काठमाडौँ ,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ।
डिडिसीले कच्चा दूधको गुणस्तर सुधारका लागि कडाइका साथ मापदण्डको कार्यान्वयन गरेपछि गुणस्तरमा सुधार देखिएको हो।
डिडिसीका महाप्रबन्धक डा। शरणकुमार पाण्डेका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनपछि शङ्कास्पद देखिएका दूधका खेप तत्काल हटाउने व्यवस्था गरिएको छ भने दूध खरिदमा ‘फ्याट’ र ‘एसएनएफ’को मापदण्ड परिमार्जन गरी उच्च गुणस्तरको दूध खरिदलाई प्राथमिकतामा राखिएको छ।
डिडिसीका चिस्यान केन्द्रहरूले ‘फ्याट’ र ‘एसएनएफ’को आधारमा दूध सङ्कलन गरी चलानी पठाउने तथा आयोजना पुगेपछि प्रयोगशालामा पुनः गुणस्तर परीक्षण हुने व्यवस्था गरिएको छ।
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही असार १५ गते दूधको नमूना परीक्षण गर्दा चिस्यान केन्द्रले चलानीमा उल्लेख गरेको ‘फ्याट’ र ‘एसएनएफ’को विवरणभन्दा कम गुणस्तरको दूध भेटिएको थियो।
त्यसपछि सबै चिस्यान केन्द्रको परीक्षण गरिएको र यसअघि देखिएका शङ्कास्पद विषयमा पनि छानबिन जारी रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए।
दूधको गुणस्तरमा देखिएको कैफियतलाई गम्भीर रूपमा लिँदै दोषी जोसुकै भए पनि कारबाही गर्न तथा भविष्यमा यस्तो गतिविधि दोहोरिन नदिन तत्काल सुधारात्मक कदम चाल्न प्रधामन्त्री कार्यालयले संस्थानलाई निर्देशन दिएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्।
सुधारसँगै कारबाही
निर्देशनपछि न्यून गुणस्तरको दूध सङ्कलनमा लापरबाही गरेको चितवनको भरतपुर चिस्यान केन्द्रका प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ।
अन्य चिस्यान केन्द्रका प्रमुखसँग तीन दिनभित्र स्पष्टीकरण मागिएको छ। आगामी दिनमा चिस्यान केन्द्रको गुणस्तर परीक्षण र आयोजनाको प्रयोगशाला परीक्षणबीच कुनै फरक देखिए सम्बन्धित आयोजना प्रमुखलाई नै जिम्मेवार बनाइनेगरी निर्देशन दिइएको संस्थानले जनाएको छ।
यस्तै, मिलेमतो भएको आशङ्कामा आयोजनाको प्रयोगशालामा कार्यरत कर्मचारी मनहरि शर्मालाई पनि जिम्मेवारीबाट हटाइएको छ। स्पष्टीकरणको जवाफ प्राप्त भएपछि संलग्न कर्मचारीमाथि थप कारबाही प्रक्रिया अघि बढाइने संस्थानले जनाएको छ।
डिडिसीका अनुसार यही असार १८ गतेदेखि आयोजनामा प्राप्त दूधको गुणस्तरमा एकरूपता आएको छ। मापदण्डभन्दा कम गुणस्तरको तथा मिसावट भएको करिब तीन हजार लिटर दूध प्रयोगशाला परीक्षणपछि नष्ट गरिएको संस्थानले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, असार २३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्