चितवन : गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताएका छन् ।
सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर अवतरण गरी जिल्लास्थित सुरक्षा निकायसँग जिल्लाको अवस्थाको बारेमा जानकारी लिने क्रममा उनले सो सडकको अब समय थप गर्ने वा जरिवाना लगाएर काम गर्ने भन्ने विषयमा छानबिनपछि मात्र भन्न सकिने बताए। सो सडकको चौथो पटक समय थप गरी सकिएको छ । पछिल्लो समय पनि जेठ १६ गते सकिँदैछ ।
हालसम्म ८८ दशमलव १४ प्रतिशत मात्र काम सकिएको छ । यो सडक राजधानी जोड्ने लाइफलाइन हो । जिल्लाको शान्ति सुरक्षा मजबुत राख्न निर्देशन दिएका मन्त्री थापाले हावाहुरी र असिना पानीबाट क्षति भएको केरा, मकै र बर्डफ्लुबाट भएको प्रभावका बारेमा जानकारी लिएका थिए। उनले विप्लव समूहले आफ्नो गतिविधि देखाइरहेको भन्दै रोक्नका लागि के कस्ता काम भइरहेको छ भन्ने विषयमा जानकारी लिएका थिए।
गृहमन्त्री थापाले यातायात सिण्डिकेट रोकिएपछिको प्रभाव र समयमा काम नगर्ने ठेकेदारको अवस्थाका बारेमा पनि जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिए।
सो क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत र प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जिल्लामा हावाहुरी र असिनाबाट भएको क्षति, बर्डफ्लुबाट परेको प्रभाव, विप्लव निकट नेकपाको गतिविधि, आपराधिक गतिविधि, सडक सुरक्षालगायतका विषयमा जानकारी गराए।
सो अवसरमा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, गृहप्रवक्ता रामकृष्ण सुवेदीलगायतको उपस्थिति रहेको थियो । झण्डै दुईघण्टा चितवनमा बसेपछि मौसम अनुकूल बनेसँगै गृहमन्त्री थापासहितको टोली सुर्खेत प्रस्थान गरेको छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ ८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्