काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै पोखरेलले कांग्रेस सभापति गगनकुमार थापा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आफूहरूसँगै रहेको स्मरण गरे ।
त्रिचन्द्र क्याम्पसको सभादेखि नै आफूहरू सँगै उभिएको उल्लेख गर्दै उनले थापा कांग्रेसको नेतृत्वमा आउनु सकारात्मक भएको बताए ।
‘गगनकुमार थापा गणतन्त्र ल्याउने नेतृत्वको आन्दोलनमा हामीसँगै थियौँ । त्रिचन्द्र क्याम्पसको सभाबाट हामी सँगै उभिएका थियौँ। अहिले पुरानो पार्टी कांग्रेसको नेतृत्वमा आउनुभएको छ । यो एकदमै सकारात्मक कुरा हो,’ पोखरेलको भनाइ छ ।
उनले कांग्रेससँग फेरि सहकार्य गरेर लोकतन्त्रको रक्षा र देशको मुहार फेर्नुपर्ने बताए। राणा शासन, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनविरुद्ध पनि आफूहरू कांग्रेससँगै मिलेर अघि बढेको स्मरण गर्दै उनले आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको बताए ।
‘अब फेरि पनि मिलेर लोकतन्त्र र यो देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ,’ उनले भने, ‘राणा, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनमा हामी मिलेर गरेका हौँ । अब फेरि पनि कांग्रेससँगको सहकार्यमा लोकतन्त्रको रक्षाका लागि लड्नेछौँ ।’
पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरूसँग सहकार्य र छलफल नगरी अघि बढिरहेको आरोप लगाए । प्रधानमन्त्रीले संसद् र जनताका कुरा नसुन्ने अवस्था रहेको भन्दै उनले यसलाई ‘स्वेच्छाचारी शासन’ को संज्ञा दिए ।
उनले कांग्रेसले आगामी दिनमा यस विषयलाई लिएर नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे । पोखरेलले युवाहरूलाई निराश हुन दिन नहुने बताए । युवाका सपना पूरा गर्ने जिम्मेवारीमा सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
‘युवाहरूलाई निराश हुन दिनु हुँदैन। युवाका सपनाहरू पूरा गर्ने जिम्मेवारीमा हामी सबै मिलेर जानुपर्छ,’ उनको भनाइ छ ।
महासचिव पोखरेलले कांग्रेसको १५औँ महाधिवेशनले नेपाली जनता र जनभावनासँग जोडिएका विषयलाई उठाउँदै नयाँ राजनीतिक एजेन्डा अघि सार्ने विश्वास पनि व्यक्त गरे । सूचना प्रविधिको क्षेत्रमा कांग्रेस र एमालेले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।
प्रकाशित मिति : आइतबार, असोज १८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्