तिलोत्तमाका दूध डेरीमा फेरि अनुगमन : शंकास्पद दूध ल्याब परीक्षणका लागि पठाइयो

तिलोत्तमाका दूध डेरीमा फेरि अनुगमन : शंकास्पद दूध ल्याब परीक्षणका लागि पठाइयो

 

तिलोत्तमा -तिलोत्तमा नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिँदै पुन: स्थानीय दूध डेरी तथा कृषि उपज भण्डार एवं बिक्री केन्द्रहरूको अनुगमन गरेको छ। अनुगमनका क्रममा शंकास्पद देखिएको दूधको नमुना संकलन गरी गुणस्तर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।

नगरपालिकाकी उपप्रमुख जगेश्वर देवी चौधरीको नेतृत्वमा गरिएको अनुगमनमा आर्थिक बिकास शाखाका प्रशासकीय अधिकृत मुक्तिराम खनाल, वरिष्ठ प्रशासन सहायक मिना अर्याल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि प्रकाश भण्डारी, इलाका प्रहरी कार्यालय मङ्गलापुरका प्रहरी नायब निरीक्षक सनन्दन प्रसाद यादव तिलोत्तमा उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग व्यापार संगठन, चेम्बर अफ कमर्स तिलोत्तमाका प्रतिनिधि, नगर प्रहरी तथा नगरपालिकाका कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो।

अनुगमनमा सहभागी हुँदै नगरपालिकाकी उपप्रमुख जगेश्वर देवी चौधरीले नियमित बजार अनुगमनले उपभोक्ताको विश्वास बढाउनुका साथै व्यवसायीलाई समेत गुणस्तर, सरसफाइ, कानुनी प्रक्रिया तथा जिम्मेवार व्यवसाय सञ्चालनप्रति थप सचेत र उत्प्रेरित बनाएको बताउनुभएको छ।नगरपालिकाका आर्थिक बिकास शाखाका प्रशासकीय अधिकृत मुक्तिराम खनालले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ता हित संरक्षण तथा स्वस्थ र व्यवस्थित बजार वातावरण निर्माणमा जोड दिने बताउनुभएको छ।

अनुगमनका क्रममा तीन वटा कृषि उपज भण्डार तथा पसल र नौ वटा दूध डेरी गरी जम्मा १२ वटा व्यवसायिक प्रतिष्ठानको निरीक्षण गरिएको नगरपालिकाले जनाएको छ। निरीक्षणका क्रममा दूध तथा कृषि उपजको गुणस्तर, सरसफाइ, भण्डारण अवस्था, मूल्यसूची, व्यवसाय दर्ता तथा नवीकरण लगायतका विषयमा अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा केही स्थानीय व्यवसायीले व्यवसाय दर्ता तथा नवीकरण समयमै नगरेको पाइएको टोलीले जनाएको छ। त्यस्ता व्यवसायीलाई प्रचलित कानुन तथा नगरपालिकाको मापदण्डअनुसार व्यवसाय दर्ता र नवीकरण प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ।
नगरपालिकाले उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ। शंकास्पद दूधको नमुना प्रयोगशालामा परीक्षणका लागि पठाइएको र परीक्षण प्रतिवेदन प्राप्त भएपछि आवश्यक प्रक्रिया अघि बढाइने बताइएको छ।

प्रकाशित मिति : सोमबार, साउन १८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij