काठमाण्डाै — आन्तरिक राजस्व विभागले साउन १ गतेदेखि १५ गतेसम्मका लागि १६ जना उपहार विजेताहरूको नाम सार्वजनिक गरेको छ । साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार शिव कृष्ण जेनरल स्टोरबाट २ सय ५० रुपैयाँ बराबरको सामान किन्ने एक जना उपभोक्ताले जितेका छन् ।
विजेताहरूको छनोट ‘क्रिप्टोग्राफिकली सेक्युर्ड युनिफर्म र्याण्डम स्याम्पलिङ’ प्रविधिबाट गरिएको विभागले जनाएको छ । यो पूर्णरूपमा कम्प्युटरकृत प्रणाली भएकाले यसमा कुनै पनि मानवीय हस्तक्षेप वा विभेदको सम्भावना नरहेको र छनोट प्रक्रिया पूर्णतः निष्पक्ष हुने आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।
साउन १ गतेदेखि १५ गतेसम्मको अवधिमा उपभोक्ताले गरेका ७ हजार ७७ वटा नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ । ती कारोबारको कुल मूल्य ८ करोड २४ लाख रुपैयाँ रहेको छ भने यसमा ३ हजार ९ सय १५ जना विक्रेता आबद्ध भएका छन् । यस अवधिका लागि हरेक दिन एक–एक जना गरी १५ जना दैनिक विजेता र साउनको पहिलो १५ दिनका लागि एक जना ‘बम्पर’ उपहार विजेता चयन गरिएको छ ।
त्यसैगरी, यही अवधिमा अनलाइन भुक्तानी माध्यमबाट २ करोड ५६ लाख ८ हजारभन्दा बढी कारोबार भएको विभागले जनाएको छ । अनलाइन भुक्तानीमार्फत भएको ७६ अर्ब ६० करोड ३ लाख रुपैयाँ बराबरको कारोबारलाई भने छुट्टै प्रविष्ट गर्नुपर्ने व्यवस्था नरहेको र ती कारोबार स्वतः उपहार कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको छ ।
दैनिक उपहार विजेताले १ लाख १२ हजार ३७४ रुपैयाँ र बम्पर उपहार विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ । प्रोत्साहन कार्यक्रमको औपचारिका शुरुवात गर्दै अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेटमार्फत घोषणा गरिएको यो कार्यक्रमले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नुका साथै आर्थिक गतिविधिलाई थप पारदर्शी बनाउन सहयोग पुऱ्याउने बताउनुभयो ।
प्रकाशित मिति : शुक्रबार, साउन २२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्