तिलोत्तमाको बजार अनुगमन : मासु पसलबाट करिब ४० केजी खान अयोग्य मासु बरामद गरि नष्ट

तिलोत्तमाको बजार अनुगमन : मासु पसलबाट करिब ४० केजी खान अयोग्य मासु बरामद गरि नष्ट

 

तिलोत्तमा। तिलोत्तमा नगरपालिकाले उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय खाद्य वस्तुको पहुँच सुनिश्चित गर्ने उद्देश्यले बुधबार नगरभित्रका प्रतिनिधिमूलक मासु पसलहरूमा बजार अनुगमन गरेको छ। अनुगमनका क्रममा विभिन्न मासु पसलबाट करिब ४० केजीभन्दा बढी खान अयोग्य मासु बरामद गरिएको छ।

बरामद गरिएको मासु व्यवसायी तथा अनुगमन टोलीको रोहबरमा खाल्डो खनी सुरक्षित रूपमा नष्ट गरिएको तिलोत्तमा नगरपालिकाले जनाएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने खाद्य सामग्री बिक्री वितरण हुन नदिन नियमित बजार अनुगमनलाई प्रभावकारी बनाइएको नगरपालिका का आर्थिक बिकास शाखा प्रमुख मुक्तिराम खनालले बताउनुभएको छ।

अनुगमन टोलीको नेतृत्व तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वर देवी चौधरीले गर्नुभएको थियो। टोलीमा आर्थिक विकास शाखा प्रमुख मुक्तिराम खनाल, पशु शाखा प्रमुख राजु कुँवर मगर, पशु चिकित्सक डा. इन्द्रकला खत्री, अधिकृत गोमा ज्ञवाली, अधिकृत मिना अर्याल लगायतको सहभागिता रहेको थियो। त्यसैगरी निजी क्षेत्रको तर्फबाट तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, चेम्बर अफ कमर्स तिलोत्तमाका अध्यक्ष नेत्रप्रसाद न्यौपाने, तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम जीएम, तिलोत्तमा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सूर्य न्यौपाने लगायत व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

अनुगमनका क्रममा मासुको गुणस्तर, सरसफाइ, भण्डारण अवस्था, बिक्री वितरण प्रक्रिया, व्यवसाय दर्ता, मूल्यसूची, पशुजन्य खाद्य वस्तुको स्वास्थ्य मापदण्ड तथा उपभोक्ता हितसम्बन्धी कानुनी व्यवस्थाको पालना भए–नभएको विषयमा समेत निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा केही पसलमा उपभोगका लागि अनुपयुक्त अवस्थामा राखिएको मासु फेला परेपछि तत्काल बरामद गरी नष्ट गरिएको हो। शंकरनगर र ड्राइभरटोल स्थित वारसी मासु पसलमा गद्दी गरेर राखिएको मासु बरामद गरि नस्ट गरिएको छ। नगरपालिकाले अखाद्य रुपमा अरहेको मासु नस्ट गरि व्यवसायीहरुलाई कारबाही समेत गर्ने जनाएको छ। टोलीले तिलोत्तमाको मणिग्राम, ४ नम्बर, शंकरनगर, ड्राइभरटोल लगायतका ठाउँमा अनुगमन गरेको हो ।

अनुगमनका बारेमा बोल्दै उपप्रमुख जागेश्वर देवी चौधरीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा नगरपालिका कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो। उहाँले स्वच्छ र गुणस्तरीय खाद्य वस्तु बिक्री वितरण गर्नु व्यवसायीको दायित्व भएको उल्लेख गर्दै कानुनविपरीत कार्य गर्ने जो–कोहीलाई आवश्यक कारबाही गरिने बताउनुभयो। उहाँले बजारलाई व्यवस्थित, सुरक्षित र उपभोक्तामैत्री बनाउन यस्ता अनुगमनलाई आगामी दिनमा पनि नियमित र प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।

आर्थिक बिकास शाखा प्रमुख मुक्तिराम खनालले मासुको उत्पादनदेखि बिक्रीसम्म स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न व्यवसायीलाई आग्रह गर्दै उपभोक्ताले पनि ताजा, स्वच्छ र मापदण्डअनुसारको मासु खरिद गर्न सचेत हुनुपर्ने बताउनुभयो। पशु चिकित्सक डा. इन्द्रकला खत्रीले अस्वस्थ तथा लामो समयसम्म अनुचित तरिकाले भण्डारण गरिएको मासुको सेवनले विभिन्न प्रकारका खाद्यजन्य रोग निम्तिन सक्ने भएकाले गुणस्तरमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो।

अनुगमनमा सहभागी उद्योग तथा व्यापारिक संघ–संस्थाका प्रतिनिधिहरूले पनि स्वस्थ प्रतिस्पर्धा र गुणस्तरीय व्यापार प्रवर्द्धनका लागि व्यवसायीहरूले कानुनी मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले नियमित अनुगमनले व्यवसायलाई थप व्यवस्थित बनाउन तथा उपभोक्ताको विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

तिलोत्तमा नगरपालिकाले बजारमा अखाद्य, गुणस्तरहीन तथा मापदण्डविपरीतका खाद्य वस्तुको बिक्री वितरण रोक्न नियमित अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ताको स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।

प्रकाशित मिति : बुधबार, साउन १३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij