१ सय १० वर्षकी ऐरावतीको स्वास्थ्य जाँचेर बुटवलमा शुरु भयो बाआमासँग नगर प्रमुख कार्यक्रम

१ सय १० वर्षकी ऐरावतीको स्वास्थ्य जाँचेर बुटवलमा शुरु भयो बाआमासँग नगर प्रमुख कार्यक्रम

बुटवल-बुटवलमा जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम शुरु भएको छ।

बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुरुवात गरिएको हो।

ऐरावतीको घरमै पुगेर नगर प्रमुख खेलराज पाण्डेयले फलफुल र स्वास्थ्यवर्द्धक सामग्री दिएर अभियानको शुरु गरे। जेष्ठ नागरिक बरईको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ  फिजिसियन डा नन्दु पाठकले स्वास्थ्य परीक्षण गरेका थिए।

कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरु बनाएको र कार्यान्वयन गर्दै लग्ने बताए।

चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवर्द्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको बताए। उनले घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिहरुका लागि सहज होस् भन्ने उदेश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पुर्याउन थालेको बताए।

कार्यक्रममा बोल्दै नगर प्रवक्ता शिव रानाले घरघरमा पुग्ने स्वास्थ्य परीक्षण कार्यक्रमको लाभ लिन आग्रह गरे। उनले आगामी वर्षपनि यस्ता अभियानहरु नियमित रुपमा सञ्चालन हुने बताए।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ  फिजिसियन डा नन्दु पाठकले घरदैलोमा पुग्ने यस्तो सुविधाले नागरिकलाई सहज हुने बताए। उनले स्वास्थ्य क्षेत्रबाट बुटवल उपमहानगरपालिकालाई सक्दो सहयोग गर्ने बताए।

कार्यक्रममा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्टेन्ट डा. राजेन्द्र बस्याल, औषधी व्यवसायी संघका खड्ग बहादुर बस्नेत, निजी अस्पतालहरुको एशोशिएशनका रामप्रसाद खरेललगायतले बोल्दै बुटवल उपमहानगरपालिकाको बाआमासँग नगरप्रमुख कार्यक्रमको अवधारणा उपयुक्त र प्रभावकारी रहेकोले सक्दो सहयोग गर्ने बताए।

१९ वटै वडामा सञ्चालन हुने अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ  फिजिसियन डा नन्दु पाठक, स्त्री रोग विशेषज्ञ डा राजेन्द्र बस्याल, फिजिसियन डा हरि पन्थी, विशेषज्ञ चिकित्सकहरु, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए। अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधिहरु समेत निशुल्क दिइने उनले बताए।

प्रकाशित मिति : मंगलबार, माघ २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij