प्रदेश ३ सरकारले बढायो जनप्रतिनिधिको तलब

प्रदेश ३ सरकारले बढायो जनप्रतिनिधिको तलब

मकवानपुर। प्रदेश ३ सरकारले प्रदेश मातहतका जनप्रतिनिधिको खाइपाइ आएको तलबमानमा ८७ दशमलव ५ प्रतिशतसम्म वृद्धि गरेको छ । बिहीबार बसेको प्रदेश ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका कार्यपालिका सदस्यहरूको सेवा सुविधा बढाउने निर्णय गरेसँगै तलब ८७ दशमलव ५ प्रतिशतसम्म बढेको हो ।

केन्द्रीय सरकारले खर्च कटौतीका लागि मितव्ययी नीति अघि सारिरहेका बेला प्रदेश सरकारको यो निर्णय आएको हो । बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यहरूको सेवा सुविधा एकैपटक झन्डै दोब्बर वृद्धि गरेको हो । निर्णयअनुसार ८ हजार मासिक तलब बुझ्दै आएका महानगर कार्यपालिका सदस्यले अब मासिक १५ हजार पाउनेछन् ।

यो वृद्धि ८७ दशमलव ५० प्रतिशत हो ।सरकारको यो निर्णयसँगै उपमहानगरका सदस्यहरूले अब मासिक १३ हजार रुपैयाँ तलब पाउनेछन् । यसअघि उनीहरूले ७ हजार ५ सय रुपैयाँ तलब पाउँदै आएका थिए । उपमहानगरपालिका सदस्यको तलब भने ७३ दशमलव ३३ प्रतिशतले बढेको छ ।

नगरपालिका सदस्यहरूले भने अब मासिक ११ हजार रुपैयाँ पाउनेछन् । यसअघि उनीहरूले ७ हजार रुपैयाँ बुझ्दै आएका छन् । यो वृद्धि ५७ दशमलव १४ प्रतिशत हो ।

सबैभन्दा कम तलब भने गाउँ कार्यपालिका सदस्यको बढेको छ । उनीहरूको भने जम्मा १६ दशमलव ६७ प्रतिशत तलब वृद्धि भएको छ । गाउँपालिका सदस्यहरूले ७ हजार रुपैयाँ पाउनेछन् । यसअघि ६ हजार रुपैयाँ तलब थियो ।

बिहीबार बसेको बैठकले नुवाकोटमा भएको सवारी दुर्घटनामा मृत्यु भएका परिवारलाई राहतस्वरूप प्रदेश सरकारको तर्फबाट १÷१ लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलका अनुसार बैठकले कृषि क्षेत्रको विकासका लागि सातवटा कार्यविधि पनि पारित गरेको छ ।

प्रदेशको भौगोलिक बनावटअनुरूप भैंसीपालन, सामूहिक खेती, गाईपालन, चौंरी पालन र बोका बाख्रापालनका कार्यविधि बनाइएको मन्त्री ढुंगेलले बताए । बैठकले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजनीतिक सल्लाहकारमा तत्कालीन एमालेका चितवन जिल्ला पूर्वअध्यक्ष जगन्नाथ थपलियालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, पुष २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij