काठमाण्डाै – नारायणगढ–मुग्लिङ सडक बन्द हुँदा तीन हजार बढी गाडी रोकिएका छन् । तीन दिनदेखि बाटो नखुल्दा सडकमा गाडीको लामो लाम लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जाममा फसेकाहरु काेही बिरामी भएका र कसैले खान समेत नपाएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बताउनुभयो । उहाँले सडक पहिरो पन्छाउने काम भइरहेको तर जोखिम कायमै रहेकाले पूर्वबाट आउने गाडीलाई बर्दिवास र हेटौँडाबाट काठमाण्डौ छिर्न आग्रह गर्नुभएको छ ।
तीन हजार भन्दा धेरैको सङ्ख्यामा रहेका गाडी, यात्रु र चालकले सडक खुल्ने प्रतीक्षा गरिरहेको उहाँको भनाइ छ । नारायणगढ–मुग्लिङ सडकका फराकिला सडक र खुला ठाउँमा पनि गाडी रोकि राखिएको छ । हिँड्नैपर्ने भए वैकल्पिक सडक प्रयोग गर्न उहाँको आग्रह छ ।
एक हप्तायता सडकमा पहिरो र लेदो माटो बग्दा दुःख दिइरहेको पनि चितवनका ट्राफिक प्रहरी प्रमुख थापाले बताउनुभयो । मनसुन सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरोले सडक बन्द हुने, खुलाउने फेरि पहिरो जाने शृङ्खला चलिरहेको छ ।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जीनियर शिव खनालका अनुसार भरतपुर महानगरपालिका–२९ को सेतीदोभान, इच्छाकामनाको चार किलो, पाँच किलो, १४ किलोलगायतका ठाउँमा पहिरो खसेको छ ।
सेतीदोभानमा सडक खुलाउन जुटिरहेको पनि उहाँले जानकारी दिनुभयो । केही वर्षअघि ठाउँठाउँमा पहिरो खसेर समस्या भएपछि पूरै सडक खण्डलाई विस्तार र पहिरो रोकथामको काम गरिएको थियो । तीन वर्षअघि काम सम्पन्न भएपछि अघिल्ला दुई वर्षमा खासै समस्या भएको थिएन ।
तर यस वर्ष भने मौसम सक्रिय भएसँगै पहिरो झरिरहेको छ । सामान्य अवस्थामा नारायणगढ–मुग्लिङ सडकमा दैनिक झण्डै १० हजार गाडी आवतजावत गर्ने गरेको तथ्याङ्क छ ।
प्रकाशित मिति : मंगलबार, असार २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्