तिलोत्तमामा औद्योगिक व्यापार मेला: पाँच लाख दर्शक भित्र्याउने लक्ष्य

तिलोत्तमामा औद्योगिक व्यापार मेला: पाँच लाख दर्शक भित्र्याउने लक्ष्य

तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघले स्थानीय उत्पादन, व्यापार, कृषि, प्रविधि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ। आगामी मंसिर ३ देखि १६ गतेसम्म तिलोत्तमा नगरपालिका–४, मणिग्रामस्थित अस्थायी प्रदर्शनीस्थलमा सञ्चालन हुने मेलामा पाँच लाखभन्दा बढी दर्शक सहभागी हुने र १२ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अनुमान छ।

संघले आइतबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिएको हो। संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीका अनुसार मेलामा ३५० भन्दा बढी स्टल रहनेछन्। औद्योगिक तथा व्यावसायिक उत्पादन, कृषि, प्रविधि, पर्यटनलगायत विभिन्न क्षेत्रका सामग्री तथा सेवाको प्रदर्शनी गरिनेछ। होटलका लागि २० वटा स्टल छुट्याइएको छ भने अटो तथा सूचना प्रविधिसम्बन्धी स्टल आवश्यकताअनुसार व्यवस्थापन गरिनेछ।

मेलालाई आकर्षक बनाउन बाल उद्यान, सांस्कृतिक कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिने अध्यक्ष कार्कीले बताए। प्रवेशद्वारमा लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथका संरचनालाई प्रदर्शनात्मक रूपमा प्रस्तुत गरी नेपाली कला, संस्कृति र धार्मिक पर्यटनको झल्को दिने तयारी गरिएको उनले जानकारी दिए।

मेलामा जलवायु परिवर्तनसम्बन्धी चेतनामूलक सामग्री, तिलोत्तमाभित्रका पर्यटकीय तथा धार्मिक स्थलको जानकारी दिने प्रदर्शनी र नैतिक शिक्षासम्बन्धी सामग्रीसमेत राखिनेछ। व्यापारिक गतिविधिसँगै सामाजिक चेतना अभिवृद्धि र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्ने, साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको कार्कीले बताए। कृषि, उद्योग, व्यापार, उत्पादन, प्रविधि तथा पर्यटन क्षेत्रलाई एकीकृत गर्दै तिलोत्तमाको आर्थिक पहिचान राष्ट्रियस्तरमा स्थापित गर्नसमेत मेलाले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

मेलाको प्रवेश टिकट सामान्यतर्फ १५० रुपैयाँ निर्धारण गरिएको छ। विशेष कार्यक्रम तथा कन्सर्टका लागि भने ४०० देखि ५०० रुपैयाँसम्म टिकट शुल्क लाग्नेछ। ज्येष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। पाँच वर्षभन्दा कम उमेरका बालबालिका तथा परिचयपत्रका आधारमा अपाङ्गता भएका व्यक्तिले पनि निःशुल्क प्रवेश पाउनेछन्।

त्यसैगरी, नगरपालिकाको सिफारिसमा आउने २५ जनासम्मको समूहलाई निःशुल्क प्रवेश दिइनेछ भने विद्यार्थीलाई परिचयपत्रका आधारमा टिकटमा ५० प्रतिशत छुट उपलब्ध गराइने आयोजकले जनाएको छ।

मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति रहनेछन्। साथै, स्वदेशी उत्पादनको बजारीकरणलाई प्राथमिकता दिइनेछ।

आयोजकले मेला व्यवस्थित, सुरक्षित, मर्यादित र सहभागितामूलक बनाउन सम्बन्धित सरकारी निकाय, उद्योगी, व्यवसायी, वित्तीय तथा शैक्षिक संस्था, सामाजिक संघसंस्था र आम नागरिकसँग सहकार्य गर्ने जनाएको छ। स्थानीय आर्थिक गतिविधि विस्तार, व्यापारिक सम्बन्ध सुदृढीकरण र पर्यटन प्रवर्द्धनका दृष्टिले मेला महत्वपूर्ण अवसर बन्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

प्रकाशित मिति : आइतबार, असोज २५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij