काठमाडौं – चीनले सफलतापूर्वक अर्को अन्तरिक्ष यानलाई चन्द्रमामा उतारेको छ । उसको रोबोटिक चाङ्ग-अ फाइभ अभियान अन्तर्गत गए राति उक्त यान चन्द्रमाको सतहमा अवतरण गरेको हो ।
चीनको पछिल्लो चन्द्र अभियानको उद्देश्य त्यहाँबाट चट्टान तथा धूलो सङ्कलन गरेर पृथ्वीमा फर्कनु हो । उसको अभियानले मन्स रुम्केर भनिने उच्च ज्वालामुखी क्षेत्रलाई निशानामा पारेको छ ।
चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ केही दिन वरपरको क्षेत्र अवलोकन गरेर अनि सामग्रीहरू सङ्कलन गरेर बिताउनेछ । ल्यान्डरमा क्यामेरा, स्पेक्ट्रोमिटर तथा रेडार जस्ता यन्त्र जडित छ ।
उसले भुइँबाट ढुङ्गा वा धूलो उठाएर करिब दुई किलो सामानलाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाउनेछ जसले त्यसलाई पृथ्वीमा फर्काउनेछ ।
अन्तरिक्ष महाशक्ति
यदि फर्कन सफल भएमा सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्र अभियान हुनेछ ।
यसअघि यस्तो सफलता ४४ वर्षअगाडि प्राप्त भएको थियो जतिबेला सोभियत लुना ट्वेन्टी फोर अभियानले करिब दुई सय ग्राम सामान पृथ्वी ल्याएको थियो । यसै महिनाको अन्त्यतिर उक्त यान भित्री मङ्गोलिया क्षेत्रको घाँसे मैदानमा उत्रनेछ ।
यो अभियान सफल भए अन्तरिक्षको महाशक्तिको रूपमा बेइजीङ्को हैसियत बढ्नेछ । अमेरिकी अन्तरिक्ष निकाय नासाले चीनलाई बधाइ दिएको छ । नासाका वरिष्ठ अधिकारीले पृथ्वी ल्याइएका चन्द्रमाका सामग्रीको वैज्ञानिक विश्लेषण गर्ने अवसर अन्तर्राष्ट्रिय समुदायलाई पनि मिल्ले आशा व्यक्त गरे ।
चीनले यसअघि दुईपटक चन्द्रमामा आफ्ना यानको सफल अवतरण गराइसकेको छ – सन् २०१३ मा चाङ्ग-अ थ्री अनि गत वर्ष चाङ्ग-अ फोरसहित । –बीबीसी
प्रकाशित मिति : बुधबार, मंसिर १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्