सैनामैना –रुपन्देहीको सैनामैना नगरपालिकाले कृषि क्षेत्रलाई प्रथामिकता दिदै आएको छ । यहाँका कृषकहरुलाई व्यवसायिक रुपमा अगाडि बढाउँदै नगरलाई नै कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन विभिन्न प्रोत्साहनका कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ । प्रोत्साहन स्वरुप आईतबार सैनामैनाका किसानले अनुदानमा माहुरीकोे घार पाएका छन् । नगरको कृषि विकास शाखा अन्तर्गत यहाँका किसानले ५० प्रतिशत अनुदानमा माहुरीकोे घार पाएका हुन् ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि मौरीपालन कृषक समुहका केन्द्रिय अध्यक्ष अर्जुन पोखरेलले नेपालमा माहुरीको महको माग बढिरहेको तर उत्पादन भने कम रहेको बताउनुभयो । अहिले देशमा ६५ प्रतिशत महको माग हुने गरेकोमा ३५ प्रतिशत मात्र उत्पात्न हुने गरेको पोखरेलको भनाई छ । उहाँले प्राविधिक सहयोगका लागि आफु प्रतिबद्ध रहेको बताउँदै व्यवसायिक रुपमा काम गर्न कृषकहरुलाई आग्रह समेत गर्नुभयो ।
नगरमा माहुरी पालनको राम्रो सम्भावना रहेकोले कृषकहरुलाई यस क्षेत्रमा प्रोत्साहन स्वरुप घार वितरण गरिएको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो । घारको पुर्ण रुपमा सदुपयोग गर्न अनुरोध गर्दै कार्कीले कृषकहरुलाई व्यवसायिक सफलताको कामना गर्नुभयो ।
कृषि शाखा प्रमुख सिर्जना खनालका अनुसार यहाँका किसानको मागअनुसार शाखाले १ सय वटा घार र आधार चाका प्रदान गरेको हो । माहुरीलाई मह उत्पादन गर्न चिउरीको बोट आवश्यक पर्ने पर्दछ ।
नगरले लगाएका चिउरीका बोटलाई कसरी संरक्षण गर्न सकिन्छ र यसबाट कसरी फाइदा लिन सकिन्छ भन्ने तर्फ ध्यान पनि दिन किसानलाई प्रमुख खनालको आग्रह छ ।
त्यस्तै करिब ४ वर्षदेखि माहुरीको व्यवसाय गर्दै आउनुभएका वडा नं १ का किसान योगराज कंडेलले आईतबार १० वटा घार सँगै १५ वटा आधार चाका प्राप्त गर्नुभएको छ । घार प्राप्त गरे सँगै कंडेलले यसबाट थप प्रेरणा मिलेको सुनाउनुभयो । माहुरीका लागि चरन क्षेत्रको अभाव हुँदा यहाँका कृषकले माहुरी चराउन दाङ, प्यूठान लगायतका जिल्लामा लैजाने गर्छन् । आईतबार आफुलाई आवश्यक परे बमोजिम कृषकले १५ वटा सम्म माहुरीका घार पाएका हुन् । हाल नगरमा १७ जना माहुरी पालन कृषक छन् ।
यस अघि सैनामैना नगरपालिकाले युएनडिपीको सहयोग तथा सेतो गुराँस वाल विकास सेवा रुपन्देहीको संयोजनमा माहुरी स्रोत केन्द्र सञ्चालनका लागि १५ जना कृषकहरुलाई दुई दुई वटाका दरले ३० वटा माहुरीको घार वितरण गरेको थियो ।
प्रकाशित मिति : आइतबार, मंसिर १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्