अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम कडा बनाएको छ । नयाँ व्यवस्था अक्टोबर २ अर्थात् हिजोदेखि लागू भएको छ । यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थीसमेत प्रभावित हुने देखिएको छ ।
नयाँ नियमअनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामाबाहेक अस्ट्रेलिया भित्रैबाट पनि भिसा आवेदन दिन पाउने छैनन् । नयाँ व्यवस्थाले भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्ने अभ्यासलाई समेत प्रभावित गरेको छ ।
अहिलेको कोर्स पूरा हुन अझै १२ महिनाभन्दा धेरै समय लाग्ने अवस्थामा पनि अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाइने छैन । कोर्स पूरा हुन १२ महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा मात्रै अस्ट्रेलिया भित्रैबाट आवेदन दिन सक्नेछन् ।
नयाँ व्यवस्थाले प्रभावित विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट आवेदन दिनुपर्नेछ । यो नियम विद्यावारिधि अध्ययनरत, विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीका लागि लागू नहुने खबरमा उल्लेख छ ।
अस्ट्रेलियाले आप्रवासीको वार्षिक संख्या झण्डै ३ लाखबाट घटाएर २ लाख २५ हजार पुऱ्याउने नीति अघि सारेको छ ।
प्रकाशित मिति : शनिबार, असोज १७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्