आफ्नो हस्ताक्षर किर्ते गरि अफवाह फैलाइयो: ब्यवसायी शर्मा

आफ्नो हस्ताक्षर किर्ते गरि अफवाह फैलाइयो: ब्यवसायी शर्मा

 

भैरहवा-व्यवसायी कृष्णप्रसाद शर्माले आफुलाइ जोडिएर आएको समाचारको खण्डन गरेका छन् ।उनले आज भैरहवामा पत्रकार सम्मेलन गरि  रुपन्देहीको  सिद्धार्थनगर नगरपालिकाको मेयरमा काँग्रेसले आफुलाइ  टिकट दिने र मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई सहयोग गर्ने सम्झौता भएको भन्दै बाहिर आएका समाचारको खण्डन गरेका  हुन। पत्रकार  सम्मेलन मा शर्माले आफू सधैं लोकतन्त्रको पक्षमा उभिँदै उद्योगी–व्यवसायीको हकहीतमा काम गर्दै आएको जनाउँदै आफूलाई पाँच वर्षपछि हुने निर्वाचनको मेयर पदमा लोभ नभएको बताए ।

बिहीबार राति भैरहवाका व्यवसायी शर्माले पाँच वर्षपछि काँग्रेसबाट सिद्धार्थनगरको मेयरको टिकट लिने गरी गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिनिधिसभामा जिताउन सहयोग गरेको भन्ने व्यहोरोको पत्र सार्वजनिक भएको थियो । उक्त पत्रप्रति शर्माले आपत्ति जनाएका हुन् । सहमति भनेर सार्वजनिक गरिएको पत्रमा काँग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँन र व्यवसायी शर्माको हस्ताक्षर छ । तर, तिनैजनाले विज्ञप्ती निकालेर कुनै सहमति नभएको प्रष्ट पारिसकेका छन् ।

‘लोकतन्त्र र गणतन्त्रप्रति आस्था राख्ने म एउटा व्यवसायी हुुँ । मेरो अहिलेसम्मको अनुभवले आम नागरिक, पेशा, व्यवसाय, श्रमिक, मजदूरलगायत सबैको कल्याण लोकतन्त्रमा मात्रै सम्भव छ । अहिलेसम्म पञ्चायती शासन व्यवस्था, प्रजातान्त्रिक शासन व्यवस्था, राजाको निरंकुशता, लोकतन्त्र हुँदै गणतन्त्रसम्मका व्यवस्था देखियो र भोगियो । पञ्चायत र राजा फाल्न आन्दोलन पनि गरेँ तर राजनीतिमा लागिनँ’, उनले भने, ‘तर केही संचारमाध्यमले भ्रामक समाचार सम्प्रेषण गरे । पाँच वर्षपछि मेयरको टिकट लिने गरी गृहमन्त्री बालकृष्ण खाँणलाई सहयोग गरेको भन्ने समाचार गलत छ, यो पराजित मानसिकताको पराकाष्ठा हो ।’

नेपाल उद्योग बाणिज्य महासंघको लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेका शर्माले आफूले लोकतन्त्रको पक्षधर गृहमन्त्री खाँणलाई रुपन्देही क्षेत्र नम्बर ३ मा सहयोग गर्दै आएको भने स्वीकारे । ‘हो मैले गृहमन्त्रीज्यूलाई सहयोग गर्दै आएको छु, उहाँ लोकतन्त्र प्राप्तिका लागि संघर्ष गरेको नेता हो, योग्य र क्षमतावान हुनुहुन्छ, त्यसैले सहयोग गरेको छु’, उनले भने, ‘तर मेयरको टिकट पाउने गरी कुनै सम्झौता गरेको छैन । गर्दैन पनि । म राजनीतिमा आउन चाहेको भए १० वर्ष पहिला नै आउँथे । अहिले भ्रामक प्रचार गरियो ।’

