विश्वकर्मा समाज नेपाल यूएईद्वारा रसुवा बाढीपहिरो पीडितका लागि २ लाख २५ हजार सहयोग

विश्वकर्मा समाज नेपाल यूएईद्वारा रसुवा बाढीपहिरो पीडितका लागि २ लाख २५ हजार सहयोग

 

बुटवल – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विश्वकर्मा समाज नेपाल, यूएईले २ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बाढी तथा पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विश्वकर्मा समाज नेपाल, यूएईले प्रधानमन्त्री प्राकृतिक विपद् राहत कोषमार्फत उक्त रकम सहयोग गरेको जनाएको छ। विपद्को समयमा पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा प्रभावित क्षेत्रमा पुनर्स्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले समाजले आर्थिक सहयोग गरेको हो।

विश्वकर्मा समाज नेपाल, यूएईका कोषाध्यक्ष तथा दुबई क्षेत्रीय विश्वकर्मा समाज नेपाल यूएईका टिकाराम विक अमितले सहयोग रकम प्रदान गरिएको जानकारी दिनुभयो। उहाँले प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वसँगै मानवीय दायित्वसमेत भएकाले समाजका तर्फबाट राहत कोषमा सहयोग गरिएको बताउनुभयो।

रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यससँगै गएको पहिरोले जनजीवन प्रभावित हुनुका साथै ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको छ। विपद्का कारण प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, उपचार, खाद्यान्न तथा अन्य आवश्यक राहत सामग्रीको व्यवस्थापनसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनर्स्थापनाको आवश्यकता देखिएको छ।

यस्तो कठिन परिस्थितिमा राज्यका निकायसँगै विभिन्न सामाजिक संघसंस्था, प्रवासी नेपाली समुदाय तथा सहयोगी व्यक्तिहरूबाट प्राप्त सहयोगले विपद्मा परेका नागरिकलाई राहत पुग्ने विश्वास समाजले व्यक्त गरेको छ।

समाजले बाढी तथा पहिरोमा परी अमूल्य जीवन गुमाउने सम्पूर्ण नेपाली तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, मृतकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते तथा बाढीपहिरोबाट प्रभावित सबै नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षा र सामान्य जीवनमा फर्किने वातावरण निर्माण होस् भन्ने कामना गरेको छ।

विपद्को यस कठिन घडीमा उद्धार तथा राहतका लागि अहोरात्र खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्वास्थ्यकर्मी, सामाजिक संघसंस्था तथा स्थानीयस्तरमा सहयोगमा जुटेका नागरिकप्रति पनि विश्वकर्मा समाज नेपाल, यूएईले सम्मान तथा आभार व्यक्त गरेको छ।

समाजले प्राकृतिक विपत्ति कुनै एक व्यक्ति, समुदाय वा क्षेत्रको मात्रै समस्या नभई सबैको साझा चुनौती भएकाले विपद्को समयमा एकअर्कालाई सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिएको छ। तत्कालीन राहतसँगै प्रभावित नागरिकको दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणमा समेत राज्य तथा सम्बन्धित निकायको प्रभावकारी भूमिका आवश्यक रहेको समाजको भनाइ छ।

प्रवासी नेपाली समुदायले देशमा आइपर्ने विपत्ति तथा नागरिकका दुःख–समस्यामा सहयोग गर्दै आएको उल्लेख गर्दै विश्वकर्मा समाज नेपाल, यूएईले आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

समाजले देशको जुनसुकै क्षेत्रमा प्राकृतिक विपत्ति आइपर्दा त्यसबाट प्रभावित नागरिकको साथमा उभिन आफूहरू तयार रहेको जनाएको छ। विपद्को समयमा आर्थिक, भौतिक तथा मानवीय सहयोगका माध्यमबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउनु सबैको साझा जिम्मेवारी भएको समाजका महासचिव किरण बिकद्धारा जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij