लुम्बिनीमा पनि आजै मन्त्रिपरिषद् विस्तारको तयारी

लुम्बिनीमा पनि आजै मन्त्रिपरिषद् विस्तारको तयारी

बुटवल- आज(शुक्रबार) साँझसम्म केन्द्र सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहँदा यता लुम्बिनी प्रदेशमा पनि आजै सरकार विस्तारको तयारी अघि बढेको छ।

नेकपा माओवादी (केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएपछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने सम्भावना बढेको छ।

गठबन्धन सरकारमा सहभागी नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले साँझ ५ बजेभित्रै मन्त्रीहरूको टुंगो लगाए मुख्यमन्त्री कुलप्रसाद केसी आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन्।

माओवादी संसदीय दलले बिहीबार बैठक बसेर सरकारमा सहभागी हुने दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको छ। दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मालाई मन्त्रिपरिषद्मा पठाउने निर्णय माओवादीले गरेको हो। निर्णय अनुसार दाङकी विमला वली राज्यमन्त्री बन्नेछिन्।

गठबन्धनमा माओवादीको भागमा परेका चारमध्ये एक मन्त्रालय नेकपा (एस)लाई दिनुपर्ने सहमति भएअनुसार दुई मन्त्रीको टुंगो बिहीबार लगाएको हो। यसअघि माओवादीले प्यूठानका कृष्णध्वज खड्कालाई आर्थिक मामिला तथा सहकारी मन्त्री बनाइसकेको छ।

सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लागेपनि उनीहरूले पाउने मन्त्रालय निश्चित भइसकेको छैन। नेकपा (एस)ले कुन मन्त्रालय पाउने भन्ने विषयमा दुई दलबीच छलफल चलिरहेकले कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो नलागेको हो। माओवादीबाट मन्त्री बन्न लागेका सांसद इन्द्रजित थारुले भने, “मुख्यमन्त्रीले मलाई स्वास्थ्‍य मन्त्रालय दिने भन्नु भएको थियो। तैपनि नेकपा एससँग छलफल अझैँ जारी छ। छलफलपछि कसले के मन्त्रालय पाउने भन्ने टुंगो लाग्ने छ। तर, विमलाजी को राज्यमन्त्री भने निश्चित भइसकेको छ।”

उनका अनुसार माओवादीले आन्तरिक मामिला तथा सञ्चार र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय आफूसँग राख्ने कोशिश गर्दै नेकपा(एस)सँग छलफल गरिरहेको छ। सहमति भएमा नेकपा(एस)बाट एकमात्र सांसद पाल्पाकी रमा घर्ती मन्त्री पनि सरकारमा सहभागी हुनेछिन्।

नेपाली कांग्रेसले पनि बिहीबार दुई मन्त्रीको नाम टुंगो लगाएको प्रमुख सचेतक फकरुद्दीन खानले बताए। उनका अनुसार कांग्रेसले वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय गरेको छ।

तर, उर्जा जलस्रोत तथा सिँचाई मन्त्रीका लागि रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानाले दाबी गरेपछि बिहीबार सहमति हुन सकेन। त्यस्तै कांग्रेसले पाएको दुई राज्यमन्त्रीमा पनि अर्घाखाँचीकी निर्मला क्षेत्री र कपिलबस्तुकी रिना नेपाल र दाङका अर्जुन श्रेष्ठमध्ये कसलाई पठाउने भन्ने टुंगो अझै लागेको छैन। कांग्रेसले पाएको चार मन्त्रालय मध्ये एक मन्त्री र दुई राज्यमन्त्रीमा कसलाई पठाउनेबारे अहिले छलफल चलिरहेको छ।

“यस विषयमा पार्टीभित्र छलफल भइसकेको छ। सम्भवत: आज साँजसम्ममा सबै टुंगो लाग्छ,” सचेतक खानले बताए। कांग्रेसले पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्रीमा यसअघि नै दाङका डिल्लीबहादुर चौधरीलाई पठाइसकेको छ।

कांग्रेसले मन्त्रीहरूको नाम पठाएमा साँझ ५ बजेसम्ममा नवनियुक्त मन्त्रीहरूलाई आजै शपथ खुवाउने तयारी सरकारले गरेको छ।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो।

जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था पाएको छ। त्यस्तै स्वतन्त्रका अजय शाही उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री छन्।

प्रकाशित मिति : शुक्रबार, असोज २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij