काठमाडौं । काठमाडौंको कोटेश्वरबाट अपहरणमा परेकी एक चिकित्सकका २ वर्षीय छोरीको प्रहरीले सकुशल उद्धार गरेको छ । महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार प्रसुती गृह थापाथलीमा कार्यरत चिकित्सक डा.बबिता सिंहका २ वर्षकी छोरी सविज्ञा दत्तको अपहरण भएको थियो ।
सिंहले भने,‘‘कोटेश्वरस्थित डेराबाट लगिएको रहेछ । अपहरणकारीको खोजी गर्दैछौं । बालक भने गौशालामा रहेको होटल गणेशबाट उद्धार गरेका हौं ।” उता महानगरीय प्रहरी परिसरका एसएसपी बसन्त लामाले पनि अपहरणको पुष्टि गर्दै अपहरणकारी र चिकित्सकबीच लेनदेनको विषय रहेको प्रारम्भिक जानकारीबाट खुल्न आएको बताए ।
परिसरका प्रवक्ता डीएसपी होमिन्द्र वोगटीका अनुसार बिहान साढे ८ बजे महादेवस्थान कोटेश्वरस्थित बबिताको घरबाटै छोरीको अपहरण भएको थियो । उनका अनुसार छोरी सविज्ञालाई मनिषकुमार गुप्ताले अपहरण गरेका थिए । तर उनी अहिले फरार छन् । सविज्ञालाई गौशालाको होटलमा छाडेर उनी फरार भएका थिए ।
उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । चिकित्सक बबिता र अपहरणकारी दुवैको घर जनकपुर एकैठाउँमा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुबीच व्यक्तिगत लेनदेन भएको प्रहरीले पुष्टि गरेपनि कति रकम भन्ने खुलेको छैन ।
प्रकाशित मिति : शुक्रबार, माघ ११ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्