काठमाण्डौ – फिफा विश्वकप फुटबलमा ब्राजिलका सुपरस्टार नेयमारले स्कटल्यान्डसँगको खेल खेल्ने भएका छन् । ३४ वर्षीय नेयमारले चोटका कारण समूह ‘सी’ मा यसअघि मोरक्को र हैटीसँगको खेल गुमाएका थिए ।
ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले नेयमारले समूह चरणको अन्तिम खेल पूरा ९० मिनेट नै खेल्ने बताएका हुन् ।
ब्राजिलका लागि सबैभन्दा धेरै ७९ अन्तर्राष्ट्रिय गोल गरेका नेयमार गएको मे ७ मा सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए । चौथो पटक विश्वकप खेल्न टोलीमा परेका उनी यस हप्ता पूर्ण प्रशिक्षणमा फर्किएका हुन् ।
ब्राजिल र स्कटल्यान्डबीचको खेल भोलि बिहान पौने ४ बजे अमेरिकाको मियामी रङ्गशालामा शुरू हुनेछ । ब्राजिल मोरक्कोसँग १–१ को बराबरीमा रोकिएको थियो भने हैटीलाई ३–० ले हराएको थियो । स्कटल्यान्डले हैटीलाई १–० ले हराएको थियो भने मोरक्कोसँग १–० ले पराजित भएको थियो ।
५ पटकको विश्व विजेता ब्राजिल र स्कटल्यान्डबीच विश्वकपमा अहिलेसम्म ४ पटक भेट भएको छ । ३ वटा खेल ब्राजिलले जित्दा एउटा खेल गोलरहित बराबरीमा सकिएको छ ।
विश्वकपमा आज राति पौने १ बजे समूह ‘बी’ का २ वटा खेल हुँदैछ । स्विट्जरल्यान्ड र घरेलु टोली क्यानडाबीचको खेल बीसी प्लेस भ्यानकुभर तथा बोस्निया एन्ड हर्जगोभिना र कतारबीचको खेल अमेरिकाको सिएटल रङ्गशालामा हुनेछ । स्विट्जरल्यान्डले कतारसँग १–१ को बराबरी खेलेको थियो भने बोस्नियालाई ४–१ ले हराएको थियो । यस्तै क्यानडाले बोस्नियासँग १–१ को बराबरी खेल्दा कतारलाई ६–० ले हराएको थियो ।
यस्तै बिहान पौने ४ बजे समूह ‘सी’ का मोरक्को र हैटीबीचको खेल अमेरिकाको एटलान्टा रङ्गशालामा हुनेछ ।
यस्तै बिहान पौने ७ बजे समूह ‘ए’ २ वटा खेल हुँदैछ । दक्षिण अफ्रिका र दक्षिण कोरियाबीचको खेल मेक्सिकाको मोन्टेरी रङ्गशाला तथा चेक रिपब्लिक र घरेलु टोली मेक्सिकोबीचको खेल मेक्सिको सिटी रङ्गशालामा हुनेछ । दक्षिण अफ्रिका मेस्सिकोसँग २–० ले पराजित भएको थियो भने चेकसँग १–१ को बराबरी खेलेको थियो । यस्तै दक्षिण कोरियाले चेकलाई २–१ ले हराएको थियो भने मेक्सिकोसँग १–० ले पराजित भएको थियो ।
प्रकाशित मिति : बुधबार, असार १० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्