उनले आफ्नो हस्ताक्षर किर्ते गरेर पूराना र राजावादी शक्तिहरुले प्रोपोकाण्ड गरेको आरोप लगाए । तर, कसले प्रोप्रोकाण्ड गर्यो भन्नेबारे केही खुलाएनन् । ‘२०४६ सालको आन्दोलनपछि आएको प्रजातन्त्रले नै पेशा–व्यवसाय गरी आफ्नो जनजीविका सहज रुपमा सञ्चालन गर्ने कार्यको सुरुवात भयो । भर्खर पलाउन लागेको मुनालाई पञ्चायतका केही शेषहरुले हत्याउने काम गरे । त्यसपछि हाम्रो पेशा–व्यवसायमा फेरि कालो रातको सुरुवात भयो । आम नागरिकका संविधान प्रदत्त अधिकार खोसिएपछि राजनीतिक दल, नीजि क्षेत्र, पेशा–व्यवसाय सबै मिलेर २०६२–०६३ मा दोस्रो जनआन्दोलन गर्यौं । त्यो आन्दोलनले निरंकुशतालाई हटाएर मुलुकमा गणतान्त्रिक व्यवस्था ल्याउने काम गर्यो’, उनले भने, ‘हामी पञ्चायतका शेषहरुलाई निर्मूल पार्न भएका सबै आन्दोलनमा सरिक भएकै हौँ । उनीहरुका विरुद्धमा मोर्चाबन्दी गरेकै हौँ । तर अहिले पदका लागि यसो गर्यो र उसो गर्यो भन्नु गलत छ ।’

आवधिक निर्वाचनमा पञ्चायती शेषहरुलाई हराउन र लोकतन्त्रवादीहरुलाई जिताउन प्रत्येक निर्वाचनमा कम्मर कसेर आफू लागेकामा कुनै द्विविधा भने नभएको उनले जनाए । ‘लोकतन्त्रवादी उम्मेदवारहरु यो वा त्यो होइन, अहिलेसम्म भएका निर्वाचनमा उठेका सबैलाई एउटा व्यवसायीको नाताले गर्नपर्ने र सक्ने सहयोग सबैलाई गर्दै आएको थिएँ’, उनले भने, ‘अहिलेको निर्वाचनमा पनि रुपन्देही–३ मा लोकतन्त्रका हिमायती, सादगी र यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निभाउँदै आउनुभएका पाँच दलीय गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणलाई निःशर्त सहयोग गरिरहेको सत्य हो । तर, सहयोग गरेकै आधारमा पाँच वर्ष पछि हुने स्थानीय तह निर्वाचनमा मलाई नेपाली कांग्रेसको तर्फबाट सिद्धार्थनगर नगरपालिकाको नगर प्रमुखको उम्मेदवार बनाउने सहमति भएको भन्ने समाचार कपोकल्पित र भ्रामक हो ।’

उनले समाचारमा राखिएको पत्रमा भएको आफ्नो हस्ताक्षर किर्ते भएको दावी गरे । ‘पत्रमा भएको जस्तो हस्ताक्षर मैले अहिलेसम्म कुनै पनि स्थानमा गरेको छैन । मेरो हस्ताक्षर अरु कसैले गर्छ भने मलाई थाहा भएन’, उनले भने, ‘पत्रकारिताका पनि मर्म र सिद्धान्त हुन्छन् । ती सिद्धान्त र मर्मभित्र रहेर पत्रकारिता गर्नु पत्रकारहरूको धर्म हो । अरुको मर्यादा राख्न सकेमा मात्र आफू मर्यादित हुन सकिन्छ ।’ हस्ताक्षर चोरेर सहमति भएको भनिएको पत्र विशुद्ध आफ्नो चरित्र हत्या गर्न गरिएको फण्डा मात्रै भएको शर्माले जिकिर गरे ।

‘यसविरुद्ध म कानुनी लडाई लड्ने पनि म सबैलाई जानकारी गराउन चाहन्छु । हस्ताक्षर किर्ते गरेर बनाइएको ‘सहमति पत्र’विरुद्ध मैले निर्वाचन कार्यालयमा उजुरी दिएको छु’, उनले भने, ‘उजुरी दर्ता नं ५ हो । उजुरी दर्ता भएपछि प्रमुख निर्वाचन अधिकृतले मेराबारे भ्रामक समाचार प्रकाशित गर्ने संचारमाध्यमलाई आचार संहिताविपरीत किर्ते हस्ताक्षर गरी सहमति पत्र बनाएर त्यसैका आधारमा समाचार लेखिएको भन्ने खण्डन पत्रसहित उजुरी गरेकाले तुरुन्त जवाफ दिन भन्दै पत्र काटेको जानकारी दिनुभएको छ ।’

प्रकाशित मिति : शुक्रबार, मंसिर २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij