रेसुङ्गा विमानस्थल उडानका लागि तयार

रेसुङ्गा विमानस्थल उडानका लागि तयार

गुल्मी । निर्माण थालिएको लामो समयपछि रेसुङ्गा विमानस्थलमा हवाईजहाज आउने भएको छ । विमानस्थल निर्माण समितिले दिएको जानकारी अनुसार परीक्षण उडानका लागि सबै तयारी पूरा भएकाले रेसुङ्गा विमानस्थलमा जहाज आउने भएको हो ।

समितिका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार जेठको पहिलो साताभित्रमै रेसुङ्गा विमानस्थलमा हवाईजहाज आउने बताए । जिल्लाको सदरमुकाम तम्घास नजिकै सिमीचौरमा एक दशक अगाडिबाट निर्माण शुरु भएको रेसुङ्गा विमानस्थलमा गत दशंैमा नै धुले उडान गर्ने भनिए पनि अहिले बल्ल धुले उडान गर्न सकिने अवस्थामा पुगेको पन्तले बताए ।

‘निर्माण थालिएको लामो समयपछि हामीले रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गर्ने तयारी गरेका छौँ’ अध्यक्ष पन्तले भने– ‘नागरिक उड्यन प्राधिकरणको टोलीले छिट्टै अनुगमन गरेपछि धुले उडान गराउँछौँ ।’ नागरिक उड्यन प्राधिकरणमा पुगेर विमानस्थलको जानकारी गराएको उनले बताए ।

‘विमानस्थलको काम तीव्र रुपमा नहँुदा परीक्षण उडान गर्न समेत सकेका थिएनौँ’, उनले भने– ‘गुल्मेलीहरुको जहाज चढ्ने सपना अब छिट्टै पुरा हुन्छ, जेठको पहिलो साता रेसुङ्गा एयरपोर्टमा जहाज आउँछ ।’

विमानस्थल निर्माणको जिम्मा पाएको निर्माण व्यवसायी नारायण पोखरेलका अनुसार पनि दशैंमा धुले उडान गर्ने भनिए पनि बल्ल तयार भएको बताएका छन् । ‘दशैंमा नै जहाज उडाउन सकिने गरी काम अगाडि बढाएका थियौँ’, पोखरेलले भने– ‘तर देशमा भएको नाकाबन्दीलगायत अन्य केही समस्याका कारणले ढिला भएको हो ।’ उनले जिल्लाको प्रतिष्ठाका लागि निर्माणको सम्झौतामा नभएको पनि केही काम गरेको बताए ।

दशैंमा जहाज नआएर निराशा भएका स्थानीयमा पनि फेरि जहाज आउने कुराले धेरै उत्साहित बनाएको छ । स्थानीय दीपेश अर्यालले अब त घर नजिकै जहाज आउने कुराले खुसी बनाएको बताए ।

‘केही काम नभएकाले दशंैमा जहाज आउँछ भन्ने त लागेको थिएन’, अर्यालले भने– ‘अहिले भने आशा लागेको छ, सोचेभन्दा धेरै र राम्रो काम भएको छ, परीक्षण उडान हुन्छ होला ।’ उनका अनुसार रेसुङ्गा विमानस्थलबाट जहाज चड्ने सपना छिट्टै पूरा हुनेछ ।

नियमित विमानस्थल सञ्चालन भए जिल्लाको समग्र आर्थिक विकासले फड्को मार्ने अपेक्षा उद्योगी व्यवसायीहरुले गरेका छन् । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डेले जिल्लाबाटै जहाज उड्ने कुराले जिल्लाको आर्थिक विकास हुने अपेक्षा गरेको बताए । संघका अध्यक्ष पाण्डे भन्छन्– ‘जुन नेता मन्त्री हुँदा विमानस्थलको शिलान्यास भएको थियो, उनै नेता फेरि मन्त्री भएकाले अब छिट्टै जहाज आउला ।’

रेसुङ्गा विमानस्थलको एक दशक अगाडि पर्यटन तथा नागरिक उड्यन मन्त्री हुँदा प्रदीप कुमार ज्ञवालीले विमानस्थलको शिलान्यास गरेका थिए । अहिले परराष्ट्र मन्त्री रहेका ज्ञवालीले विमानस्थल सञ्चालन भएपछि जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

‘पर्यटनका हिसाबले गुल्मी धेरै अगाडि छ,’ उनले भने, ‘हवाईमार्ग सुरु भएपछि देश विदेशबाट पर्यटक भित्रिनेछन्, म आफू विभागीय मन्त्री हुँदा शुरुवात गरेको हुँ, अब केही दिनभित्र परीक्षण उडान गर्ने हो ।’

विमानस्थल सञ्चालन भए गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, प्युठान, बागलुङ, पाल्पा र स्याङ्जाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन् । विमानस्थल निर्माणको जिम्मा सुनिल समीर निर्माण सेवाले लिएको छ । विमानस्थल निर्माणका लागि हालसम्म झन्डै ११ करोड रुपैयाँ खर्च भइसकेको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij