कैलाली– सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका क्रममा थप १०० जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो ।
आइतबार संक्रमित फेला पर्नेमा कैलाली, कञ्चनपुर, अछाम, डोटी दार्चुला र बझाङ जिल्लाका छन् । योसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या एक हजार ५०५ महिला र चार हजार २४९ पुरुष गरी कूल पाँच हजार ७५४ पुगेको छ । आइतबारसम्म प्रदेशमा कोभिड–१९का सबैभन्दा बढी संक्रमित कैलालीमा एक हजार ६९९ जना पुगेका छन् ।
स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार डोटीमा ९२२, अछाममा ८९९ ,कञ्चनपुरमा ६७९, बाजुरामा ४५२, डडेलधुरामा ३१६, बैतडीमा ३६९, बझाङमा ३७० र दार्चुलामा ४८ जना संक्रमित पुगेका छन् । प्रदेशमा अहिलेसम्म कैलालीका छ, बझाङ र बाजुराका दुई÷दुई र अछामका एक जना गरी ११ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
आइतबार अछाम र कञ्चनपुर जिल्लाबाट समेत गरी ८९ जना उपचारपछि डिस्चार्ज भएसँगै प्रदेशमा कूल डिस्चार्ज हुनेको संख्या चार हजार ९२२ पुगेको छ । संक्रमितमध्ये प्रदेशका विभिन्न अस्पतालका आइसोलेसनमा १०१, नौवटै जिल्लाका आइसोलेसन केन्द्रमा ६५० र होम आइसोलेसनमा १२० जना रहेका छन् ।
केही हप्तायता पीसीआर पद्दतिबाट शंकास्पद व्यक्तिको स्वाबको नमूना संकलन र परीक्षणको दायरा वृद्धि भएको छ । हाल दैनिक बढीमा एक हजार ७३० वटा सम्म नमूना जाँच भइरहेको छ ।
समुदायस्तरमा कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि प्रदेशका कैलाली, कञ्चनपुरलगायतका जिल्लामा रोगको रोकथामका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रदेशको अस्थायी राजधानी शहर धनगढी उपमहानगरपालिकामा समुदायस्तरमा कोरोना परीक्षणको काम सुरु गरिएको छ ।
प्रकाशित मिति : सोमबार, भाद्र १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्