रदेश सभा सदस्य जमुना ढकालले समर्थन गर्छन । त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने जनाइएको छ ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘वार्षिक नीति तथा कार्यक्रम’ माथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यक्रम रहेकाे छ । प्रस्तावमाथि छलफल पश्चात प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ १२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्